
काठमाडौं। सामाजिक नेटवर्किङ प्लाटफर्म ट्विटर खरिद गरेदेखि, डलर अर्बपति इलन मस्कले प्लाटफर्ममा धेरै नयाँ परिवर्तनहरू र अपग्रेडहरू गरेका छन्।
ब्लू टिक सब्सक्रिप्सनका लागि मासिक चार डलर शुल्क तिर्नेदेखि गत हप्ता मात्रै ट्विटर प्रयोगकर्ताहरूले आफ्ना फलोअरहरूलाई घण्टौ लामो भिडियो र कुनै शब्द सीमा बिना नै धेरै शब्दका टेक्स्टलगायतका कन्टेन्टहरूको सब्सक्रिप्सन अफर गर्न सक्ने लगायतका सेवा समावेश छन्।
गत हप्ता सार्वजनिक गरेको यो सेवा सेटिङसमा ‘मोनिटाइजेशन’ ट्याब अन्तर्गत गएर प्रयोग गर्न सकिन्छ। यो घोषणासँगै मस्कले ट्वीटमा आफ्नो सब्सक्राइबरहरूको संख्या २४,७०० रहेको स्क्रिनसट पनि पोस्ट गर्दै यो कार्यक्रमले कसरी काम गर्दछ भनेर व्याख्या पनि गरेका थिए।
‘कन्टेन्ट क्रियटर्सले यस प्लाटफर्ममा सब्सक्रिप्सन सेवा अन गर्न सक्छन्। यसका लागि केवल सेटिङ्समा गएर ‘मोनिटाइजेशन’मा ट्याप गर्नुहोस्,’ मस्कले ट्वीट गरे।
पूर्ण डिस्प्लेमा उनको कुल सदस्य संख्याको साथ, मस्कले मुद्रीकरण सुविधामार्फत आफ्नो आधिकारिक ट्विटर खातामार्फत कति कमाइ गरिरहेको छ भनेर पत्ता लगाउन मानिसहरूलाई धेरै गाह्रो थिएन।
ट्विटरको सब्सक्रिप्शन क्रिएटर पेज अनुसार, यस माइक्रोब्लगिङ साइटले एप शुल्क र ट्विटरको आम्दानीको अंश कटौती गरेपछि क्रिएटरहरूलाई ३.३९ अमेरिकी डलर भुक्तानी गर्छ। ट्विटर वेबसाइटमा पोष्ट गरिएको आम्दानी विवरण अनुसार, सब्सक्रिप्सनको शुल्क अमेरिकाका ग्राहकहरूको लागि प्रतिमहिना ४.९९ डलर छ।
त्यस्तै, क्रिएटरहरूलाई ट्वीटरद्वारा उपलब्ध गराइएका २.९९, ४.९९ र ९.९९ अमेरिकी डलर गरी तीन मूल्य बिन्दूमध्ये एउटा छनौट गरेर आफ्नो सब्सक्रिप्सनको मूल्य सेट गर्न दिइएको छ। एप शुल्क र ट्विटरको राजस्व सेयर कटौती गरेपछि एक क्रिएटरले ३.३९ डलर पाउँछन्।
यस हिसाबले हेर्ने हो भने ट्विटरमा २४.७ हजार सब्सक्राइबर भएका मस्कले मासिक ८३,७३३ डलरसम्म आम्दानी गरिरहेका छन्।
मस्कले आगामी १२ महिनासम्म ट्वीटरले प्रयोगकर्ताले मोनिटाइज कन्टेन्टबाट कमाएको कुनै पनि पैसा नराख्ने बताएका छन् । (एजेन्सीको सहयोगमा)