फ्लाइ दुबईमाथि क्यानको एक्सन, कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

बिजमाण्डू
२०८० बैशाख १२ गते १५:०६ | Apr 25, 2023
फ्लाइ दुबईमाथि क्यानको एक्सन, कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक


काठमाडौं। गएराति फ्लाई दुबईको काठमाडौं-दुबई उडानका क्रममा बर्ड स्ट्राइक (विमानमा चरा ठोक्किएको) भएको भन्दै भ्रमपूर्ण सूचना फैलाएको भन्दै कम्पनीका अधिकारी माथि नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको छ।

Tata
GBIME
NLIC

फ्लाइ दुबईको उडान नम्बर एफडीजेड ५७६ उडानको विषयमा भ्रमपूर्ण समाचार फैलाएपछि कम्पनीका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

‘विमानस्थल प्रवेशमा रोक लगाएर निजहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको छ। घटना बारे थप अनुसन्धान गर्न हामीले एउटा समिति नै गठन गरेका छौं,’ अधिकारीले भने।

सोमबार राति फ्लाइ दुबईको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटिसी र पाइलटबीचको संवादमा तालमेल नमिलेपछि नियामक नागरिक उड्डयन प्राधिकरणले थप अनुसन्धान अघि बढाएको थियो।

फ्लाइ दुबईले सोमबार राति उडान गर्ने क्रममा बर्ड हिट भएको विषय सार्वजनिक गरेपछि प्राधिकरणले अनुसन्धान सुरु गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटिसी) र पाइलटबीचको संवाद तथा फ्लाइ दुबईले सार्वजनिक गरेको सूचनाको तालमेल नै नमिलेपछि क्यान घटना प्रति गम्भिर बनेको छ।

सोमबार राति ९:२० बजे काठमाडौं-दुबई उडान गरेको जहाजमा समस्या आएपछि काठमाडौंको आकाशमा एक फन्को लगाएर धादिङको धार्के पुगेको थियो। त्यसपछि पाइलटले जहाज केही समय होल्ड गरेका थिए। पछि पाइलटले समस्या समाधान भएको जानकारी नेपाली एटिसीलाई दिएर चेकलिष्ट अनुसार आफ्नो गन्तव्य तर्फ जहाज उडेको थियो।