द पेटिसरीः नौला डिजाइनसँगै उपत्यकामा अन्तर्राष्ट्रिय स्वाद पस्कँदै एउटा जोडीको बेकरी

बिजमाण्डू
२०८० बैशाख ९ गते १४:३१ | Apr 22, 2023
द पेटिसरीः नौला डिजाइनसँगै उपत्यकामा अन्तर्राष्ट्रिय स्वाद पस्कँदै एउटा जोडीको बेकरी

काठमाडौं। जन्मदिन होस् वा वैवाहिक वर्षगाँठ, अझ विवाहमा पनि केक काट्ने चलन सामान्य बन्दैछ। जसरी समाजमा बेकरीका उत्पादन लोकप्रिय भइरहेका छन्, काठमाडौंका चोक-चोकमा बेकरी र आउटलेटहरु खुलेका छन्। च्याउ उम्रेजतिकै खुले पनि पस्कने डेेजर्ट तथा परिकारहरूका स्वाद, फ्लेवर तथा डिजाइन लगभग उस्तै-उस्तै हुन्छन्। यही भीडमा द पेटीसरी पनि छ, तर केही फरक। 

Tata
GBIME
Nepal Life

काठमाडौं रानीवनको द पेटिसरी बेकरीको क्लाउड किचेनबाट हरेक दिन वरिपरि ताजा केकको बास्ना फैलन्छ। यसलाई अनुभव गर्दा लाग्छ, नेपालीको केक तथा बेकरीका खानेकुराप्रतिको आकर्षण बढ्दैछ। पेटीसरीले पाउने अर्डर र गर्ने डेलिभरीले पनि यसको पुष्टि गर्छ।

श्रीया शाक्य र जिनस सुवाल दम्पतीको यो बेकरीले उपत्यकामा नौला स्वाद पस्कँदै आएको छ। श्रीयाको परिवार पोल्ट्री व्यवसायमा थियो, जिनस व्यवसायिक पृष्ठभूमिबाट थिएनन्। तर, बीबीए गर्दागर्दै र साथीसंगतले पनि उनमा व्यवसाय प्रतिको लगाव बढ्दै गयो। 

सन् २०१९ मा मार्केटिङमा बीबीए पुरा गरेपछि दुवैले कुनै बिजनेस सुरु गर्ने निर्णय गरे। धेरै छलफलपछि फुड बिजनेस उचित ठहर गरे, त्यसमा पनि बेकरी। अन्ततः द पेटिसरी बेकरी सञ्चालन चलाउने टुंगोमा पुगे। व्यापारका लागि बेकरीको चयन संयोग थिएन। बुझेर-हेरेर निर्णयमा पुगेका हुन्।

बेलबखतमा उनीहरू देशविदेश घुमिरहेका हुन्थे। भ्रमणसँगै उनीहरू त्यस ठाउँहरूका नयाँ-नयाँ खानेकुरा पनि चाख्‍ने गर्थे। डेजर्टहरू त झन् उनीहरुले छुटाउँदै छुटाउदैनथे। श्रीयाले भनिन्, ‘हामीलाई विशेषगरी बाहिरको डेजर्ट आइटममा पाइने स्वाद, फ्लेवर तथा टेक्स्चरको भेराइटीले निकै आर्कषित गर्थ्यो। नेपालीमा भने त्यो भेराइटी पाइदैनथ्यो। धेरै नेपालीहरूले बाहिर पाउने डेजर्टहरुको विस्तृत दायराबाट मिस आउट गरिरहेका फील हुन्थ्यो।’

पर्यटकीय दृष्टिले नेपाल समृद्ध छ। हाम्रा खानेकुरा पनि अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने महसुस उनीहरूले गरे। नेपालमा उपलब्ध डेजर्टको विकल्पहरू सीमित छन् भन्ने दुवैलाई लाग्थ्यो। यो ग्यापलाई सम्बोधन गर्न उनीहरूले बजारमा केक, कुकिज तथा डेजर्टहरु ल्याए।

‘बाहिर कति धेरै कुरा छ। मान्छेहरू सबै बाहिर गएर ती स्वादिष्ट डेजर्टको मज्जा लिन सक्दैनन्। हामीले त्यो अनुभव यहाँ नै क्रिएट गर्न कोसिस गरिरहेका छौं,’ जिनसले भने।

करिब तीन महिनाको तयारीपछि सन् २०२० अक्टुबरमा द पेटिसरीको औपचारिक यात्रा सुरू भयो। पेटीसरीमा मुख्यत: सबै डेजर्टहरू फ्रेन्च-इटालियन रेसिपीबाट इन्स्पायर्ड छ। तर, द पेटिसरी यतिमा मात्रै सीमित छैन। जर्मन केक, मेडिटेरियन, रसियन डेजर्टहरूबाट पनि थुप्रै रेसिपी प्रयोग गरेको छ।

द पेटिसरीको भिजनलाई जीवन्त तुल्याउन दम्पतीले करिब ३० लाख लगानी गरे। अनुभवी पेस्ट्री शेफ ल्याए। एउटै केकको रेसिपी फाइनल गराउन उनीहरू घण्टौं खर्च गर्ने गर्थे। जिनस सुनाउँछन्, ‘हामी शेफसँगै बसेर केकहरु तयार पार्थ्यौं। फेरेरो रोसर केकको रेसिपी तयार पार्न हामीले सात पटकसम्म पनि ट्रायल गरेका छौं। स्वाद तथा टेक्स्चर ठ्याक्कै नमिलेसम्म हामी ट्रायल गरिराखेका हुन्छौं।’

करिब तीन वर्षअघि द पेटिसरी केक, कुकिज, फज ब्राउनी लगायतका सात थरीका मात्र डेजर्ट लिएर बजार भित्रिएको थियो। इन्स्टाग्राम, फेसबुक पेज तथा परिवार र निकटका साथीहरुबाट नै दम्पतीले व्यवसायलाई अगाडि बढाए। धेरैले उनीहरुलाई हौसला दिएका थिए। त्यसैले बेकरीको क्षेत्रमा केही प्रभावकारी गर्ने उत्सुकता अझ बढ्यो। 

धेरै परिश्रम र लगानीपछि बजारमा छुट्टै छाप बनाएको छ पेटिसरीले। यसको केकको पाउण्डकै १५ सयदेखि २७ सय ५० रूपैयाँसम्म पर्छ। सामान्य बेकरीभन्दा करिब दोब्बर महँगो पर्ने हुँदा बजार बनाउन धेरै नै कसरत गर्नु परेको श्रीया सम्झन्छिन्, ‘यो उद्योगमा मल्टिपल प्लेयरहरू छन्। प्रतिस्पर्धा निकै छ। यस्तोमा हामी हाम्रो अन्तर्राष्ट्रिय स्तरको भेराइटी, स्वाद तथा गुणस्तरले गर्दा स्याण्डआउट गर्न कोसिस गर्‍यौं।’

कोरोना महामारीको समयमा जहाँ एकातिर पुराना स्थापित व्यवसाय संकटमा थिए, श्रीया र जिनसलाई नयाँ व्यवसाय अघि बढाउने चुनौती थियो। भविष्यप्रति आशावादी भएकाले उनीहरुले स्वादको संसारमा आफ्नो कम्पनीलाई विस्तारै स्थापित गराए। नयाँ र रोमाञ्चक स्वादहरू ल्याउन प्रतिबद्ध थिए र लगातार नयाँ रेसिपीहरू प्रयोग गरिरहे।

हाल १२ जनाले सम्हालिरहेको द पेटिसरीले धेरैथरी केक तथा डेजर्टहरू उत्पादन र बजारीकरण गर्छ। बेकरीको मेनुमा विभिन्न प्रकारका डेजर्टहरू छन्। न्युटेला केक, टिरामसु केक, पिच केक, चिज केक, टार्ट, ट्रफल, कुकिज, ब्राउनी नेपाली बजारका लागि केही नौलामा पर्छन्। यसमध्ये फेरेरो रोसर केक, न्युटेला केक, टिरामिसु केक धेरै बिक्री हुने गरेको उनीहरूले बताए।

‘इन्स्टाबाट अर्डरहरू आउँदा धेरैले किन महँगो भनेर प्रश्‍न गर्नु हुन्थ्यो। हामीले हाम्रो केक तथा डेजर्टहरूमा प्रयोग गर्ने अधिकांश साम्रगीहरू युरोपबाट मगाउँछौं, गुणस्तरमा कुनै किसिमको कम्प्रमाइज गर्दैनौं। हामीले यही भनेर बुझाउने गर्थ्यौं,’ जिनसले भने।

समयसँगै द पेटिसरी आफ्नो उत्पादनको स्वाद र गुणस्तरका साथ आफ्नो ग्राहकबीच लोकप्रिय बनेको छ। ‘हाम्रो रेगुलर कस्टमरहरू नै बढी हुनुहुन्छ। एक पटक हाम्रो उत्पादन चाखेपछि उहाँहरूले मूल्यमा प्रश्न पनि उठाउनु हुन्न। हामीले सर्भिस रिकभरी पनि गर्छौँ,’ श्रीया भन्छिन्, ‘केही नयाँ डेजर्ट ल्याउँदैछौं भने पनि ग्राहकहरूलाई लञ्चभन्दा अघि अर्डरसँगै फीडब्याकका लागि पठाउँछौं।’

त्यसैले पनि सुरू-सुरुमा दिनमा मुस्किलले ४/५ वटा अर्डर पाउने द पेटिसरीले दैनिक १०० बढी अर्डरसम्म पनि पुरा गरेको जिनस सुनाउँछन्, ‘बुबा-आमाको मुख हेर्ने दिन, भ्यालेन्टाइन डे जस्ता दिनका लागि आउने अर्डरमा बेकरी आइटम पुर्‍याउन भ्याइनभ्याइन नै हुन्छ। सामान्य दिनमा पनि ३० वटाभन्दा बढी अर्डरहरू पुरा गरिरहेका हुन्छौं।’

सानो घरेलु उद्योग जसरी सुरु भएको द पेटिसरी विस्तारित भएको छ। हाल काठमाडौं उपत्यकाभित्र आफ्नो उत्पादनहरू उपलब्ध गराइरहेको छ। बेलैमा डेलिभरी पाउन ग्राहकले कम्तिमा एक दिन अगाडि अर्डर गर्नुपर्ने श्रीया बताउँछिन्। वेडिङ केकका लागि भने एक/दुई हप्ता अगाडि नै अर्डर गर्नुपर्छ।

‘हामी कस्टमरहरूलाई नेपालमा नै विभिन्न अन्तर्राष्ट्रिय स्वादहरूको डेजर्टको आनन्द प्रदान गर्न चाहन्छौं। अहिले पनि हामी अन्य नयाँ डेजर्टहरू सर्भ गर्ने तयारीमा छौं। हामी अहिले म्याकरून बनाउन खोज्दैछौं,’ श्रीयाले सुनाइन।