सांग्रिला समूहको चारवटा लक्जरी होटल आउँदै, बेलायतको चेन होटल आइजीएचले व्यवस्थापन सम्हाल्ने

बिजमाण्डू
२०७९ चैत्र २९ गते ०६:४७ | Apr 12, 2023
सांग्रिला समूहको चारवटा लक्जरी होटल आउँदै, बेलायतको चेन होटल आइजीएचले व्यवस्थापन सम्हाल्ने

काठमाडौं। नेपाली होटल व्यवस्थापनबाट बाहिरिएको दुई वर्षपछि बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको पुनरागमन भएको छ।

Tata
GBIME
Nepal Life

२७ वर्ष पाँचतारे होटल सोल्टीको व्यवस्थापनबाट बाहिरिएको यो अन्तर्राष्ट्रिय चेनले सांग्रिला होटल एण्ड रिसोर्ट ग्रुप अन्तर्गत चारवटा होटलको व्यवस्थापन गर्ने भएको छ।

यसका लागि दुवै कम्पनीबीच काठमाडौंको इन्टरकन्टिनेन्टल काठमाडौं, पोखराको होटल इण्डिगो, बेगनास ताल छेउको इन्टरकन्टिनेन्टल रिसोर्ट र मेघौलीको इन्टरकन्टिनेन्टल रिसोर्ट व्यवस्थापनका लागि मंगलबार सम्झौता भएको हो।

आइएचजीले इन्टरकन्टिनेन्टल र इण्डिगो गरी दुईवटा ब्राण्डमार्फत ५०० कोठा क्षमताको पोर्टफोलियो कायम गर्ने भएको छ। साङ्ग्रिला समूहले निर्माण सुरु गरेको ती होटल चार वर्ष भित्रै संचालनमा आउने जनाएको छ। 

‘हामी आफ्नो दुईवटा लिडिङ ब्राण्ड नेपालमा ल्याउन पाउँदा खुसी छौं। यी ब्राण्ड लक्जरी र लाइफस्टाइल पोर्टफोलियो अन्तर्गत रहेका छन्, ‘आइएचजी समुह अन्तर्गत दक्षिण एसियाका  प्रवन्ध निर्देशक सुदीप जैनले भने, ’साङ्ग्रिला होटल एण्ड रिसोर्ट ग्रुपसँगको सहकार्यमा आफ्नो फुट प्रिन्ट विस्तार हुन लागेको छ। अहिलेको पर्यटकीय गन्तव्य हाम्रो लागि नयाँ रहेको छ। अन्तर्राष्ट्रियस्तरको सेवा प्रवाहका लागि नेपालको तर्फबाट यो हाम्रो लागि ठूलो अवसर बनेको छ।’

युरोप, मध्यपूर्व, पूर्वी अफ्रिका र एसिया लगायत चार क्षेत्रमा आफ्नो दबदबा कायम गर्दै आएको यो व्यवस्थापन कम्पनीले लक्जरी र लाइफस्टाइल क्याटगोरीमा अन्तर्राष्ट्रिय सेवा प्रवाह गर्दै आएको उनले जानकारी दिए।

आन्तरिक र वाह्य पर्यटकलाई विश्वस्तरीय सेवा दिने उद्धेश्यले आइएचजी अन्तर्गत दुईवटा ब्राण्ड ल्याइएको साङ्ग्रिला समूहका अध्यक्ष प्रसिद्ध पाण्डेले बताए। ‘संचालनमा आउन लागेका सबै होटल र रिसोर्ट मुलुकको प्रमुख गन्तव्यमा अवस्थित छन्। यो सहकार्यले हामीमा विश्वस्तरीय पहिचान विकाससँगै आइजीएचको ब्राण्डको पनि प्रचारप्रसार हुने कुरामा विश्वस्त छु।    ’

तीन वर्षदेखि बन्द लाजिम्पाटस्थित होटल सांग्रिला काठमाडौंलाई नै इन्टरकन्टिनेन्टल काठमाडौंको रुपमा पुनर्स्थापना गर्न लागेको जनाइएको छ। कुल २२४ कोठा क्षमताहो होटलमा अलडे डाइनिङ, स्वीमिङ पुल, विजनेश सेन्टर, इन्डोर रआउटडोर सुविधा रहेको छ।

यसैगरी एक सय कोठा क्षमता होटल इण्डिगो पोखरा मिटिङ, कन्फ्रेन्स, माइस टुरिज्म लक्षित रहेको कम्पनीले जनाएको छ। होटलमा रिटेल स्टोर, हेल्थ क्लब, स्पा, लाउन्ज, विजनेश सेन्टर, दुईवटा बलरुम, मिटिङ रुम, लाउन्ज, बार लगायत सुविधा समावेश गरिएको छ।

कम्पनी अन्तर्गत बेगनास ताल नजिकै संचालनमा आउन लागेको  इन्टरकन्टिनेन्टल पोखरा बेगनासमा ८० कोठा क्षमताको रहने जनाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिनेट दुरीमा रहनेछ। होटलमा रिटेल स्टोर, हेल्थ क्लब, स्पा, क्लब लाउन्ज, स्वीमिङ पुल लगायतको सुविधा रहनेछ।

मेघौलीमा संचाचलनमा ल्याउन लागिएको इन्टर कन्टिनेन्टल रिसोर्ट चितवन ८० कोठा क्षमताको रहेको छ। अल डे डाइनिङ, लबी लाउन्ज बार, हेल्थ क्लब, स्पा, स्वीमिङ पुल लगायत सुविधा हुनेछ।