चन्द्र ढकालको लास्ट आवरमा भरतलाई सर्वसम्मत बनाउने प्रयास, सोमबार के भएको थियो ?

बिजमाण्डू
२०७९ चैत्र २८ गते १९:०१ | Apr 11, 2023
चन्द्र ढकालको लास्ट आवरमा भरतलाई सर्वसम्मत बनाउने प्रयास, सोमबार के भएको थियो ?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको उम्मेद्वारी फिर्ताको समय सोमबार अपराह्‍न ४ बजेसम्मका लागि थियो। सोमबार अपराह्‍न ४ बजे महासंघको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेललाई टेलिफोन आएपछि दुई घण्टा समय थपियो।

Tata
GBIME
Nepal Life

दुई घण्टा समय थपेर महासंघको निर्वाचनमा सर्वसम्मतको प्रयास गरिएको थियो। त्यो सर्वसम्मत भने वरिष्ठ उपाध्यक्षका लागि थिएन।

एसोसिएट उपाध्यक्षमा सर्वसम्मत बनाउनका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको इनिसिएसनमा छलफल अगाडि बढेको थियो। एसोसिएटमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको समूहबाट साझा उम्मेद्वार भरत आचार्य बनिसकेका छन्। वरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्वार रामचन्द्र संघईको टीमबाट ज्योत्स्‍ना श्रेष्ठ एसोसिएट उपाध्यक्षमा उम्मेद्वार छिन्।

वरिष्ठ उपाध्यक्ष ढकालले आचार्यलाई सर्वसम्मत बनाउन ज्योत्स्‍नालाई उम्मेद्वारी फिर्ता गराउन चाहेका थिए। त्यही रणनीति अनुसार दुई घण्टासम्म छलफल चल्यो। तर, अन्तिममा सहमति नजुटेपछि थपिएको दुई घण्टा काम लागेन। छलफलमा ढकाल पक्षले एसोसिएटको उम्मेद्वारी हेर्दा मारवाडी र गैर मारवाडी देखिएकोले सहमतिमा सर्वसम्मत सदस्य बनाउने भन्दै प्रस्ताव राखेका थिए।

त्यो प्रस्तावसँगै छलफलमा जुट्दा सुरुवातमै एसोसिएट उपाध्यक्ष सर्वसम्मतको विषय सुरु भएको थियो। अहिले संघई पक्षको एसोसिएट सदस्यमा दुई जनाबाहेक अरु सबै मारवाडी छन्। व्यवसायिक क्षेत्रमा कित्ताकाट गर्दा त्यसले ठूलो समस्या ल्याउने भन्दै छलफल अगाडि बढाइएपनि उद्देश्य भने आचार्यलाई सर्वसम्मत बनाउने थियो भन्ने छलफलको सुरुवातबाटै पुष्टी भएको स्रोतले बतायो।

‘निश्‍चय पनि व्यवसायिक क्षेत्रमा मारवाडी र गैरमारवाडी भनेर कित्ताकाट गर्नु दुर्भाग्यपूर्ण हुन्छ। सबै व्यवसायी एउटै हो र हुनुपर्छ,’ छलफलमा सहभागी एक व्यवसायीले भने, ‘निर्वाचनमा देखिने यो कटुता रोक्न आवश्यक छ। त्यसका लागि पहल हुनु राम्रो हो। तर, त्यसमा धेरै छलफल भएन।’

ती व्यवसायीका अनुसार ढकाल पक्षले संघईको सबै एसोसिएट सदस्यलाई आफ्नो टीममा राख्न सहमत भए। तर, त्यसको बदलामा ज्योत्स्‍नाले एसोसिएट उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिनुपर्ने सर्त राखे। त्यो सर्तमा भने संघई पक्ष सहमत भएन।

संघई पक्षले आचार्यलाई कोषाध्यक्षमा बसेर जोत्स्‍नालाई सघाउन प्रस्ताव गर्‍यो। त्यसको बदलामा आचार्यलाई उपाध्यक्ष बनाउने प्रस्ताव गर्‍यो।

‘संघई पक्षबाट साधारणसभामा एउटा उपाध्यक्ष थप्ने प्रस्ताव गरौं। फ्लोरले पास गरेपछि आचार्यजीलाई कोष पनि हेर्ने गरी उपाध्यक्ष बनाउँ भन्ने थियो,’ ती व्यवसायीले भने, ‘ढकाल पक्षले यो प्रस्ताव मान्न तयार भएन।’

ती व्यवसायीका अनुसार चुनावको अघिल्लो दिन आचार्यलाई सर्वसम्मत बनाउन भएको प्रयासले चुनावी नतिजालाई पनि प्रभावित बनाउने देखिन्छ।

‘दुई घण्टा छलफल हुँदा एसोसिएट उपाध्यक्ष सर्वसम्मत बनाउने विषयमाथि मात्रै छलफल भएको थिएन। यसले चुनावी नतिजामा केही न केही फरक पार्ने देखिन्छ,’ उनले भने।