ग्राहक पर्खेका अटो व्यवसायीलाई नयाँ वर्षका अफर योजनाले कतिको राहत देला ?

शुक्र गिरी
२०७९ चैत्र २७ गते १३:३८ | Apr 10, 2023
ग्राहक पर्खेका अटो व्यवसायीलाई नयाँ वर्षका अफर योजनाले कतिको राहत देला ?


काठमाडौं। नेपाली अटोमोबाइल बजारमा कारोबारमा सुस्तता छ। गाडी बेच्न शोरुममा ग्राहक कुर्दै बसेका व्यवसायिक फर्महरुले यतिबेला नयाँ वर्ष अफर घोषणा गर्ने क्रम जारी छ।

Tata
GBIME
Nepal Life

चाडपर्व र नयाँ वर्ष पारेर घोषणा गुने छुटका अफर ग्राहकका लागि लाभदायी हुने गरेका छन्। अटो व्यवसायीहरुले नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिरहेका अफर योजनाले शोरुममा ग्राहक कति तान्ला ? आर्थिक मन्दीका कारण यतिबेला हिसाब जटिल छ।

बजारमा सर्वाधिक संख्यामा कारोबार २५/२६ लाख देखि बढीमा ६५ लाख सम्मका गाडीहरु हुन्। त्यस्ता मोडल धमाधम नयाँ आइरहेको भए पनि बिक्री बढेको छैन। एक करोडमाथि मूल्यका गाडीहरु बरु कम्पनीहरुले फाट्टफुट्ट बेचिरहेका छन्। त्यसको तुलनामा इलेक्ट्रिक गाडीहरुको बिक्रीमा पनि सुस्तता आउन थालेको छ।

ग्राहक रिझाउन सवारी बिक्रेता केही कम्पनीले नगद छुटको अफर सार्वजनिक गरेका छन् भने केहीले स्पेयर पार्ट्सका मूल्यमा छुट, एक्सचेन्ज अफर, सर्भिसिङ निःशुल्क जस्ता अफरहरु बजारमा पस्किएका छन्।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै आयात रोक्दा अटो व्यवसायी थिए। आयात खुला गरिएपछि अहिले गाडी अपेक्षाकृत संख्यामा बिक्री नभएर निराश छन्। बजार चलायमान बनाउन अटोमोबाइल व्यवसायीले नयाँ वर्ष अफर अफरहरु ल्याइरहेका छन्।

गाडीको खरिदमा सरल किस्ताबन्दी र विभिन्न सुविधा दिने घोषणा अटो व्यवसायीले गरेका छन्। यही अफर योजनाले ग्राहकलाई लोभ्याउने उनीहरुको अपेक्षा छ। नगद छुटदेखि विभिन्न अफरहरु ल्याइएको अटो बिक्रेताहरुले बताएका छन्।

यसपटकको कोरोना संक्रमण, सरकारले आयातमा गरेको कडाइ, मार्जिनको व्यवस्थामा कडाइ, ऋण उपलब्ध नहुने र चिप्सको सर्टेजले गर्दा आपूर्ति शृंखलामा आएको समस्याले भने क्रेता र बिक्रेता दुवैले यसपालि विगतका वर्षहरुमा जस्तो मनग्गे लाभ पाउने अवस्था भने छैन।

तरलता अभावका कारण बैंकहरुले खुलेर कर्जा दिन नसक्दा पनि बजारमा अपेक्षित चहलपहल देखिएको छैन। तथापि, केही दिनयता विभिन्न गाडी बिक्रेता कम्पनीहरुले ग्राहक आकर्षित गर्न अफरहरु ल्याइरहेका छन्।

अहिले चारपांग्रे, दुई पांग्रेदेखि ठूला सवारीसाधन खरिद गर्नेहरुका लागि कम्पनीहरुले विशेष प्याकेज नै ल्याएका छन्। केही कम्पनीले कस्तो अफर योजना ल्याउने भन्नेमा गृहकार्य भइरहेको जनाएका छन्।

पछिल्लो समय बिक्रेताहरुले गाडी किन्न चाहने ग्राहकलाई फाइनान्सिङ सहज बनाइदिन बैंकिङ क्षेत्रसँग सहकार्य गरिरहेका छन्। यसले गर्दा गाडी किन्न तयार ग्राहक आफैंले ऋण झन्झटिला प्रक्रियामा फस्नु पर्दैन। बिक्रेता कम्पनीले निश्चित बैंकहरुसँग सरल प्रक्रिया व्यवस्थापन गरेका छन्।

हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यसपटक नयाँ वर्षको अवसर पारेर गाडी किन्ने ग्राहकलाई ५ लाखसम्मको नगद छुट दिने व्यवस्था मिलाएको छ। हुन्डाईले झन्डै साढे ८ लाखसम्मको छुट पाउने अफर योजना सार्वजनिक गरेको छ।

‘हामीले नयाँ वर्ष छुटको अफर योजना ल्याएको एक हप्ता भयो। बिक्री ह्‍वात्तै बढिसकेको छैन तर ग्राहकहरु सोध्न आउन थालेका छन्,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक दीपक थपलियाले भने, ‘आर्थिक मन्दीले बजार प्रभावित छ। हामीलाई अफर योजनाले कारोबार सुधारमा केही बल गर्छ भन्ने अपेक्षा छ।’

गाडी किन्न रहर गरेर सोधपुछ गर्ने ग्राहकहरुले अटो लोन र त्यसको ब्याज दरमा गुनासो गर्ने गरेको उनले बताए। ‘बैंकले ऋण नदिने, दिएको ऋणको पनि ब्याजदर उच्च भएको गुनासो गर्छन्,’ उनले भने, ‘त्यसैले बैंक फाइनान्सिङ गरेर गाडी किन्नेहरु प्रक्रियामा हतारिएका छैनन्। यसको सोझो असर अटोमोबाइल बजारमा परेको छ।’

यसैगरी, ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता कम्पनी भीजी इम्पेक्सका मार्केटिङ हेड पंकज यादव छुटका अफरले ग्राहकको ध्यान आकर्षित गर्न सघाए पनि ह्‍वात्तै कारोबार बढ्ने अवस्था नभएको बताउँछन्।

‘अफर योजनाहरुले ग्राहकहरुको चासो बढाउँछ र केकस्तो अफर योजना रहेछ भनेर सोध्नेदेखि शोरुम भिजिट गर्ने वातावरण बन्छ,’ उनले भने, ‘यसले गाडीहरु झट्ट बिक्री भएन भने पनि भविष्यका लागि कारोबारको बाटो खोल्छ।’

उनका अनुसार भीजीले ग्रेटवालका गाडी खरिदकर्ताका लागि ५ वर्षसम्मका विभिन्न छुट अफर योजना ल्याएको छ।

यस्तै निसानले ११ लाख ७५ हजार रुपैयाँसम्मको फाइदा हुने गरी नयाँ वर्ष अफर योजना सार्वजनिक गरेको छ। कम्पनीले नगद छुट मात्र ८ लाख रुपैयाँसम्म दिएको छ। त्यसमा पनि नयाँ वर्ष अफर बोनस भनेर अर्को २ लाखसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ।

यसरी अफर योजनाहरु लिएर आउदा ग्राहकहरुको शोरुम भिजिट गर्ने फोन कल गरेर सोधपुच्छ गर्ने बढ्ने कम्पनीले जनाएको छ।

यस्तै, टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नयाँ वर्ष २०८० को अवसरमा अपग्रेड इभेन्ट ‘नयाँ वर्ष नयाँ टोयोटा’ आयोजना गर्न लागेको छ। कम्पनीले यस योजनामा टोयोटाले आफ्ना ग्राहकहरूलाई इजी बैंक फाइनान्स, फ्री रोड ट्याक्स, फ्री इन्स्योरेन्स, सर्भिसमा २० प्रतिशतसम्म छुट जस्ता विभिन्न अफरहरू उपलब्ध गराउने जनाएको छ।

आफ्ना जुनसुकै ब्रान्डका पुराना गाडी ल्याएर ग्राहक राइज, रस, हाइलक्स, कोरोल्ला क्रस हाइब्रिड, फर्चुनर, र्‍याभ-फोर हाइब्रिड र ल्यान्डक्रुजर जस्ता टोयोटाका नयाँ गाडीमा अपग्रेड हुन सक्ने कम्पनीले जनाएको छ।