
काठमाडौं। मनाङमा ३०.४० मेगावाटको माथिल्लो दूधखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ।
कार्बनलेस इनर्जी फण्ड प्रालिले प्रस्तावित आयोजना नासो गाउँपालिका- ६ र ७ मा निर्माण गर्न लागेको हो। विद्युत विकास विभागले मंगलबार सूचना निकालेर आयोजना कार्यान्वयन र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाइ अनुरोध गरेको छ।
यो अर्ध-जलाशययुक्त जलविद्युत आयोजना हो। जसको डिजाइन बहाव १२.३ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३०४.५ मिटर छ। आयोजनाबाट वार्षिक सरदर १८५.५६ गिगावाट घण्टा विद्युत ऊर्जा उत्पादन हुनेछ।
आयोजनाका मुख्य संरचनाहरु दूधखोलाको दायाँ किनारमा पर्दछन्। ३९०० मिटर हेडरेस टनेल रहने छ। विद्युत उत्पादनपछि ३८ मिटर लम्बाइको टेलरेस क्यानलमार्फत दूधखोलामा पानी छोडिने छ।
यो आयोजनाबाट २०८२ साल असार १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।