एफएनसीसीआई चुनाव: शेखर-अन्जनबीचको आशंका वीपीको शत्रु कथाजस्तै

बिजमाण्डू
२०७९ चैत्र २० गते १५:०९ | Apr 3, 2023
एफएनसीसीआई चुनाव: शेखर-अन्जनबीचको आशंका वीपीको शत्रु कथाजस्तै

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो चुनावमा अन्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी दिएका थिए।

Tata
GBIME
Nepal Life

अन्जन र सौरभ मिल्ने साथी थिए। त्यो चुनावमा अन्जन निर्वाचित भए तर सौरभ भने पराजित। यो हार सौरभका लागि भन्दा शेखर गोल्छा र पशुपति मुरारकाका लागि बढी अनपेक्षित थियो। उनीहरुले सबैभन्दा कमजोर भनेर आकलन गरेका रामचन्द्र संघईले बाजी मारेका थिए।

मत गणनास्थलमै सौरभको हारमा पशुपतिको आँखामा आँसु छचल्किएको देखिन्थ्यो भने शेखर टाउकोमा हात राखेर बसेका थिए। चुनाव हारेका सौरभ भने आक्रोशित मुद्रामा यो कसरी भयो भन्दै पशुपतिलाई प्रश्‍न गरिरहेका थिए। आक्रोशित सौरभलाई सम्झाउन पशुपति र शेखरलाई हम्मेहम्मे नै परेको थियो। दुवै जनाले थामथुम बनाएर एउटा कुनामा राखेर सम्झाए।

त्यसपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सभाहलबाट बाहिर ल्याएर गाडीमा राखेर घर पठाए। शेखर र पशुपतिका लागि यो किन पनि अनपेक्षित थियो भने उनीहरुले सौरभ जित्‍नका लागि प्रोक्सी पनि राखेका थिए। यति आत्मविश्वास हुँदाहुँदै सौरभ हारेका विषयमा शेखर र पशुपतिले चुनावी समीक्षा गरे। चुनावी समीक्षामा विपी कोइरालाको शत्रु कथाजस्तै एकपछि अर्को अविश्वास पनि भयो।

अविश्वासको भुंग्रोमा अन्जन पनि परे। अन्जन शंकाको घेरामा परेपछि शेखरसँग बसेर प्रष्टीकरण दिए। त्यो प्रष्टीकरणपछि शेखरको संशय पनि कम भयो। यो संशय हटेको विश्वास तयार भयो। वरिष्ठ उपाध्यक्ष भएका शेखर स्वत: अध्यक्ष बने।

अध्यक्ष बनेका शेखर र उपाध्यक्ष अन्जनबीच सौहार्द सम्बन्ध तयार भयो। यो सम्बन्धमा खासै दरार थिएन। चरम राजनीतिकरणबाट तहसनहस भएको महासंघमा एग्रेसिभ सुधार गर्न गोल्छा सफल पनि भएका थिए। उनले महासंघको सचिवालय सुधारे र अनावश्यक खर्च पनि कटौती गरे। अहिले महासंघको खातामा १७ करोड रुपैयाँ छ।

उनले महासंघको नेतृत्व सम्हाल्दा १० करोड रुपैयाँ मात्रै थियो। गोल्छाले १० वर्षे भिजन पेपर ल्याए। महासंघको कार्यसमिति बैठकमा शेखरले ल्याएको प्रस्तावमा अन्जनले नै समर्थन गरे। उनीहरु महासंघको बैठक सकिएपछि बेलुकाको डिनर सँगसँगै गर्थे। उनीहरु बीच पारिवारिक सम्बन्ध पनि राम्रो थियो। गोल्छाले विधान संशोधनका लागि महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरे।

त्यो समितिले महासंघलाई थप सुधार गर्ने प्रावधानसहित संशोधनको प्रस्ताव गर्‍यो। त्योबाहेक वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान हटाउने विषय पनि थपियो। महासंघको सुधार प्रस्तावमा असहमति जाहेर नगरेका अन्जनले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउने विषयमा भने चर्कै विरोध गरे। त्यो पनि कार्यसमितिको बैठकमा। अन्जनले पदाधिकारी बैठकमा विरोध गरेपछि यो मुद्दा थप पेचिलो बन्यो। गोल्छा भने आफ्नो एजेण्डाबाट टसमस भएका थिएनन्। उनले कार्यसमिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाँदा त्यहाँ झन् विरोध भयो।

यो विरोधपछि भने गोल्छाले आफूले थालेको सुधार योजनामा ब्रेक लाग्यो। गोल्छाका लागि भने यो ठूलो आत्मसम्मानको विषय बनेको थियो। तर उनले बाहिर व्यक्त गरेनन्। कार्यसमिति भित्र आफ्नो साथी भनेकै व्यक्तिबाट भएको असहयोगप्रति गोल्छाको असन्तुष्टि थियो।

यो असन्तुष्टि थाहा पाएर अन्जनले सम्बन्ध सुधारका लागि पहल पनि गरे। अन्जन महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न तयारी थाले। तयारी थाल्नुअघि पनि अन्जनले गोल्छासँग सोधेका थिए। उनले ग्रीन सिग्‍नल दिएकै कारण वरिष्ठ उपाध्यक्षमा सबै बल लगाएर अगाडि बढेका थिए। उनले जिल्लामा जाँदा समेत गोल्छाको कार्यकाल राम्रो भएको भन्दै सुधारलाई अघि बढाउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए।

अन्जनलाई राजनीति एउटै गतिमा हिँड्दैन भन्ने नलागेको होइन। तर, गोल्छाले एउटा चार्ट नै बनाएर नेपाल अटोमोबाइल एसोसिएसनमा जस्तै महासंघको राजनीतिमा अन्जनलाई आउनुपर्छ भनेको सम्झना आइरहेको थियो। चुनावको महोल सुरु हुनुभन्दा डेढ महिना अघि बैंककमा एउटा विवाह समारोह भयो।

संघई ग्रुपका गोविन्द संघईका छोरा र शारडा ग्रुपका सन्दिप शारडाको छोरीबीच भएको विवाह समारोहमा शेखर, पशुपति र एसोसिएट उपाध्यक्ष रामचन्द्र संघईबीच महासंघको निर्वाचनका बारेमा छलफल भयो। महासंघको निर्वाचनको बारेमा छलफल भएपनि के विषयमा भएको थियो भन्ने बाहिर आएन। छलफलको विषय बाहिर आएपछि अन्जनले त्यहाँ भएको छलफलका बारेमा सोध्दा पशुपतिले भनेका थिए,-‘संघईलाई मिलाउनका लागि छलफल भएको हो।’

त्यसपछि अन्जन ढुक्कले चुनावी अभियानमा लागे। चुनावमा कमै लागेका रामचन्द्रले भने एकाएक पुतलीसडकमा रहेको घरमा भव्य पार्टी आमन्त्रण गरे। झण्डै दुई सय जना उद्योगी व्यापारी बोलाएर दिएको पार्टीपछि रामचन्द्र चुनावमा उठ्ने स्पष्ट खाका दिएका थिए।

तर पनि अन्जन र वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठ रामचन्द्र संघई चुनावमै नउठ्ने आकलन गरेर बसिरहेका थिए। जब आफ्नै टीममा रहेर एसोसिएट उपाध्यक्ष बन्ने घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठ संघईको टीममा गइन्। त्यसपछि अन्जनको संशय धेरैतिर बढेको छ। जसरी विगतमा शेखरलाई वीपीको शत्रु कथाजस्तै सबै व्यक्तिप्रति आशंका थियो। त्यो शंका अहिले अन्जनलाई भइरहेको छ।