बैंकको खाता पनि भाडामा ! मासिक १० हजारमा अरुलाई चलाउन दिँदा जे भयो…

बिजमाण्डू
२०७९ चैत्र १८ गते १४:५२ | Apr 1, 2023
बैंकको खाता पनि भाडामा ! मासिक १० हजारमा अरुलाई चलाउन दिँदा जे भयो…

काठमाडौं। तपाईँले घरजग्गा, गाडी तथा अन्य कुनै सर-सामान भाडा दिएको पक्कै सुन्नु भएको होला। तर, तपाईँलाई थाहा छ बैंक खाता पनि भाडामा लाग्छ? नेपालमा यसरी बैंक खाता भाडामा लगाउनेहरु भेटिएका छन्।

Tata
GBIME
Nepal Life

दोलखा घर भएका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटका २९ वर्षीय इन्द्र तामाङ, ३६ वर्षीय राजकुमार लामा र २५ वर्षीय प्रयास भण्डारीले आफ्नो खाता भाडामा लगाएका थिए। भाडाबापत मासिक १० हजार रुपैयाँ आउँथ्यो। खातामा अरूले दिएको पैसा जम्मा गर्ने र निकाल्ने मात्र काम हुन्थ्यो उनीहरुको। यी चारै जनाको एनआईसी एसिया बैंकमा खाता थियो।

डेढ महिनादेखि उनीहरूको भाडा लगाएको खाताबाट राम्रै कमाइ भइरहेको थियो। तर, एक्कासि केही दिन अघि प्रहरीले चारै जनालाई पक्राउ गर्‍यो। उनीहरूको केही दिनयता हिरासतमा बास छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको खाता प्रयोग गरेर चिनियाँ नागरिकले अनलाइनमार्फत् ठगी गरेको पाइएको थियो। त्यसैको अनुसन्धानमा खातावाल पक्राउ परेका हुन्। अनलाइन व्यापार भन्दै चिनियाँले नेपालीसँग ठगी गरेको रकम निकाल्न उनीहरुको खाता प्रयोगमा ल्याएका थिए। चिनियाँ ठगहरुले नै उनीहरुको खाता भाडामा लिएका थिए। प्रहरीले ठगी गिरोहका सदस्यका रुपमा उनीहरुलाई पक्राउ गरेपछि भाडाको खुलासा भएको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए।

‘एनआइसी एसियाको चारवटा खाताबाट ठगीको रकम आवतजावत गर्ने गरेको देखिएको छ। उनीहरूले मासिक १० हजार रुपैयाँ पाउने भएपछि आफ्नो खाता प्रयोग गर्न दिएका थिए,’ एसएसपी केसीले भने।

चार जनाको एनआईसी एसियाको खाताबाट १ करोड ६८ लाख रुपैयाँको कारोबार भएको देखिएको छ। एउटा खाताबाट ५० लाख भन्दा बढीको कारोबार भएको अनुसन्धानमा खुलेको छ। यद्यपि, पक्राउ परेकाहरूले आफूहरूलाई चिनियाँ नागरिकको ठगी धन्दाबारे थाहा भएको बयान दिएका छैनन्। तर, उनीहरूले रकम लिएर खाता प्रयोग गर्न दिएको प्रष्ट खुलेको छ।

प्रहरीले चिनियाँ नागरिकको अनुसन्धान गर्दै जाँदा उनीहरुको खाता नम्बर र चिनियाँ गिरोहसम्म पुग्न सफल भएको थियो। यसरी खाताबाट पैसा निकाल्ने र जम्मा गरेर चिनियाँ नागरिकलाई दिने काम भने अर्जुन श्रेष्ठले गर्दै आएका थिए। उनी स्कुटर लिएर भाडाको खातामा रकम निकाल्न र डिपोजिट गर्न जान्थे।

‘ठूलो मात्रामा पैसा हाल्ने र निकालेर चिनियाँ नागरिकलाई दिने काम अर्जुन श्रेष्ठले गरेको देखिन्छ,’ एसएसपी केसीले भने।

चिनियाँ नागरिकले नेपालमा सहजै बैंक खाता खोल्न नसक्ने, प्रहरीको अनुसन्धानमा परिए समातिने डर, थप प्रमाण जुट्ने सम्भावना भएपछि खाता भाडामा लिएको देखिन्छ।

यो घटना खुलेपछि प्रहरीले पैसाको लोभमा परेर वा कुनै कारोबारका लागि अपरिचितलाई आफ्नो बैंक खाता प्रयोग गर्न नदिन सचेत गराएको छ।

सोही चिनियाँ गिरोहले अन्य १० वटा खाता पनि प्रयोग गरेको देखिएको छ। उनीहरुको खाताबाट १० करोड भन्दा धेरैको कारोबार भएको प्रारम्भिक रुपमा खुल्छ। प्रहरीले यी खाताका बारेमा पनि अनुसन्धान थालिसकेको छ। यी खाताहरु पनि यसरी नै भाडामा लगाएको भेटिएमा खातावाल पनि कारबाहीको भागीदार बन्ने छन्।

ठगी धन्दा गर्नेहरूले पछिल्लो समय यसरी नै अरूको खाता भाडामा लिएर रकमको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ। त्यति मात्र होइन, अरूको फोटो तथा विभिन्न माध्यमबाट नागरिकताको फोटोकपी संकलन गरेर पनि डिजिटल वालेटमार्फत् पैसा ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

अनलाइनमार्फत् हुने ठगीमा रकम अरूको खाताबाट नै झिक्ने गरेको पाइएको छ। खाता भाडामा लिनेदेखि विभिन्न व्यक्तिका फोटो र नागरिकताको फोटो कपी लिएर केही रकम दिई खाता खोलेर पैसा झिक्ने गरेको पनि पाइएको छ। त्यस्तै, यसअघि नक्कली कागजपत्र बनाएर बैंक खाता खोली रकम झिक्ने समेत गरेको पाइन्छ।

यी सबै केसलाई हेर्दा पछिल्लो समय तपाईँको कुनै पनि बैंक खाता वा डिजिटल वालेटमा असम्बन्धित रकम आयो भने जोखिम सामना गर्नुपर्ने हुनसक्छ। त्यसपछि कसैले ‘ओटीपी कोड’ माग्यो भने पक्का तपाईँ जोखिमको यात्रामा पर्नुहुन्छ। तपाईँको खातामा भएको रकम झिक्ने सम्भावना पनि हुन्छ। तपाईँको खाता कसैले चलाइरहेको पाउनु भयो भने पनि सम्बन्धित निकाय वा प्रहरीमा तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ।