१६ मन्त्रालय एक्लै चलाएका प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा अझै अलमल, केले छेक्यो?



२०७९ चैत्र १६ गते १८:१९
१६ मन्त्रालय एक्लै चलाएका प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा अझै अलमल, केले छेक्यो?


काठमाडौं। मन्त्रिपरिषद् विस्तारको भाखा सारिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै सुरसार गरेका छैनन्। बालुवाटारमा सत्तारुढ दलको बैठक छाडेर बिहीबार चितवन पुगेका उनले काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए।

Tata
GBIME

‘यताबाट फर्केर जाने र आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने मेरो लक्ष्य छ,’ भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणको शिलान्यास कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘आज सकिएन भने भोलि बिहान होला।’

चैत ६ गते संसद‍्‍बाट विश्वासको मत लिँदा चार दिनपछि सरकार विस्तार हुने बताएका प्रचण्डले पटक-पटक भाखा सारेका हुन्। १६ मन्त्रालयको भारी एक्लैले बोकिरहेका प्रचण्डले त्यसपछि १२ गते मन्त्रिपरिषद् विस्तार हुने जनाएका थिए। त्यसपछि सरकार विस्तारको भाखा लगातार सरिरहेको छ।

बिहीबार पहिलो चरणमा मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बताए पनि यो हुने सम्भावना नदेखिएको बालुवाटार स्रोतले जनाएको छ। भरतपुरमा प्रधानमन्त्री प्रचण्डले पनि एक/दुई वटा मन्त्रालय मिलाउन बाँकी रहेको बताएका थिए। ‘काम त हाम्रो सकिएको छ। एक/दुईवटा मन्त्रालय मिलाउन बाँकी छ,’ प्रचण्डले भनेका थिए।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पनि आज सरकार विस्तारको सम्भावना कम रहेको बताए। ‘आज सम्भावना कम छ। केही समय लाग्ला,’ शर्माले भने। कांग्रेसले पनि सरकार विस्तारको सुरसार आज नभएको जनाएको छ।

प्रधानमन्त्रीले सूचना नदिएसम्म मन्त्रिपरिषद् विस्तारको बारेमा केही भन्न नसकिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। मन्त्रिपरिषद् विस्तार आजै होला त? सानेपामा केन्द्रीय सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नमा महतको जवाफ थियो, ‘प्रधानमन्त्रीले खबर गर्नुहोला।’