
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले हाइड्रोजन सम्बन्धी अध्ययनका लागि छुट्टै सेल निर्माण गर्ने भएको छ।
हालसालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइड्रोजनबाट चल्ने सवारीसाधन चढ्ने घोषणा गरेका थिए। उनले प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसंग सल्लाह गरेर हाइड्रोजन गाडी चढ्न लागेको बताएका थिए।
प्रधानमन्त्री प्रचण्डको यो निर्णय लगत्तै प्राधिकरणले हाइड्रोजनसम्बन्धी अध्ययनका लागि छुट्टै सेल निर्माण गर्न लागेको हो। ‘अहिले पनि केहि साथीहरुले हाइड्रोजनमा काम गरिरहनु भएको छ। तर अब छुट्टै सेल नै बनाउँदैछौं,’ उनले भने,’ छिट्टै पाइलट प्रोजेक्ट सुरू गर्दैछौं।’ अहिले काठमाडौं विश्वविद्यालयको सहयोगमा प्राधिकरणले पाइलट प्रोजेक्टको अध्ययनको काम गरिरहेको छ।
उनले हाइड्रोजनबाट चल्ने गाडी समेत किन्न लागिएको बताए। उनका अनुसार एउटा बस र कार किन्न लागिएको छ।
घिसिङले हाइड्रोजनका लागि प्लान्ट स्थापना गर्ने योजना रहेको समेत सुनाए। प्लान्ट राख्नका लागि अध्ययन गर्न लागिएको छ। अध्ययनपछि बिडिङ डकुमेन्ट तयार पारेर प्रक्रिया अघि बढाइने उनले बताए। नेपालमा जलविद्युतको ठुलो सम्भावना भएकाले त्यसबाट हाइड्रोजनको सम्भावमा समेत प्रशस्त छ। उनले विश्व ग्रीन हाइड्रोजनतिर गइरहेकाले प्राधिकरणले पनि एउटा प्रोजेक्ट गर्न लागेको बताउँदै हाइड्रोजनबाट चल्ने गाडीहरु फ्युलबाट चल्ने भन्दा सजिला हुने जिकिर गरे।
नेपालमा वर्षायाममा बिजुली खेर जाने र हिउँदमा अपुग भएर आयात गर्नुपर्ने समस्या वर्षैपिच्छे झन्झन् जटिल बन्दै गएको छ।
वर्षामा खेर जाने बिजुलीलाई हाइड्रोजन ऊर्जाका रुपमा सञ्चित गरेर हिउँदमा प्रयोग गर्न सके यसले विद्युत खेर जानबाट रोक्ने घिसिङको जिकिर छ। ऊर्जा मन्त्रालयले पनि ग्रीन हाइड्रोजनसम्बन्धी नीति बनाउन काम सुरु गरिसकेको छ।
भारतमा समेत हाइड्रोजनबाट बस चलाउनुका साथै खाना पकाउने इन्धनको रुपमा पनि हाइड्रोजन ऊर्जाको प्रयोग सुरु गरिसकेको छ।