
काठमाडौं। धितोपत्र बोर्डले नियम विपरित सेयर बेच्नेहरु माथि धमाधम कारवाही थालेपछि हाइड्रोपावर उद्यमी आतंकित भएका छन्। इन्साइडर ट्रेडिङमा संलग्न विरुद्ध कानुनी प्रक्रिया नै अघि बढेपछि उनीहरु आतंकित भएका हुन्।
विशेषगरी कम्पनीको पदमा रहँदा आफ्नो स्वामित्त्व बेचेर उम्किनेहरुलाई बोर्डले अदालतमै मुद्दा दर्ता गर्न थालेको छ। गुरु न्यौपानेको कसूर दाबी गर्दै सुरु भएको इन्साइडर ट्रेडिङको मुद्दासँगै ज्ञानेन्द्रलाल प्रधान विरुद्ध पनि प्रक्रिया अघि बढ्दैछ।
‘यो कारवाहीसँगै जलविद्युत क्षेत्रमा चेन इफेक्ट पर्न थालेको छ। कानुन अनुसार काम नहुनु कसूर नै हो। तर यसले जलविद्युत क्षेत्र नै आलोचित बन्ने अवस्था आएको छ,’ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)का उपाध्यक्ष एवमं सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले बिजमाण्डूसँग भने।
यो कारवाही अघि बढ्दा जलविद्युत क्षेत्रमा अविश्वास सिर्जना हुन थालेको छ। ‘सम्बन्धित व्यवसायमा प्रचलित कानुनको ज्ञान आवश्यक हुन्छ। परामर्शदाता एवं सल्लाहकारहरु सम्म नियुक्त गरिएको हुन्छ। यति हुँदा हुँदै पनि नियम विपरित अभ्यास हुँदा आम लगानीकर्ता संशकित हुने अवस्था आउँछ,’ पूर्व सचिव तथा श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष अनुप उपाध्यायले भने। साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पूराना र चर्चित भनिएका उद्यमीमाथि प्रश्न उठ्दा असहज वातावरण निर्माण हुने बताउँछन्।
‘यसै पनि जलविद्युत आयोजना बन्नु अघिनै संस्थापकले पैसा उठाउँछन् भनेर आलोचना हुँदै आएको छ। त्यस माथि धितोपत्र कसूर पनि थपिँदा आशंकालाई बल पुगेको छ,’ रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदीले भने।