
काठमाडौं। एमजीले ९९ किलोवाट क्षमताको जेडएस इभीको मूल्य ४८ लाख ४९ हजार तोकेर बुकिङ खोलेको छ।
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले सोमबारदेखि जेडएस इभीको मूल्य तोकेर बुकिङ खोलेको जानकारी दिएको छ।
कम्पनीले डिलक्स भेरियन्टको ५२ लाख ४९ हजार रुपैयाँ तोकेको छ। विद्युतीय गाडीको सिरिजमा बीवाइडीले १०० किलोवाटको एटो-३ एक महिना अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको थियो। त्यसलगतै एमजीले पनि ९९ किलोवाटको जेडएस इभीको बुकिङ खुला गरेको हो।
यसअघि दुवै कम्पनी सरकारले इभीका लागि करको दर हेरफेर गर्ने आशामा गाडी छिटै ल्याउन उचित हुने/नहुनेमा अलमलमा थिए। तर, सरकारले करको दरमा हेरफेर नगर्ने संकेत गरेपछि मोटरको क्षमता घटाएर एकपछि अर्को गर्दै गाडी ल्याउन थालेका हुन्।
बीवाइडी १०० किलोवाट एटो-३ को नेपाली बजारमा मूल्य ६४ लाख ९० हजार तोकिएको छ। एमजीले उस्तै रेन्जको मोडलको मूल्य लगभग १५ लाख कम निर्धारण गरेको छ। ग्राहकले १ लाख रुपैयाँमा बुकिङ गर्न सक्ने पारामाउन्टले जानकारी दिएको छ।
यस्तै, कम्पनीले भेरियन्ट अनुसार सनरुफ हटाएर ४८ लाख ४९ हजारमा एमजीको जेडएस इभी दिने भएको हो। यसभन्दा अघि सरकारले १०० किलोवाट क्षमता भन्दा माथिका विद्युतीय गाडीमा बढाएको करले मूल्य बढेपछि कम्पनीले बुकिङ फिर्ता गरेका थिए। त्यसबेला पनि कम्पनीले एमजी जेडएसको मूल्य ४८ लाखदेखि ५२ लाखसम्म तोकेको थियो।
१०० किलोवाटको जेडएसमा ५१.१ किलोवाट क्षमताको ब्याट्री छ। बीवाइडीको एटो-३ मा ६० किलोवाट क्षमताको ब्याट्री छ। यी दुवै गाडीको माइलेज रेन्ज उस्तै-उस्तै छ। एकपटकको फुल चार्जमा बीवाइडी एटो-३ को ४२० किलोमिटर र एमजी जेडएस इभीको ३१९ किलोमिटरको दाबी गरिएको छ। यस्तै, ७२.१ किलोवाट ब्याट्रीले भने ४२९ किलोमिटर रेन्ज दिने एमजीको दाबी छ।