लुब्रिकेन्ट बजारमा नेपाली उत्पादनको हिस्सा ४० प्रतिशत, वार्षिक बिक्री साढे ५ अर्बको

शुक्र गिरी
२०७९ चैत्र १२ गते १५:४७ | Mar 26, 2023
लुब्रिकेन्ट बजारमा नेपाली उत्पादनको हिस्सा ४० प्रतिशत, वार्षिक बिक्री साढे ५ अर्बको

काठमाडौं। सवारीसाधन र मिल-मेसिनरीमा प्रयोग हुने लुब्रिकेन्ट कारोबारको बजार नेपालमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको भइसकेको छ। विदेशबाट आयातितले ओगटेको यो बजारमा पकड जमाउन नेपाली उद्योगीहरुले पनि कोसिस जारी राखेका छन्। ४० वर्षको दौरानमा नेपाली लुब्रिकेन्ट उद्योगको बजार हिस्सा बल्ल ४० प्रतिशत पुगेको छ।

Tata
GBIME
Nepal Life

कोभिड अघिको समयमा नेपाली उत्पादन लुब्रिकेन्टको बजार हिस्सा जम्मा २५ प्रतिशतको मात्रै थियो। लुब्रिकेन्टको कुल बजार हिस्सा १२ अर्ब बराबरको छ। नेपाली उद्योगले उत्पादन गर्ने लुब्रिकेन्टको भने बजार हिस्सा ५ अर्ब जति रहेको व्यवसायीहरु बताउँछन्। नेपाली उद्योगहरुले वार्षिक ३० हजार किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेका छन्।

चार दशकको अन्तरालमा मुलुकमा एक दर्जन उद्योग खुलेका छन्। लगभग ६ अर्ब लगानीका उद्योगहरु स्थापना भएका छन्। अहिले एउटै कम्पनीले डेढ अर्बसम्मको व्यापार गर्ने गरेका छन्। यस्ता उद्योगहरु १५ करोडदेखि १ अर्बसम्म लगानीमा निर्माण गरिएका छन्।

उद्योगले कच्चा पदार्थ विदेशबाट ल्याएर लुब्रिकेन्ट तयार गरेर बिक्री गर्छन्। स्वदेशी उद्योगका लुब्रिकेन्ट गुणस्तर राम्रो भएको उद्योगीहरुको भनाइ छ। अटोमोबाइलको बजार हरेक वर्ष बढ्दै गएकाले लुब्रिकेन्टको माग पनि बढ्दै जाँदा यो क्षेत्रका उद्योगका लागि अवसर बढेको स्मार्ट लुब्रिकेन्टका निर्देशक मोहन बराइली बताउँछन्।

उनका अनुसार नेपाली उद्योगले क्रुड आयल आयात गरेर लुब्रिकेन्ट, क्रिज बनाएर बिक्री गर्ने गरेका छन्। ‘नेपाली उद्योगहरुले ब्रेक आयल, ग्रीज, इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल लगायतका करिब ४० देखि ४५ प्रकारका लुब्रिकेन्ट उत्पादन गरिरहेका छन्,’ बराइली भन्छन्।

युनाइटेड लुब्रिकेन्ट प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र मिश्रले भने बजारप्रति असन्तुष्टि व्यक्त गर्छन्। नेपाली लुब्रिकेन्ट बजार अझै भरपर्दो नभएको उनी बताउँछन्। ‘नेपाली उद्योग स्थापना भएको ४ दशकमा पनि हाम्रो उत्पादनले राम्रो ठाउँ पाउन सकेको छैन,’ उनी भन्छन्।

उनका अनुसार हाल नेपालमा ९० करोडदेखि १ अर्ब रुपैयाँको लुब्रिकेन्ट्स यातायात र २५ देखि ३५ करोडको औद्योगिक क्षेत्रले खपत गर्छन्। यातायात क्षेत्रमा खपत हुने लुब्रिकेन्ट्समध्ये ६० प्रतिशत हेभी र ४० प्रतिशत हलुका सवारी साधनहरु कार र मोटरसाइकलमा प्रयोग हुने उनी बताउँछन्।

नेपाल आयल निगमले स्थापना गरेको र हाल निजी क्षेत्रबाट सञ्चालित नेपाल ल्युब आयलले खाडी मुलुकबाट कच्चापदार्थ आयात गरेर गल्फ लुब्रिकेन्ट्स उत्पादन गर्छ। निजी क्षेत्रबाट स्थापित विराटनगरको फुजिमा आयल कम्पनी, मोरङ, विराटचोकको पूर्वाञ्चल ल्युब आयल र वीरगंजको एमबी ल्युब आयलले क्रमशः कन्ट्रोल, पीएलओ र एमबी ब्रान्डका लुब्रिकेन्ट्स उत्पादन गर्छन्।

युनाइटेड लुब्रिकेन्टले ‘नेपाल गोल्ड’ नामको लुब्रिकेन्ट उत्पादन गर्न हालै ५० करोडमा प्लान्ट निर्माण गरेको छ।

नेपाली बजारमा पूर्वाञ्चल आयलले पीएलओ, मेघा र स्टार लुब्रिकेन्ट उत्पादन गर्छ। यस्तै, नेपाल ल्युब आयल लिमिटेडले गल्फ आयल, फुजिमा आयल कम्पनी लिमिटेडले कन्ट्रोल, म्याजिक प्लस र रोयल लुब्रिकेन्ट उत्पादन गर्छन्।

नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिले म्याक्सोल, नेपाल पेट्रो केमिकल केमोलियम्स ब्रान्डलगायत विभिन्न ब्रान्डमा लुब्रिकेन्ट उत्पादन गर्दै आएका छन्। यस्तै, मोरोल, बीटीएस, स्मार्ट र एनबी ल्युब पनि छन्। यी उद्योगहरु भने थोरै उत्पादन गर्नेमा पर्छन्। यी उद्योगहरुको लगानी १५ करोडदेखि ५० करोडसम्म छ।

नेपाली उत्पादनको बजार हिस्सा बढ्नै कठिन

युनाइटेड लुब्रिकेन्ट प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र मिश्रका अनुसार नेपाली उद्योग जहिले पनि कच्चा पदार्थ आयतमा अरु देशकै भर पर्नु परेको छ। ‘नेपालमा बन्ने धेरैजसो लुब्रिकेन्ट्सको ९० प्रतिशतसम्म कच्चापदार्थ बाहिरबाट आउँछ,’ उनले भने।

नेपालमा स्वदेशी लुब्रिकेन्टको बजार हिस्सा बढाउन सरकारले चासो दिएको छैन। उद्योगले गर्ने कच्चा पदार्थ आयात र अन्य विदेशी लुब्रिकेन्ट आयातको भन्सारदर खासै फरक नभएकाले नेपालीको बजार हिस्सा नबढेको तर्क मिश्रको छ। ‘कच्चा पदार्थ आयात र तयारी उत्पादन आयातमा भन्सार जम्मा १५ प्रतिशतको मात्र फरक छ। यसले मूल्यमा फर नहुने मिश्रको भनाइ छ।

यसैगरी, बाहिरबाट उत्पादन ल्याएर नेपालमा बिक्री गर्ने व्यवसायीहरुको मार्केटिङ र सरकारसँगको लबिङ राम्रो भएका कारण नेपाली उत्पादनले बजार हिस्सा बढाउन संघर्ष गरिरहेको मिश्रको भनाइ छ।

नेपाल सरकारले स्वदेशी लुब्रिकेन्टमा विश्वास गर्न सक्ने खालको गुणस्तर तथा मापदण्ड तोकेको छैन। ‘यसले पनि हाम्रो उत्पादन प्रयोग गर्न नेपाली बजार उत्साहित हुन सकिरहेको छैन।’

कुन कम्पनीको कति बजार हिस्सा

पछिल्लो समय नेपाल ल्युब आयलको वार्षिक कारोबार १ अर्ब २० करोड रुपैयाँ बराबरको छ। नेपाल आयल निगमले स्थापना गरेको यो कम्पनी पछि चौधरी ग्रुप अन्तर्गतका अरुण चौधरीले किनेका हुन्।

यो कम्पनीले हाल वार्षिक ३ हजार किलोलिटर लुब्रिकेन्ट बिक्री गर्दै आएको छ। कम्पनीको बजार हिस्सा २८ प्रतिशत छ। यो कम्पनीले गल्फ लुब्रिकेन्ट उत्पादन गर्छ।

यसैगरी,  फुजिमा आयल कम्पनीको बजार हिस्सा २६ प्रतिशत छ। यो कम्पनीले गत वर्ष लगभग १ अर्ब रुपैयाँको कारोबार गरेको थियो। वार्षिक २ हजार ५ सय किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले जनाएको छ।

अर्को कम्पनी पूर्वाञ्चल ल्युब आयलको बजार हिस्सा २० प्रतिशत छ। कम्पनीको बजार हिस्सा सुरुवाती दिनमा सर्वाधिक थियो। अहिले २ हजार किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको छ। यो कम्पनीले कुनै समय डेढ अर्बको कारोबार गरिरहेको तीयो। हाल करिब ८० करोडदेखि १ अर्ब बराबरको कारोबार गरिरहेको छ।

यसैगरी, अन्य साना कम्पनीहरुको बजार हिस्सा ६ प्रतिशत छ। जसमा स्मार्ट लुब्रिकेन्ट, बतासको बीटीएस पेट्रोलियम, नेपाल गोल्ड, मोटोरोल लुब्रिकेन्टलगायतका कम्पनीहरु छन्। वार्षिक कारोबार २५ करोडदेखि ३० करोडसम्म छ। वार्षिक उत्पादन ३०० किलोलिटरदेखि ५०० किलोलिटर छ।

कसरी बढ्छ स्वदेशीको बजार ?

पूर्वाञ्चल लुब्रिकेन्टका संस्थापक कृष्णप्रसाद दुलालले नेपालमा लुब्रिकेन्टको बजार पछिल्लो समय राम्रो हुँदै गएको बताएका छन्। ‘अहिले नेपाली उद्योगहरुबाट उत्पादित लुब्रिकेन्ट बजार हिस्साले ४० प्रतिशत ओगटन सक्षम भएको छ,’ उनले भने। यो तुलनात्मक रूपमा ठूलो उपलब्धि मान्नुपर्ने उनको भनाइ छ।

नेपाली उद्योगका लुब्रिकेन्टको बजार हिस्सा ८० प्रतिशत पुर्‍याउने योजना रहेको उनले बताए। यो क्षेत्रमा नेपाली उद्योगहरु पनि थपिदै गएका छन्।

मुलुकमा तरलताले निम्त्याएको आर्थिक मन्दीका कारण आयातमा गरिएको प्रतिबन्धहरुले पनि नेपाली लुब्रिकेन्टको बजार हिस्सा बढाउन मद्दत पुगेको उनले बताए। यस्तै, राष्ट्र बैंकले व्यवस्था गरेको एलसी मार्जिन, धरौटी रकमलगायतका सर्तले विदेशी लुब्रिकेन्ट आयात घटेको छ। यसको फाइदा नेपाली उद्योगलाई भएको छ।

सरकारले उद्योग स्थापना गर्नेलाई कच्चा पदार्थ लगायतमा सहयोग गर्ने पनि जनाएको छ। यसले नेपालमा एसेम्बल्ड उद्योग संचालन गर्न चाहनेलाई हिम्मत बढेको छ। यसले लुब्रिकेन्ट उद्योगीहरु आशावादी रहेका दुलाल बताउँछन्।

उनका अनुसार अहिले पनि नेपाली लुब्रिकेन्ट उद्योगहरुले ८० प्रतिशत माग धान्न सक्ने क्षमतामा छन्। ‘अहिले पनि हामी ८० प्रतिशत माग धान्न सक्छौं,’ उनले भने, ‘तर, हाम्रो उत्पादनभन्दा विदेशीको माग धेरै छ। यसलाई रिप्लेस गर्न त्यति सहज छैन।’