
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयमा करारमा काम गर्ने कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन्।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरिएको अवसरमा बुधबार उनले सो कुरा बताएका हुन्। लामो समयदेखि करारमा रहेका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउन प्रतिबद्ध रहेको उनले बताए।
‘मैले विदेशमा रहेका सबै नागरिकको नागरिकतादेखि अन्य सुरक्षाको विषयमा आवाज र यसका लागि आवश्यक कदम चाल्दै आइरहेको छु,’ उनले भने,’यो पनि त्यसैको एउटा पाटो हो। यसले वैदेशिक रोजगारीमा रहेका हरुका लागि राज्य भएको आभास गराउने छ।’
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका युवाहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताए। श्रम सम्झौता हुन बाँकी देशहरूसँग पनि सम्झौताका लागि पहल गर्ने भनाइ उनले राखे। यसैगरी, नयाँ रोजगारका लागि नयाँ देशहरू खोज्ने पनि उनको भनाइ थियो।
वैदेशिक रोजगारीमा जानेहरुका लागि टेलिमेडिसिनको पनि व्यवस्था गरिने उनले बताए। साथै, कोषमा रहेको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेगरी नीति निर्माण गरिने पनि उनको उद्घोष थियो।