रवि लामिछानेको राहदानी विवाद : महान्यायाधिवक्ता कार्यालयले पनि गर्‍यो मुद्दा नचलाउने निर्णय

बिजमाण्डू
२०७९ चैत्र ६ गते १८:२४ | Mar 20, 2023
रवि लामिछानेको राहदानी विवाद : महान्यायाधिवक्ता कार्यालयले पनि गर्‍यो मुद्दा नचलाउने निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादबारेबारे महान्यायधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो। जसमा रविको खराब नियत नदेखिएको भन्दै उनलाई ‘किल्न चिट’ दिइएको थियो।

सरकारी वकिल कार्यालयले रविविरुद्ध मुद्दा नचल्ने भन्दै फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचल्ने सरकारी वकिल कार्यालयको निर्णयलाई सदर गरेको हो।

नागरिकता विवादमा फसेका लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो। त्यसपछि विवाद अदालतमा पुगेको थियो।

सर्वोच्चले नागरिकता विवादमा माघ १३ गते गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो। संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको थियो। त्यससँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए। अधिवक्ता युवराज सफलले लामिछाने विरुद्ध उजुरी दिएका थिए। सुरुमा उजुरी दर्ता नगरेको प्रहरीले सरकारी वकिल कार्यालयले अनुसन्धान गर्नु भनेपछि प्रक्रिया अगाडी बढाएको थियो।