कांग्रेसको पोल्टामा अर्थ मन्त्रालयको जिम्मा: को-को बन्दैछन् कांग्रेसबाट मन्त्री?

बिजमाण्डू
२०७९ चैत्र ६ गते ०८:४९ | Mar 20, 2023
कांग्रेसको पोल्टामा अर्थ मन्त्रालयको जिम्मा: को-को बन्दैछन् कांग्रेसबाट मन्त्री?


काठमाडौं। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष रहेको नेपाली कांग्रेसले आइतबार सत्ता पक्षमा बसेको छ। आइतबार कांग्रेस कार्यसम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णयसमेत गरिसकेको छ।

Tata
GBIME
Nepal Life

कांग्रेस संसदीय दलको आइतबार नै बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने निर्णयसमेत भएको उनको भनाई थियो।  प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। 

मन्त्रिपरिषद् विस्तार कहिले?

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। राष्ट्रपति निर्वाचनको परिणाम घोषणापछि संसद् भवनबाट बाहिरिँदै गर्दा प्रचण्डले भनेका थिए, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात् मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं।’

शनिबार उपराष्ट्रपतिमा सत्ता गठबन्धनकै उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भइसकेका छन्। तर मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दलको कुनै सुरसार छैन। कतिपय कांग्रेस नेताहरु प्रधानमन्त्रीले विश्वासको मत पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताउँछन्।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरु चैत १० पछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउँछन्। विश्वासको मत लिएपछि १० दलको बैठक बसेर भागबण्डा टुंग्याइने र त्यसपछिमात्र पार्टीको बैठकबाट सरकारमा जानेको टुंगो लगाउने कांग्रेसको तयारी छ।

कसको नेतृत्वमा होला सरकारमा सहभागी?

कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नै कांग्रेसमा चर्काचर्की हुने देखिन्छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शेखर कोइरालामध्ये एकले नेतृत्व गर्ने गरी सरकारमा पठाउनेबारे अनौपचारिक रुपमा छलफल चले पनि नेताहरु बोल्न चाहँदैनन्।

विश्वासको मत लिएपछिमात्र यसबारे पार्टीमा छलफल हुने पार्टीका सहमहामन्त्री बद्री पाण्डे बताउँछन्। ‘विश्वासको मत लिएपछि छलफल होला। अहिले कसलाई सरकारमा पठाउने भन्ने तयारी केही भएको छैन,’ पाण्डेले भने।

पार्टी उपसभापति खड्का उपप्रधानसहित कुनै मन्त्रालय लिएर यसपटक सरकारमा जान चाहन्छन्। तर, उनको लागि देउवाको सिग्नल ‘ग्रीन’ नरहेको बताइन्छ। पछिल्लो पटक पार्टी सभापति देउवापत्नी आरजुले खड्कालाई मन्त्रिपरिषद्मा पठाउन चाहिरहेकी छैनन्।

अन्तिम समयमा खड्कासहितका केही नेताहरुका कारण गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सरकारको नेतृत्व नै गुमाएको देउवा टिमको बुझाइ देखिन्छ। जसले गर्दा उपसभापति खड्का प्रचण्ड सरकारमा सहभागी हुन मुस्किल हुने बताइन्छ। यद्यपि खड्का भने ‘एनिहाउ’ सरकारमा जाने प्रयासमा छन्।

खड्कालाई पन्छाएर पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन चाहने अरु नेताहरु हुन् प्रकाशमान, विमलेन्द्र र डा शेखर। प्रकाशमान र विमलेन्द्रले देउवालाई महाधिवेशनमा सघाएका पनि थिए। त्यसैले पनि यी दुबै नेतालाई पार्टीको नेतृत्व गर्ने अवसर देउवाले दिनसक्ने बताइन्छ।

दुवै नेताप्रति देउवा सफ्ट रहेको बताइन्छ। यता प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसबाट संस्थापनइतरका नेताहरु डा शेखर र गगन थापा सरकारमा आए सत्ता सुरक्षित हुने बुझाइमा रहेको बताइएको छ। यसले गर्दा देउवाले डा शेखरलाई पार्टीको नेतृत्व गरी सरकारमा पठाउन सक्ने चर्चा छ।

तर, डा शेखरको सचिवालयले भने यसबारे पार्टीको निर्णय आएपछिमात्र थाहा हुने जनायो। ‘शेखर दाइको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा आएको छ। तर बाहिर हल्ला भएजस्तो पार्टीमा कुनै छलफल भएको छैन। विश्वासको मत लिएपछि पार्टीभित्र छलफल होला,’ डा कोइराला निकट एक केन्द्रीय सदस्यले भने।

को-को बन्लान् मन्त्री?

नेपाली कांग्रेसले सरकारमा सहभागी हुन चार मापदण्ड तय गरिएको छ। मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ८ देखि १० मन्त्रालय दाबी गर्ने बुझिएको छ। कांग्रेसले अर्थसहित परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ।

अर्थमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, डा नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की र उदय शम्शेर राणाको नाम चर्चामा छ। यद्यपि देउवाको फेभरमा अहिले प्रवक्ता डा महत भएकोले कतिपय नेताहरुले महत नै अर्थमन्त्री हुने दाबी गर्छन्। ‘डा प्रकाशशरण महत देउवाको फेभरमा देखिन्छन्। महामन्त्रीमा जिताउन नसकेका कारण पनि महतलाई देउवाले न्याय दिने देखिन्छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने।

यसैगरी परराष्ट्र मन्त्रालयमा आरजुको दाबी रहेको छ। शेखर र गगनलाई मन्त्रिपरिषद्मा पठाउन आरजुले नचाहेको संस्थापनइतरका नेताहरु बताउँछन्। त्यसैले संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री पाण्डे, जीवन परियार र रामनाथ अधिकारीलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बुझिएको छ।

देउवा टिमबाट एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने पक्कापक्की भइसकेको कांग्रेस नेताहरुको दाबी छ। एनपी साउद महाधिवेशनमा महामन्त्रीबाट ब्याक भएर देउवालाई सघाएका नेता हुन्। त्यसैगरी सीता प्रत्यक्षमा निर्वाचित एकमात्र महिला सांसद हुन् कांग्रेसमा। यसैगरी प्रमुख सचेतक रमेश लेखक र नारायण खड्का पनि मन्त्री बन्ने लाइनमा छन्।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइरालाले पनि सरकारमा जाने रहर निर्वाचन अघिबाटै गरिरहेका छन्। कोइराला आफू सरकारमा सहभागी नभए उनको कोटाबाट एकजना मन्त्री पठाइने बताइन्छ। जसमा दिपक खड्का पक्कापक्की हुने शशांक निकट नेताले बताए।

भूभाग सन्तुलन मिलाउँदा काठमाडौंबाट एक जना मन्त्री बन्ने देखिन्छ। गगन मन्त्रिपरिषद्मा सहभागी नभए अर्जुननरसिंह केसीले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ।

जातीय सन्तुलन मिलाउन रामेछापबाट निर्वाचित भएका कान्छाराम तामाङले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। यद्यपि मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा भने १० दलको भागबण्डा र कांग्रेसको भागबण्डापछि मात्र टुंगो लाग्ने देखिन्छ।