नेपाली बिजुलीलाई भारतले प्रतियुनिट ११.५४ रुपैयाँ दिने, प्रसारण लाइनलाई बिहारका ग्रीड प्रयोग गर्ने

बिजमाण्डू
२०७९ चैत्र ४ गते १३:४१ | Mar 18, 2023
नेपाली बिजुलीलाई भारतले प्रतियुनिट ११.५४ रुपैयाँ दिने, प्रसारण लाइनलाई बिहारका ग्रीड प्रयोग गर्ने

 काठमाडौं। भारतले नेपाली बिजुली किन्दा प्रतियुनिट दर ७.२१ भारु (११ रुपैयाँ ५४ पैसा) दिने सहमति भएको छ। दिल्लीमा शुक्रबार सम्पन्न नेपाल-भारत पावर एक्सचेन्ज कमिटीले आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत आदानप्रदानको दर तय गरेको हो।

Tata
GBIME
Nepal Life

बेच्दा नेपालले पाउने मूल्य नै आफूले किन्दा पनि तिर्नु पर्नेछ। नेपाल–भारतबीचको विद्युत आदान प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकले नेपालले बिहार राज्यका प्रसारण ग्रीडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि  मोडालिटी तय गर्ने निर्णय गरेको छ।

समितिको १४ औं बैठकले बिहारका ग्रीड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रीडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो।

‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ। यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउने छन्। यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

बिहारसँग कटैया-कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन्। गत फागुनको महिलो हप्तामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः चालु महिना मार्चभित्र र अप्रिल-मेसम्ममा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो।

विद्युत आदानप्रदान समितिको बैठकले आदान प्रदान सम्झौताअन्तर्गत आयातनिर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ। विद्युत आदानप्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेका बेलामा विद्युत आयात गर्दै आएको छ। प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको बेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्छ। नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको बेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारतर्फत निर्यात गर्दा पनि लागू हुने बताए। ‘आव २०१९/२०का लागि तय भएको दर त्यसपछिका वर्षहरुलाई पुनरावलोकन हुन सकिरहेको थिएन। भारतीय पक्षबाट वार्षिक साढे पाँच प्रतिशतको मूल्यवृद्धि जोडेर प्राधिकरणले आयात गर्ने विद्युतको बिल पठाउने गरेको थियो, विगतमा गरिएको बिलिङलाई समायोजन गर्दै जाने सहमति भएको छ,’ उनले भने, ‘यसबाट प्राधिकरणललाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको छ।’

नयाँ तय गरिएको दर टेक अर पे आधारमा नभइ नेपाललाई आवश्यक पर्दा खरिद गरिने विद्युतको दर भएको उनले बताए। ‘चाहिएको बेलामा मात्र विद्युत् आयात गरिने हुँदा यो दर अहिलेको भारतीय बजारभन्दा सस्तो छ, उक्त दर हामीले विद्युत निर्यात गर्दा पनि पाउने छौं,’ उनले भने।

गत डिसेम्बरमा विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रति युनिट क्रमशः ७.५० र ८.७० रुपैयाँ प्रस्ताव पेस गरेको उनले बताए।  ‘प्रतिष्पर्धामा छनोट भएका कम्पनीहरुले आयातित कोइलाबाट उत्पादित विद्युत मात्र नेपाललाई बिक्री गर्न पाउँछन्। कोइलाको मूल्यमा उतारचढाव आइरहेकाले उक्त कम्पनीहरु प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन्,’ घिसिङले भने।

बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकाले दर सस्तो भएको उनले बताए। ‘प्रतिष्पर्धी बजारमा पनि दैनिक प्रतियुनिट विद्युतको औसत दर भारु १२ सम्म पर्न गएको छ, यसमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थप हुन्छ। त्यसैले अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो छ,’ उनले भने।  

बैठकले नेपालले बिहारमा विद्युत् निर्यातका लागि एक महिनाभित्र मोडालिटी तय गर्ने निर्णय गरेको छ। ‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट निर्यात गर्न एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुंगो लगाउने निर्णय भएको छ,’ उनले भने, ‘यसबाट देशभित्र खपत गरी बढी भएको विद्युत बिहारमा बिक्री गर्न थप बजार सुनिश्चित भएको छ।’

प्राधिकरणले आवश्यक परेको बेला भारतबाट व्यापारिक रुपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत,  विद्युत आदानप्रदान सम्झौता (पावर एक्सचेन्ज) र महाकाली सन्धि अन्तर्गतको बिजुली भारतबाट आयात गर्छ। व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्जअन्तर्गत भारतबाट बिजुली ल्याइरहेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालु आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ।