एलिट क्यापिटललाई मर्चेन्ट बैंकर लाइसेन्स, पुँजी बजारमा थपियो सेयर कारोबारी र एनआरएनएको कम्पनी

२०७९ चैत्र १ गते १५:१७
एलिट क्यापिटललाई मर्चेन्ट बैंकर लाइसेन्स, पुँजी बजारमा थपियो सेयर कारोबारी र एनआरएनएको कम्पनी


काठमाडौं। नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको लाइसेन्स दिएको छ। 

Tata
GBIME

कम्पनीमा सेयर बजारका खेलाडी र गैरआवासीय नेपालीको प्रमुख लगानी रहेको बोर्डले जनाएको छ। एलिटको हालको पुँजी २२ करोड ५० लाख रुपैयाँ छ।

नेपालमा मर्चेन्ट बैंकको लाइसेन्स पाउने संस्था ३९ वटा थिए। एलिट थपिएको हो। बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधबार अनुमतिको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरे।

आगामी साता औपचारिक उद्‍घाटन गरी कारोबार थाल्ने एलिटको योजना छ। कम्पनीले कार्यालय राजधानीको लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा राखेको छ। एलिट क्यापिटलले व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डीपी सेवा समेत उपलब्ध गराउने जनाएको छ। 

सीइओ आचार्यका अनुसार क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल र म्युचुअल फण्डको समेत व्यवस्थापन गर्नेछ। दक्ष व्यवस्थापनको सहायतामा क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरु ल्याउने उनले बताए।

मर्चेन्ट बैंकरहरुको संख्या ३९ पुगेपछि बोर्डले लामो समयदेखि नयाँलाई लाइसेन्स बाँडेको थिएन। बैंकहरु मर्जरमा गएसँगै उनीहरुका सहायक कम्पनी मर्चेन्ट बैंक पनि गाभिए। पुँजी बजारका कारोबारी संस्थाको संख्या घटेसँगै बोर्डले नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो। 

संचालनमा रहेका मर्चेन्ट बैंकरहरुमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गइसकेका छन्। केही जाने प्रक्रियामा छन्।  


Sunrise Bank