
काठमाडौं। बैंकहरुमा तरलता सहज भएको भए पनि ब्याजदर उच्च हुँदा फागुनमा मुलुकभर घरजग्गा कारोबार घटेको छ।अघिल्लो महिना माघमा केही सुधार देखिएको कारोबार फागुनमा घटेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा देशभरका मालपोत कार्यालयहरुबाट ४० हजार ७३४ लिखत पास भएको छ। गत मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट लिखत पारित २९ हजार १ सय ८४ रहेकोमा पुसमा बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। यो क्रम माघमा फेरि बढेर ४१ हजार नाघेको थियो।
तर, फागुनमा आएर घटेको छ। कारोबार घट्नुको कारण बजार विश्लेषकहरुले आर्थिक तरलतालाई मानेका छन्।
किनबेच घटेपनि कारोबारको मूल्यांकनका आधारमा सरकारलाई राजस्वमा सर्वाधिक योगदान काठमाडौंको कारोबारले गरेको देखिएको छ। अन्य जिल्लाका तुलनामा घरजग्गाको मूल्यांकन महँगो भएकाले उपत्यकाका मालपोतले राजस्व उल्लेख्य असुली गरेका हुन्।
मुलुकका विभिन्न जिल्लाका मालपोतमध्ये फागुनमा पनि नेपालगञ्जबाटै धेरै घरजग्गा खरिदबिक्री भएको छ। विभागको तथ्यांकअनुसार उक्त मालपोत कार्यालयबाट १ हजार ६ सय ९ वटा लिखत पारित भएको छ।
माघमा पनि नेपालगंज मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएको थियो। केही समययता पूर्वको इनरुवाबाट सबैभन्दा बढी किनबेच पश्चिम सर्न थालेको छ। इनरुवालाई उछिनेर माघ र फागुनमा सबैभन्दा बढी लिखत पास नेपालगंजमा भएको छ। नेपालगंजबाट अघिल्लो महिना माघमा १६८५ लिखत पारित भएको थियो।
इनरुवामा फागुनमा १ हजार ५ सय ४७, जनकपुरधाममा १ हजार ५ सय ३३, बेलबारीमा १ हजार २ सय ७५, राजविराजमा १ हजार १ सय ९२, भक्तपुरमा १ हजार १ सय १३, तौलिहवामा १ हजार ८७, भद्रपुरमा १ हजार ७७, लगनखेलमा १ हजार ३१ र विराटनगर मालपोतमा १ हजार २७ वटा लिखत पारित भएको विभागले जनाएको छ।
माघमा जनकपुरधामबाट १ हजार ५ सय ६५, इनरुवाबाट १ हजार ४ सय ९९, तौलिहवाबाट १ हजार १ सय ५४, राजविराजबाट १ हजार १ सय ३२, बेलबारीबाट १ हजार १ सय १०, विराटनगरबाट १ हजार १ सय ५, कलैयाबाट १ हजार ७७, भद्रपुरबाट १ हजार ६८ र भक्तपुरबाट १ हजारवटा लिखत पारित भएको थियो।
त्यसैगरी, फागुनमा काठमाडौं उपत्यकाका कलंकी मालपोतमा ७ सय १, साँखुमा ४ सय ८४, चाबहिलमा ४ सय ३४, मनमैजुमा २ सय ७४, डिल्लीबजारमा १ सय ९०, टोखामा १ सय १३ लिखत पारित भएका छन्।
माघमा काठमाडौं उपत्यकाका लगनखेल मालपोतबाट ९ सय ८२, कलंकीबाट ७ सय २०, चाबहिलबाट ४ सय ४४, साँखुबाट ४ सय १८, मनमैजुबाट २ सय ७५, डिल्लीबजारबाट १ सय ८९ र टोखाबाट १ सय ४४ लिखत पारित भएका थिए।
पुसमा इनरुवा मालपोतबाट सबैभन्दा बढी १ हजार ५ सय ६३ लिखत पारित भएको थियो। नेपालगंजबाट १ हजार ५ सय ४६, जनकपुरबाट १ हजार २ सय ५३, बेलबारीबाट १ हजार १ सय ९८, धनगढीबाट १ हजार १ सय ६५, तौलिहवाबाट १ हजार १ सय ४४, भद्रपुरबाट १ हजार १ सय २४, मकवानपुरबाट १ हजार ६८ लिखत पारित भएको थियो।
विराटनगरबाट १ हजार ५७, लगनखेलबाट १ हजार ३२, राजविराजबाट ९ सय ९५, घोराहीबाट ९ सय ४४ लिखत पारित भएको थियो। काठमाडौं उपत्यकाका अन्य मालपोत कार्यालयहरु भक्तपुरबाट ७ सय ३१, कलंकीबाट ७ सय ४, साँखुबाट ४ सय ८२, चाबहिलबाट ३ सय ६० मात्रै लिखत पारित भएको थियो।
फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। माघमा पुसको तुलनामा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व पनि वृद्धि भएको थियो। माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।
पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो। काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुले सरकारको राजस्व थाम्दै आएका छन्। यद्यपि काठमाडौं उपत्यकामा कारोबार भने त्यही उत्साहजनक छैन।
फागुनमा लगनखेल मालपोतले ३२ करोड १५ लाख, भक्तपुरले २२ करोड ९० लाख, कलंकीले १८ करोड ७६ लाख, चाबहिलले १६ करोड ८८ लाख, डिल्लीबजारले १४ करोड ५२ लाख र कास्कीले १२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांक छ।
माघमा सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको थियो। लगनखेलले ३२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। भक्तपुरले २३ करोड ३२ लाख, डिल्लीबजारले २१ करोड ७० लाख, कलंकीले २० करोड १३ लाख, चाबहिलले १९ करोड २० लाख, कास्कीले १२ करोड ९० लाख र चितवनले १० करोड ५६ लाख रुपैयाँ घरजग्गा किनबेचबाट राजस्व उठाएको थियो।
पुसमा सबैभन्दा बढी राजस्व उठाउने मालपोत लगनखेल बनेको थियो। लगनखेल मालपोतले पुसमा ३३ करोड ४४ लाख रुपैयाँ राजस्व घरजग्गा खरिदबिक्रीबाट आर्जन गरेको थियो। चाबहिलले १९ करोड ८८ लाख, कलंकीले १८ करोड १८ लाख, भक्तपुरले १७ करोड ४४ लाख, डिल्लीबजारले १६ करोड १८ लाख रुपैयाँ राजस्व उठाएको थियो। चितवनले १३ करोड ६२ लाख र कास्कीले १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।