
काठमाडौं। निश्चित रूपमा घट्ने ब्याजदर र सुधार हुँदै गएको अर्थतन्त्रका बाबजुद लगानीकर्ताको मनोबल घटेको छ।
ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णयले सेयर लगानीकर्ताको आत्मबल बढाएको थियो। तर, उक्त निर्णय कार्यान्वयनमा आउनु अघि नै पुँजी बजारमा सुस्तता आउन सुरु गरिसकेको हो। बिहीबार ५० अंकको फड्को मारेको बजार साताको पहिलो दिन नै करिब २७ अंकले घट्यो।
बिहीबार संघले चैतदेखि बचतको ब्याज समायोजन गर्ने भएपछि सेयर बजारमा उत्साहको सञ्चार देखिन्थ्यो। राजनीतिक अस्थिरताले गर्दा दुई हजार तल ओर्लिसकेको परिसूचक पुनः दुई हजारमाथि पुग्यो। तर, चढाव धेरै बेर टिक्न सकेन। सूचक पुनः १९ सय ७६ को विन्दुमा झरेको छ।
अर्कोतिर आइतबार राष्ट्र बैंकले बाह्य अवस्था सन्तोषजनक र सुधारोन्मुख रहेको तथ्यांक सार्वजनिक गर्दा समेत बजारमा पहिरो गएको छ। महंगी दर सामान्य बढे पनि समग्र सूचकांकमा प्रगति देखिन्छ। तर, बजारमा उत्साह भने छैन।
यसैबीच चर्किएको बजेट घाटालाई टाल्न सरकारले अझै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी छ। र, चैतको किस्ता तिर्नका लागि पनि बैंकबाट निक्षेप झिकिने छ। यसो हुँदा अहिले ब्याज घटाउँदा निक्षेप निरुत्साहित भएर तरलता ‘ड्राइ’ हुने हो कि भन्ने डर पनि बैंकरमा छ।
राष्ट्रपतिको चुनाव बारे बजारको प्रतिक्रिया बिहीबार निष्क्रिय रह्यो। कांग्रेस-माओवादीको गठबन्धन प्रति लगानीकर्ताको विश्वस्त हुन सकिरहेका छैनन्। त्यहीँ एमालेले सरकारको समर्थन छाड्दा लगानीकर्ता अत्तालिएका थिए। गठबन्धनमा निजी क्षेत्रको उत्साह पनि त्यति देखिँदैन। विशेषगरी अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वय एमाले हुँदा राम्रै थियो। जुन नयाँ गठबन्धनले गुमाउने त्रास लगानीकर्तामा छ।
सेयर मूल्य बढ्दा त्यति नकिनेका लगानीकर्ता आज घट्दा भने बेच्न आतुर छन्। बिहीबार ५० अंकको वृद्धिमा भएको किनबेचलाई आइतबारको गिरावटले उछिनेको छ। बिहीबारभन्दा झन्डै १० करोड रुपैयाँ बढी कारोबार भएको छ। कुल १ अर्ब ६६ करोड रकमको सेयर किनबेच भएको छ।