सेबोनले चेतावनी दिएपछि राधिको सेयर मूल्य ७६.५% घट्यो, शिवम् सिमेन्ट झन्डै ७२% ओर्लियो

बिजमाण्डू
२०७९ फागुन २५ गते ०९:५८ | Mar 9, 2023
सेबोनले चेतावनी दिएपछि राधिको  सेयर मूल्य ७६.५% घट्यो, शिवम् सिमेन्ट झन्डै ७२% ओर्लियो


काठमाडौं। धितोपत्र बोर्डले जोखिमयुक्त भनेर औंल्याएको बिन्दुबाट लगभग सबै कम्पनीको सेयर मूल्य घटेको छ। ५१ कम्पनीका सेयर मूल्यमा भारी गिरावट देखिएको छ।

Tata
GBIME
NLIC

राधि जलविद्युतको सेयर मूल्य साढे ७६ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै शिवम् सिमेन्टको सेयर मूल्यमा झन्डै ७२ प्रतिशतको गिरावट देखिन्छ।  

कोभिडसँगै उकालो लागेको सेयर बजारले तीन हजार विन्दुलाई पार गर्दैगर्दा धितोपत्र बोर्डले सूचीकृतमध्येका अत्यधिक जोखिमयुक्त भनेर दाबी गरेको ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा यस्तो गिरावट देखिन्छ। यो दौरान सेयर बजार पनि करिब १०७४ अंक घटिसकेको छ।

यी कम्पनीको मूल्य बोर्डले जोखिमयुक्त भनेको भरमा भन्दा पनि समग्र बजार नै ओरालो लागेका कारण घटेको देखिन्छ। किनभने राम्रा कम्पनीको सेयर मूल्य पनि उल्लेख्य दरले घटेको छ।

बोर्डले जोखिमयुक्त भन्दा बजार तरंगित भएको थियो। आलोचना पनि भएका थिए। ‘उत्तेजित बजारमा सजगतापूर्ण लगानी गर्ने, सचेतना दिने हाम्रो अभिप्राय थियो,’ धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले बिजमाण्डूसँग भने, ‘विश्लेषण र विचार गरेर बजारमा लगानी गर्न सुझाएका थियौं।’ बोर्डको सो नसिहत तत्कालिन बजारमा निकै आलोचित बने पनि अहिले भने पुष्टि भएको उनी ठान्छन्।

अस्वाभाविक वृद्धिको परिणाम तत्कालिन बुलिस चक्रमा प्रतिसेयर नेटवर्थ समेत २९.४१ रुपैयाँ ऋणात्मक भएको खानीखोला हाइड्रोपावरको सेयर मूल्य २७५ रुपैयाँमा उक्लिसकेको थियो। एक रुपैयाँ पनि आम्दानी नगरेको १७८१.८२ गुणा नकारात्मक मूल्य आम्दानी अनुपात भएको माथिल्लो तामाकोसीको सेयर मूल्य ७८४ पुगेको थियो। 

आधारभूत पक्षले समर्थन नगरेका जम्माजम्मी ५१ यस्ता कम्पनी बोर्डले जोखिमयुक्तको सूचीमा राखेको थियो। बोर्डका अनुसार कमजोर व्यवसायका बाबजुद यी कम्पनीहरुको सेयर मूल्यले ३०० प्रतिशतभन्दा बढीको फड्को मारिरहेका थिए।

व्यवसाय राम्रै गर्ने हिमालयन डिष्टिलरी जस्ता स्टक पनि अत्यधिक लोकप्रियता र मागका कारण करिब ५५ सयनजिक पुगेको थियो। जुन विन्दुबाट मंगलबारसम्म आइपुग्दा करिब ६३ प्रतिशत मूल्य घटिसकेको छ। 

बोर्डले विज्ञप्ति निकालेको दिनसँग तुलना गर्दा औसत ४४.५४ प्रतिशतका दरले कम्पनीका सेयर मूल्य घटेका छन्। जुन अवधिमा १२ प्रतिशतदेखि लिएर झन्डै ७७ प्रतिशतसम्मको मूल्य लगानीकर्ताले गुमाएका हुन्। योसँगै लगानीकर्ताको खर्बौको पुँजी बजारबाट मेटिएको हो।

यही भयावह अवस्थाको पूर्वानुमान गर्दै धितोपत्र बोर्डले सो विज्ञप्ति जारी गरेको गिरीले बताए। यद्यपि बोर्डले आफ्ना निर्णय बारे समीक्षामा भने ध्यान नदिएको देखिन्छ। ‘बजारको अवस्था बारे लगानीकर्तालाई सजग गराइराख्‍नुपर्ने धितोपत्र नियामकको दायित्व समेत हो,’ गिरीले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासमा पनि यस्ता चलन पाइन्छन्। कम्तिमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको त्रैमासिक अथवा अर्ध-वार्षिक विश्‍लेषणलाई निरन्तरता बोर्डले दिनु जरुरी छ।’

समीक्षा नहुँदा बोर्डले स्वेच्छिक निर्णय लिने गरेको लगानीकर्ताको पनि गुनासो छ। ‘लगानीकर्तालाई सजग बनाउने नभइ बजारको लयलाई नै प्रभाव पार्ने निर्णय नियोजित देखिएको थियो,’ एक लगानीकर्ताले भने, ‘वित्तीय साक्षरतालाई प्राथमिकता दिने नै औचित्य हो भने आफ्ना कार्य प्रति बोर्ड सजक भने जरुरी छ।’