स्वास्थ्य बीमामा को-पेमेन्ट लागु गर्ने तयारी, बोर्ड भन्छ- ‘अतिरिक्त सेवालाई थप शुल्क’

सरला सुवेदी
२०७९ फागुन २० गते १४:११ | Mar 4, 2023
स्वास्थ्य बीमामा को-पेमेन्ट लागु गर्ने तयारी, बोर्ड भन्छ- ‘अतिरिक्त सेवालाई थप शुल्क’

काठमाडौं। स्वास्थ्य बीमामार्फतको उपचार सेवामा को-पेमेन्ट प्रणाली लागु गर्न स्वास्थ्य बीमाले बोर्ड तयारी गरिरहेको छ। ठुला अस्पतालहरुले आवश्यक नभए पनि बीमा कार्डवाहकहरुको भीड बढ्यो भन्दै नियन्त्रणका लागि बोर्डमा गुनासो गरेपछि नयाँ प्रणाली लागु गर्ने तयारी भएको हो।

Tata
GBIME
Nepal Life

हाल बीमितले उपचार सेवा लिँदै आएका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा यो प्रणाली लागु गर्न लागेको बोर्डले जनाएको छ।

सरकारले उपलब्ध गराएको एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवाको सुविधामा नयाँ कार्यक्रमअन्तर्गत बीमितले रकम थपेर लिन सक्ने बोर्डले जनाएको छ। सेवा प्रणालीमा सहजीकरण गर्न को-पेमेन्ट लागु गर्ने तयारी भइरहेको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भु प्रसाद ज्ञवालीले बताए।

‘बोर्डले पहिलपटक यो कार्यक्रम संचालन गर्ने तयारी गरेको हो। यसका लागि सम्बन्धित निकायहरुसँग छलफल भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य बीमा अन्तर्गतको सबै सेवा प्रदायक संस्थाहरुमा र बिरामीका लागि भने यो प्रणाली लागु हुँदैन। सीमित अस्पताल र सीमित संख्याका बीमितका लागि यो कार्यक्रम कार्यान्वयन गर्ने तयारी हो।’

स्वास्थ्य बीमा बोर्डले नीति तथा कार्यक्रममा भएको कार्यक्रमलाई नै लागु गर्न खोजेको प्रवक्ता ज्ञवालीले बताए। ‘को-पेमेन्टमा बीमितहरुले केही प्रतिशत रकम तिरेर उपचार सेवा लिन सक्छन्। केही उपचारहरुका लागि स्वास्थ्य बीमा गरेका बीमितले १० प्रतिशत थप रकम खर्च गरेर सेवा लिन सक्ने यो कार्यक्रम हो,’ उनले भने।

बीमितले उपचार सेवाको अवस्था हेरेर को-पेमेन्टको सुविधा लिन सक्ने उनले बताए। ‘अतिआश्यक परेका बीमितहरुलाई यो नियम लागु हुँदैन,’ उनले भने, ‘बीमितको आर्थिक अवस्था, भुक्तानी गर्न सक्छन् कि सक्दैन्, अस्पताल भर्ना भएर गरिने केही उपचारहरुमा को-पेमेन्ट लागु हुने छ।’

बीमा कार्डवाहकका लागि निर्धारित सेवाबाहेकका अन्य उपचार सेवा लिन अस्पतालहरुमा जानेका हकमा भने को-पेमेन्ट लागु नहुने उनले बताए। ‘पछिल्लो समय बीमितहरुले आवश्यक नपरी फलोअपका लागि अस्पताल आउने, चिकित्सकहरुलाई बढी दुःख दिने हुन थालेपछि को-पेमेन्ट को व्यवस्था चाहिन्छ भन्ने भएको हो,’ उनले भने।

उनका अनुसार बीमा गरेको भन्दैमा जुनसुकै समय र स्वास्थ्य जाँच आवश्यक नहुँदा पनि बीमितहरुको भीड अस्पतालमा बढेको छ। खासगरी ठुला अस्पतालहरुमा को-पेमेन्ट लागु गर्ने योजना बोर्डको रहेको उनले बताए। ‘को-पेमेन्ट लागु गर्दा अनावश्यक झन्झटहरु घट्छ भन्ने अनुमान छ,’ उनले भने।

ठुला अस्पतालहरुले बोर्डलाई संस्थाहरुले को-पेमेन्ट लागु गर्न सुझाव दिएका छन्। छलफल अगाडि बढाएको बोर्ड को-पेमेन्ट सकेसम्म चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा ल्याउने तयारीमा छ।

बीमितलाई उपलब्ध गराएको सेवाबापत सरकारले दिनुपर्ने लामो समय बक्यौता राखेर बोर्डले काम गर्न अप्ठ्यारो पारेको भन्दै बेला बेलामा स्वास्थ्य संस्थाहरुले गुनासो गर्दै आएका छन्। त्यस्तो भुक्तानी नियमित भएरहेको बोर्डले जनाएको छ। दुई साता अघि मात्रै बोर्डले त्यस्तो बक्यौता रहेका मुलुकका ३ सय ३३ स्वास्थ्य संस्थालाई १ अर्ब ३२ करोड ६५ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ।

आर्थिक वर्ष २०७३ देखि कैलाली, बागलुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम मुलुकका ७५ जिल्ला पुगेको छ। बीमा गराउनेहरुको संख्या बढिरहँदा उपचार सेवालाई प्रभावकारी बनाउन भने बोर्डले अझै सकेको छैन। कार्ड लिएर उपचारार्थ जानेहरु अन्य बिरामीका तुलनामा स्वास्थ्य संस्थाको विभेदमा पर्ने गरेको गुनासो आउने गरेको छ।