
काठमाडौं। मर्जरमा गएका रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आगामी चैत ९ गतेदेखि सुरु हुने भएको छ। यसका लागि कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बिहीबार अन्तिम स्वीकृत दिएको हो।
प्राधिकरणको स्वीकृतिसँगै एकीकृत कारोबार थाल्ने मिति तोकिएको रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए। उनका अनुसार रिलायन्स र सानिमाले गरेका छुट्टाछुट्टै कारोबारलाई एकीकृत गर्न प्रक्रियाका केही कामहरु अझै बाँकी छन्।
‘प्राविधिक समस्याहरु आए मिति पछि पनि सर्न सक्छ। तर, हालका लागि चैत ९ गते एकीकृत कारोबार गर्ने समय निश्चित भएको छ,’ उनले भने।
मर्जरका लागि दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। १:१ को स्वाप अनुपातमा मर्जर भएका यी कम्पनीले फागुन १२ गते साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेका थिए।
हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। उक्त निर्देशन अनुसार मर्जरपछि चुक्ता पुग्न अझै ९० करोड रुपैयाँको जोहो गर्नुपर्ने हुन्छ।