
काठमाडौं। लघुवित्त कम्पनीहरुले आइपीओ जारी गर्दा देखाएको प्रक्षेपण र वास्तविकताबीच निकै अन्तर देखिएको छ।
सेयर बजारमा कुनै पनि कम्पनीले कमाउने नाफा-नोक्सान, प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थले मूल्यमा निकै महत्त्वपूर्ण अर्थ राख्छ। तसर्थ कम्पनीले लगानीकर्तालाई जुन कुराले प्रभावित बनाउँछ, त्यही कुरामा जोड दिएर प्रक्षेपण बनाएको देखिन्छ।
सेयर बजारको प्राथमिक बजारमा हेर्ने हो भने पनि लघुवित्त कम्पनीहरुको आइपीओमा २७ लाखसम्म लगानीकर्ताले आवेदन दिएका छन्। यो आकर्षण प्राथमिक बजारमा मात्र होइन दोस्रो बजारमा पनि उतिकै छ।
दोस्रो बजारमा सूचीकृत भएलगत्तै लघुवित्त कम्पनीहरुको सेयर मूल्यको वास्तविक मूल्य भन्दा निकै माथि जान्छ। जानकारहरुका अनुसार यस अवस्थामा शिक्षित लगानीकर्ताले लघुवित्तहरुले जारी गरेको प्रक्षेपणलाइ अध्ययन गरेर लगानी गर्छन्।
एक ब्रोकरले भने,’लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्दा त्यसको भविष्य हेर्छन्। कम्पनीको परफर्मेन्स हेरेर लगानी गर्ने लगानीकर्ताहरुका लागि प्रक्षेपण निकै महत्त्वपूर्ण हुन्छ।’
हालसम्म दोस्रो बजारमा सूचीकृत लघुवित्तहरुको संख्या ६० रहेको छ। गत आर्थिक वर्ष अर्थात २०७८/७९ मा नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासन तथा बिक्रीका लागि ८ वटा लघुवित्त कम्पनीहरुले अन्तिम स्वीकृति पाए। यी लघुवित्तहरुले सर्वसाधारणमा ४२ लाख ५ हजार ३३६ कित्ता आइपीओ निष्कासन तथा बिक्री गरी ४२ करोड ५ लाख ३३ हजार ६०० उठाएका छन्।

यस्तै चालु आर्थिक वर्षको हालसम्म चार वटा लघुवित्तले ८ लाख २६ हजार १३० कित्ता आइपीओ निष्कासन तथा बिक्री गरी ८ करोड २६ लाख रुपैयाँ उठाएका छन्।
तर, गत आर्थिक वर्षमा निष्कासनको अनुमति पाएर दोस्रो बजारमा कारोबार भइरहेका अधिकांश लघुवित्त कम्पनीहरुको वास्तविक विवरण प्रक्षेपणभन्दा निकै खराब छ।
नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष प्रकाशराज शर्माका अनुसार लघुवित्तमा भएको चौतर्फी अवरोधले सोचे अनुसारको काम गर्न नसक्दा प्रतिकूल अवस्था आएको हो।
‘प्रक्षेपणकै आधारमा लगानीकर्ताहरुले लगानीको निर्णय गर्ने हुन्। यो समयमा कम्पनीको नाफा यति हुन्छ, भ्यालु यति हुन्छ भनेर डिसिजन गरेका हुन्छन्। तर त्यही सूचना गलत भयो भने भोलि अन्य लगानीकर्तालाई पनि असर पर्छ,’ अध्यक्ष शर्माले भने,’तरलता अभाव र कोभिडका कारण लघुवित्तले सोचे अनुसार काम गर्न नसकेका हुन्।’
प्रक्षेपण र वास्तविक बीचको अन्तर
कुनै पनि कम्पनीले आइपीओ जारी गर्नु पूर्व करिब एक साता अघि नै आह्वान पत्र सार्वजनिक गर्छ। त्यसमा कम्पनीको वारेमा सम्पूर्ण कुराहरु उल्लेख गरिएको हुन्छ।
सो आह्वानपत्रमा प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ र नाफा नोक्सानको पनि वास्तविक र प्रक्षेपित विवरण उल्लेख गरिएको हुन्छ।
तर धेरै जसो लघुवित्तको वास्तविक वितवरण प्रक्षेपण भन्दा निकै नाजुक छ।
जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्कासन गर्दा चालु आर्थिक वर्षमा प्रति सेयर आम्दानी ८७.३३ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको थियो। तर, पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रति सेयर आम्दानी १६.०५ छ।
जुन प्रक्षेपण भन्दा ८१ प्रतिशतले कम हो। यस्तै यस लघुवित्तको प्रति सेयर नेटवर्थ पनि ३४६ छ। जुन प्रक्षेपण भन्दा ९.६६ प्रतिशतले कम हो।
तथ्यांक अनुसार गत आर्थिक वर्षदेखि हालसम्म आइपीओ जारी गरि वित्तीय विवरण सार्वजनिक गरेका सबैजसो लघुवित्तहरुको प्रति सेयर आम्दानी र नेटवर्थ प्रक्षेपण भन्दा निकै कम छ।

घट्दो सेयर मूल्य
कुनै पनि कम्पनीहरुले आइपीओ जारी गरेपछि नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार गर्न पाउँछन्। यसै अनुसार दोस्रो बजारमा सूचीकृत हुँदा कम्पनीको सेयरलाई नेप्सेले नै ओपनिङ रेन्ज प्रदान गर्छ। सोही मूल्यको आसपासमा रहेर सूचीकृत भएको कम्पनीको सेयर कारोबार खुल्छ।
दोस्रो बजारमा सूचीकृत हुने वित्तिकै लघुवित्त कम्पनीको सेयर मूल्यमा दैनिक जसो सर्किट नै लाग्छ। यसरी बढेर उच्चतम मूल्यमा पुगेका ८ लघुवित्तको सेयर मूल्य २५ देखि ५९ प्रतिशत सम्म घटेको छ।
ओपनिङ रेञ्जका आसपासमा रहेर प्रति कित्ता ७४८ रुपैयाँमा पहिलो कारोबार खुलेको नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य बढेर ३ हजार ७५९ रुपैयाँ सम्म पुग्यो। तर, हाल यस कम्पनीको सेयर मूल्य २ हजार ७९० रुपैयाँ छ। उच्चतम मूल्यका आधारमा यो मूल्य करिब २५.७८ प्रतिशतले घटेको हो।
यस्तै पहिलो कारोबार प्रति कित्ता ५०२ रुपैयाँमा खुलेको राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य बढेर करिब २ हजार अर्थात १ हजार ९३१ रुपैयाँ सम्म पुग्यो। हाल यो कम्पनीको सेयर मूल्य ७८३ रुपैयाँ छ। जुन सर्वाधिक बढेको मूल्यका आधारमा ५९.४५ प्रतिशतले कम हो।

बोर्डले के गर्छ ?
नियामक निकायहरुले सेयर बजारमा सूचीकृत कुनै पनि कम्पनीको वित्तीय विवरणमा त्यति धेरै चासो लिएको देखिदैन। कम्पनीहरुले प्रक्षेपण गर्ने वित्तीय विवरणको वास्तविकताभन्दा २० प्रतिशत तल वा माथि भए बोर्डलाई जवाफदेहिता बुझाउनु पर्छ।
सेयर बजारमा भर्खरै सूचीकृत भएका कुनै पनि लघुवित्त कम्पनीहरुको वित्तीय विवरण प्रक्षेपण अनुसारको छैन।
‘प्रक्षेपण र वास्तविकता बीच २० प्रतिशत फरक पर्यो भने वार्षिक प्रतिवेदनमा उल्लेख गर्नुपर्छ। प्रक्षेपण अनुसार किन प्रगति देखिएन भन्ने कुरा सर्वसाधारणमा जानकारी गराउनुपर्छ,’ बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने।