
काठमाडौं। बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पे क्यूआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्।
छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्ट नेपाल पे क्यूआरमा आबद्ध हुनुले नेपालमा क्यूआर भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टम प्रवर्द्धनमा थप मद्दत पुग्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले जनाएको छ।
एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ।
क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको एनसीएचएलले जनाएको छ।
हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायकमार्फत व्यवसायिक ग्राहकहरु नेपाल पे क्यूआरमा आबद्ध भएका छन्। १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको एनसीएचएलले जनाएको छ।