७ हजार रोजगारी कटौती गर्दै डिज्नी, सीइओ भन्छन् ‘व्यवसाय वृद्धिका लागि निर्णय’

बिजमाण्डू
२०७९ फागुन ७ गते ०९:३८ | Feb 19, 2023
७ हजार रोजगारी कटौती गर्दै डिज्नी, सीइओ भन्छन् ‘व्यवसाय वृद्धिका लागि निर्णय’


काठमाडौं। अमेरिकी मनोरञ्जन सामाग्री उत्पादक तथा प्रसारक कम्पनी डिज्नीले ७ हजार कर्मचारी घटाउने भएको छ। सञ्चालन खर्च घटाउन दबाब परेपछि व्यवस्थापनले यस्तो निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

डिज्नीका प्रमुख कार्यकारी बब इगरले ५.५ अर्ब अमेरिकी डलर लागत बचत गर्न र डिज्नी प्लस स्ट्रिमिङ सेवालाई नाफामूलक बनाउन सो कदम चालेको बताएका छन्।

ट्रयाकिङ साइट लेअफ्स डट एफवाईआइ अनुसार सन् २०२३ मा मात्रै ३१२ टेक कम्पनीहरूले लगभग एक लाख कर्मचारी कटौती गरिसकेका छन्। 

यो निर्णय इगरले गत नोभेम्बरमा कम्पनी फर्केपछिको पहिलो वित्तीय रिपोर्टहरू सार्वजनिक गरे लगत्तै लिएका हुन्।

उक्त वित्तीय तथ्यांकले डिज्नीको आम्दानीमा वृद्धि देखाए पनि सन् २०१९ मा डिज्नी प्लसको सुरुवातदेखि पहिलो पटक यसको सब्सक्राइबरहरूमा गिरावट  आएको छ।

‘कम्पनीलाई छरितो बनाउन चालेको कदमले हाम्रो स्ट्रिमिङ व्यवसायको लागि दिगो वृद्धि र नाफाको नेतृत्व गर्नेछ र भविष्यको अवरोध र विश्वव्यापी आर्थिक चुनौतीहरूको सामना गर्न पनि मद्दत गरेर हामीलाई राम्रो स्थितिमा पुर्‍याउनेछ, र हाम्रा सेयरधारकहरूको लागि मूल्य प्रदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ,’ इगरले भनेका छन्।

डिज्नीले गरेको उक्त घोषणासँगै आफ्नो विश्वव्यापी कार्यबलको ३.६ प्रतिशत कर्मचारी कटौती गर्दै छ।

 इगरले २०२२ को अन्तिम तीन महिनाको वित्तीय नतिजासँगै कम्पनी पुनर्संरचना गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

यस अवधिमा डिज्नीको आम्दानी ८ प्रतिशतले बढेर २३.५ अर्ब डलर पुगेको छ र खुद आम्दानी ११ प्रतिशतले बढेर १.३ अर्ब डलर पुगेको छ। यद्यपि, यस अवधिमा डिज्नी प्लसको सब्सक्राइबरहरू संख्या लगभग २४ लाखले घटेर १६१.८ मिलियन पुगेको छ।

इगरले सार्वजनिक गरेको योजनाले कम्पनीलाई तीन खण्डहरूमा पुनर्संरचना गर्नेछ। पहिलो, फिल्म, टिभी र स्ट्रिमिङसहित मनोरञ्जन युनिट, दोस्रो खेलकुद केन्द्रित इएसपीएन युनिट; र डिज्नी पार्क तथा उत्पादनहरू।

‘यस पुनर्संरचनाले हाम्रो सञ्चालनलाई कम लागतको र समन्वयको हिसाबले पनि राम्रो परिणाम दिनेछ,’ इगरले विश्लेषकहरूलाई भनेका छन्।

 इगरले फर्मबाट रिटायर भएको एक वर्ष नपुग्दै पछि डिज्नीको प्रमुख कार्यकारीको पदमा फर्किएका हुन्।

कम्पनीको सेयरको मूल्यमा लगातार गिरावट आएपछि र डिज्नी प्लस निरन्तर घाटामा गएपछि उनलाई कम्पनीको नेतृत्व गर्न फिर्ता ल्याइएको थियो।

यसअघि १५ वर्षसम्म डिज्नीको नेतृत्व गरेका इगरले फेब्रुअरी सन् २०२० मा प्रमुख कार्यकारीको पदभार ग्रहण गरेका बब चापेकको ठाउँमा आएका थिए।

डिज्नीको स्ट्रिमिङ व्यवसायले त्रैमासिक रूपमा १.५ अर्ब डलर घाटा गरेपछि चापेकलाई हटाइको थियो।डिज्नीमा फर्केको २४ घन्टा नपुग्दै, इगरले  व्यवसायमा ठूलो परिवर्तन गर्ने योजनामा ​रहेको बताए।(बीबीसीबाट साभार)