
काठमाडौं। खानेपानी क्षेत्रको सेवालाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ। दुई कम्पनीले प्रविधि आदानप्रदानमार्फत नेपाल-भारत खानेपानी क्षेत्रका समस्या समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्न सम्झौता भएको हो।
सम्झौता पत्रमा दियालोका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र जनजलका प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका छन्। सम्झौतापछि दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेसनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पत्ति व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न जनजललाई सहयोग गर्ने छ।
यस्तै, दियालोले जनजलको वाटर एटीएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउने दियालो टेक्नोलोजिजले जनाएको छ। साथै दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदानप्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेसनमा लैजाने सहमति पनि भएको छ।
यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आ-आफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरीय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको बताइएको छ।
नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ।
हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाइजेसन गरिसकेको दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो। करिब १० वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ।
त्यसैगरी जनजल प्रविधिमार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी भएको दियालो टेक्नोलोजिजले जनाएको छ। कम्पनीले भारतभर ८ सय भन्दा बढी वाटर एटीएम तथा वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्दै आएको छ। जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्ममार्फत निगरानी गरिने बताइएको छ।
कम्पनीको जनजल वाह (वाटर अन ह्वील) नामक नवीनतम् प्रविधिलाई भारत सरकारले सहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गर्ने बताइएको छ।