
काठमाडौं। बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागु हुने भएको छ। भोलि मंगलबारबाट नयाँ प्रणाली लागु हुनुअघि त्यसको परीक्षण गरिएको छ।
यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरमा भएको परीक्षणमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, मुख्यसचिव मुकुन्दप्रसाद निरौला लगायतले परीक्षणको स्थलगत अवलोकन गरेका छ्न्।
ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने घटना बढेपछि मन्त्री श्रेष्ठको पहलमा ७० प्रतिशत अंक आउँदा पनि सवारीचालक अनुमतिपत्रको सुरुवात हुने भएको हो।
७० प्रतिशतको व्यवस्थापनले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झन्झटलाई न्यूनीकरण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। बागमती प्रदेशमा भोलि फागुन २ बाट उक्त व्यवस्था लागु हुने छ।