मधेस प्रदेश राजधानीको मेडिकल कलेज ‘जानकी’ को रिभाइबल, मेडिकल हब बनाउने लक्ष्य

भावना शर्मा
२०७९ माघ २९ गते ०९:२० | Feb 12, 2023
मधेस प्रदेश राजधानीको मेडिकल कलेज ‘जानकी’ को रिभाइबल, मेडिकल हब बनाउने लक्ष्य


काठमाडौं। जानकी मेडिकल कलेज, मधेस प्रदेश राजधानी नजिकको मेडिकल कलेज। धनुषालाई मेडिकल हब बनाउने लक्ष्यका साथ खुलेको जानकी स्थापनाको केही वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल थियो।

Tata
GBIME
Nepal Life

धनुषाको रमदैयास्थित उक्त मेडिकल कलेजले त्यस क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको विस्तार हुनेमा स्थानीय ढुक्क थिए। २०६० सालदेखि एमबीबीएसको पढाइ सुरु भएको उक्त कलेजका कारण नै धेरै स्थानीयले रोजगारी पाएका थिए। तर, स्थापनाको पाँच वर्ष नबित्दै कलेज आन्तरिक विवादमा फस्यो।

पटक-पटक व्यवस्थापन परिवर्तन र कर्मचारीले पटक पटक आन्दोलन गर्दा पठनपाठन हुन नसक्नु जस्ता विविध कारण बीच जानकी जुन लक्ष्यका साथ खुलेको थियो त्यो सबै बिर्सिएर चरम राजनीति र विवादको थलो बन्यो। तर, जानकी मेडिकल कलेजलाई पुरानै लयमा फर्काउन र मेडिकल हब बनाउने उही पुरानै लक्ष्य पुरा गर्न केही वर्षदेखि नयाँ पुस्ताले यसको जिम्मेवारी लिएका छन्।

बिसं. २०७५ सालदेखि यो कलेजलाई संस्थापक सेयरधनीमध्येका एक ओपी पाण्डेले एकल स्वामित्वमा लिए। त्यसैबेला उनी गम्भीर स्वास्थ्य समस्यासँग पनि जुध्नु पर्‍यो। उनी उपचारका क्रममा रहेका बेला ओपीका जेठा छोरा श्रीप्रकाश पाण्डेले आफ्ना अन्य व्यावसायिक कार्य योजनाहरु थाती राखेर मेडिकल कलेज संचालनको जिम्मेवारी लिए।

भर्खर ३२ वर्षमा टेक्दै गरेका श्रीप्रकाश जानकीलाई ‘विद्यार्थीको पहिलो रोजाइको मेडिकल कलेज बनाउने’ तर्फ केन्द्रित छन्। पोहोर मात्रै उनलाई साथ दिन आइपुगिन् डा. प्रियंका शर्मा, जो पाण्डेकी जीवनसाथी मात्र नभई  मेडिकल कलेजकी डाइरेक्टर पनि हुन्। यी दुई युवा जानकी मेडिकल कलेजले बिगतमा गरेका गल्तीहरुलाई सच्याउनु र उत्कृष्ट कलेजका रुपमा स्थापित गर्नुलाई नै आफ्नो मिसन बनाएका छन्।

सबै कुरा सामान्य चलिरहेको भए श्री यतिबेला कुनै ठूलो ब्राण्ड वा संस्थाको ब्राण्डिङ वा स्ट्राटेजिक प्लानिङमा व्यस्त ‍रहन्थे। भारतमा व्यवस्थापनमा डिग्री सकेर त्यहाँका ठूला ब्राण्डको पीआर र मार्केटिङमा अढाई वर्ष काम गरेका उनले राजनीतिक दलका स्ट्राटेजी समेत बनाउन भ्याए।

भारतको आम आदमी पार्टी र कांग्रेस पार्टीका लागि स्ट्राटेजी बनाउने टिममा रहेका श्रीले नेपाल आइसकेपछि पनि तीनवटा पार्टीको स्ट्राटेजी बनाएका थिए। एउटा भिन्नै अनुभव बटुलिरहेका युवाले अचानक बिथोलिएको व्यवस्थापन भएको जानकी मेडिकल कलेज संचालनको जिम्मा पाए। अचानक आइपरेको यो परिस्थितिलाई अब उनले जीवनको लक्ष्यसँग जोडिइसकेका छन्।

जानकी मेडिकल कलेज स्थापनाको २० वर्ष पुरा भइसकेको छ। तर, सुरुवातको अवस्थामा राम्रो गरिरहेको कलेज बीचमा पुगेपछि समस्या उत्पन्न भएको परिस्थितिबारे श्री र प्रियंका दुवै परिचित छन्।

‘हामीले २०७५ साउनदेखि एक्लै चलाउन सुरु गरेका हौं। सुरुवातमा हामीले हामीले कर्मचारी र विद्यार्थीको समस्या समाधान गर्न लाग्यौं। हामी आउँदा कर्मचारीहरुको १८ महिनाको तलब दिन बाँकी रहेछ, त्यो क्लियर गर्‍यौं। बिस्तारै तलब नियमित गर्दै नयाँ विधिबाट अघि बढ्यौं। विवादका कारण कलेजमा पठनपाठन भइरहेको थिएन। न समयमा जाँच नै भइरहेको थियो। त्यसैले हामीले एकाडेमिकमा ध्यान दियौं। आन्तरिक परीक्षाहरु समयमा गर्न थाल्यौं,’ जानकी कलेजका प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका श्रीले भने।

चार वर्षयता जानकीमा उत्साहित हुनुपर्ने गरीको परिवर्तन देखिन्छ। रमदैयामा ७० हजार स्क्वायर फिटको नयाँ हस्पिटल ब्लक बनेको छ। मेडिकल काउन्सिलको मापदण्ड अनुसार तयार पारिएको उक्त भवनमा नयाँ ओपिडी र इमर्जेन्सी विभाग छ। पोष्ट ग्रयाजुएसनका रेडिजेन्सहरुका लागि पूर्वाधार विकास गर्दै नयाँ इमर्जेन्सी खुलेको हो।

सर्जरी, हाडजोर्नी र प्रसूतिका लागि नयाँ वार्ड पनि तयार भइसकेको छ। हाल ४० बेडको नयाँ आइसीयू र पोष्टअप वार्ड निर्माण भइरहेको डा. प्रियंकाले बताइन्।  

कलेजमा एमबीबीएस मात्र नभई पोष्ट ग्रयाजुयसनका लागि पनि पूर्वाधार तयार छ। यहाँ सर्जरी र इमरजेन्सी मेडिसनमा पोस्ट ग्रयाजुयसनको पढाइ समेत हुन थालेको  उनले जानकारी दिइन्।

उनी भन्छिन्-‘पुरानो भवन २० वर्ष पुरानो थियो। त्यसैले हामीले सबै पूर्वाधारहरुलाई नयाँ ढंगबाट बनाउन लागेका हौं। एकैपटक पाँचवटा नयाँ अपरेसन थिएटर बन्दैछ, जुन काठमाडौंमा रहेका भन्दा कुनै पनि हिसाबले कम हुँदैन। यहाँ आउने बिरामीहरुलाई अन्त रेफर गर्न नपर्ने गरी हामीले पूर्वाधार विकास गरिरहेका छौं।’  

नयाँ हस्पिटल ब्लक बनाउन बिगत एक वर्षमा ३० करोड लगानी भइसकेको छ। अब पाँचवटा नयाँ अपरेसन थियटर र आइसीयूको लागि उपकरणसमेत गर्दा ५ देखि ८ करोड लगानी हुने श्रीले जानकारी दिए। जति बढी लगानी गर्‍यो उति नै बढी सेवा बिस्तार गर्न सकिने भएकाले लगानी चरणबद्ध रुपमा बढाउँदै जाने उनको भनाइ छ।

अबको पाँच वर्षमा हस्पिटलमा १ अर्ब रुपैयाँ लगानी गरिसक्ने योजनामा उनीहरु छन्। ‘एकैपटक भन्दा फेजवाइज लगानी गर्दै जानेछौं। अबको पाँच वर्षमा थप ७० देखि ८० करोड रुपैयाँ हुन्छ। हाम्रो लगानी १ अर्ब माथि पुग्छ।’– श्रीले वित्तीय रणनीति सुनाए।

मेडिकल कलेजलाई चुस्त बनाउन पाण्डे परिवारै लागिरहेको छ। अध्यक्ष ओपी पाण्डे आफ्नो अनुभव नयाँ पुस्तालाई बाँडिरहेका छन् गल्तीहरुबाट जोगिन सिकाइरहेका छन् र नयाँ पुस्ता नयाँ ऊर्जाका साथ अघि बढिरहेका छन्। व्यवस्थापनमा पुराना अनुभवीका साथै नयाँ पुस्ता हुनुपर्छ भन्ने लागेरै उनीहरुले आफ्नो काममा सघाउने टिममा पनि नयाँ स्टाफहरु ल्याएका छन् जसमा अधिकांश युवा नै छन्।

‘बुवा सुरुमै हुनुहुन्थ्यो बीचमा बाहिरिनुभयो। तर कलेजको अवस्था निकै बिग्रेपछि फेरि एकल स्वामित्वका साथ रि-इन्ट्री गर्नुभयो। जुन बुवाको लागि मात्र नभई मेरा लागि पनि ठूलो च्यालेन्ज हो। दोस्रो पुस्ताले यो चुनौतीलाई काँध थापेको छ। केही वर्षमै हामी यसलाई गर्व गर्न लायक अवस्थामा पुर्‍याउँछौं।’- श्रीले सुनाए।

२०७५ सालमा एकल स्वामित्व लिएपछि पाण्डे परिवारले रमदैयाको परिसरमै नयाँ अस्पताल ब्लक बनाउने योजनामा काम थाल्यो। सबै पूर्वाधारहरु एकै ठाउँ विकास गर्ने र बिग्रेको ब्यालेन्स सिटलाई सच्याउनका लागि उनीहरुले जनकपुरमा रहेको अर्को प्रोपर्टी सिटी नर्सिङ होम बिक्री गर्ने निर्णय गरे। यसबाट ऋण भुक्तानीमा सहज हुनाका साथै मेडिकल कलेजको नयाँ पूर्वाधारलाई पनि सघाउ पुग्ने उनीहरुको आकलन थियो। त्यसै अनुसार काम अघि बढ्यो।

तर, कोभिड महामारीका कारण दुई वर्ष फेरि ‘ब्याक-लक’ भयो। श्री त्यो समयलाई यसरी सम्झन्छन्-‘हामीलाई मात्र होइन सबैलाई प्रभावित बनाएको समय हो। त्यसबेला हाम्रो आर्जन त भएन। तर त्यो बेला हामीले कुनै पनि कर्मचारी र डाक्टरहरुलाई सरप्लसबाट निकालेनौं। कसैको तलब कटौती भएन। ढिला भयो त्यो अहिलेसम्म देखिन्छ तर हामी बिस्तारै त्यो क्लियर गरिरहेका छौं।’

उनका अनुसार कलेजको स्वामित्व लिँदाको समयमा देखिएको ऋण धेरै कम भइसकेको छ।  पठनपाठन नभएपछि विद्यार्थीले तिर्न बाँकी रहेको पुरानो फी उठाउन पनि सुरुमा उनीहरुलाई निकै समस्या भयो। तर, म्यानेजमेन्टमा मास्टर्स गरेका श्री र उनको टिमले राम्रो ‘कम्युकेसन’ थाल्यो। लचिलो भएर अभिभावकहरुसमक्ष गयो। त्यसले उनीहरुको बैंकिङ समस्याहरुलाई समाधान गर्ने बाटोतर्फ नै अग्रसर गराएको उनी बताउँछन्।   

‘हामीले केही सम्पत्ति पनि बेच्यौं। संचालन खर्चलाई ६० देखि ७० प्रतिशत घटायौं। रहेको पैसा हामीले उपकरण तथा भुक्तानीहरुमै खर्च गर्यौं र बिस्तारै स्ट्रिमलाइन गर्‍यौं।’- श्रीका अनुसार कलेज अब बिस्तारै सकारात्मक लयतर्फ नै अघि बढिरहेको छ। सिटी नर्सिङ होम र कलेज दुवै हुँदा पठनपाठन एकै ठाउँमा फोकस भएन भन्ने गुनासो पनि अब हटेको छ। उनीहरुले सिटीकै बेड क्षमताको हस्पिटल रमदैयामा तयार पारिसकेका छन्। बाँडिएर हेर्नुपर्ने अवस्था नआओस् र रमदैयामै केन्द्रित रहेर पूर्वाधार विकास गर्न सकियोस् भनेर उनीहरुले सिटी नर्सिङ होम बिक्री गरेको सुनाए।

‘तर परियोजनाभन्दा धेरै ऋण भएको भनिन थालियो। ऋणमा डुबेकैले सम्पत्ति बेचेको भन्नेहरु पनि आए। तर त्यो इस्यु नै होइन। हामी राम्रो अवस्थातर्फ छौं। अस्पताल राम्रो भए कलेज स्वत: राम्रो हुन्छ भन्ने सोचेरै एकै ठाउँमा लक्षित भएको हो। सिटी नर्सिङ होम बेच्नु एकैतिर काम गर्न घर सरेको जस्तो मात्र हो ऋणले डुबेर बेचेको होइन।’- उनले बताए।

श्रीका अनुसार रमदैयामा बनेको अहिलेको अस्पताल काठमाडौंमा रहेका कुनै हस्पिटलको तुलनामा कम छैन। पुरानो बिल्डिङमा नभएका क्याबिन, अक्सिन पाइपहरुका साथै अत्याधुनिक उपकरण तथा सुविधाहरु नयाँमा थपेको उनले जानकारी दिए।  

हाल कलेजमा एमबीबीए पढाइका लागि ५० जनाको कोटा छ। तर उनीहरु सिट संख्या बढाएर एक सय पुर्‍याउने लक्ष्यका साथ अघि बढेका छन्। त्यसका लागि आवश्यक पूर्वाधार तयार भइसकेको उनीहरुको दाबी छ। राम्रो शैक्षिक गुणस्तर कायम गर्ने तथा पास प्रतिशतमा सुधार ल्याउनका लागि राम्रो फ्याकल्टी बढाउन उनीहरुले सुरु गरिसकेको बताए।

डा प्रियंका भन्छिन् -‘हामी पुरानो हो तर यसपछि खुलेका भन्दा पनि यसैमा सुधार गर्न जरुरी भइदियो। किनभने बीचमा धेरै समस्याहरु यसैमा देखियो। फेरि टेकओभर गरिसकेपछि हामीले यहाँ हस्पिटल वा मेडिकल कलेज चलाउने मात्र नभइ सिंगो प्रदेशकै गौरवका रुपमा स्थापित हुने लक्ष्य राखेका हौं।’

‘प्लस टु सकेपछि लगातार १०, १२ वर्षको पढाई यही होस्। त्यसकालागि विद्यार्थीलाई राम्रो वातावरण दिन सकौं। स्टाफलाई पैसा बाहेक पनि केही पाइरहेको छु भन्ने सेवाभाव र सन्तुष्टि मिलोस्। यो संस्थालाई सबैले आफ्नै जस्तो महसुस गरुन्। समस्या आइपरे सँगै बसेर समाधान गर्ने अवस्था बनोस् भन्ने हाम्रो सोच हो,’ उनले भनिन्।

सुरुवातमा ११ ब्याचसम्म राम्ररी चलेको जानकी १२ ब्याचमा पुगेपछि कसरी ठूलो विवादमा फस्न पुग्यो सम्झँदा श्री खिन्न पनि हुन्छन्। उनी त्यसबेला विद्यार्थी नै थिए। बुवा ओपीले विवाद बढेपछि आफ्नो सेयर बेचेर बाहिरिए।  त्यसपछि पनि लगातार ४ वटा व्यवस्थापन बदलियो बेथितिमा सुधार आएन। जनकपुरका र रमदैयाका अग्रजहरुले पनि ‘तपाई नै आएर चलाउँदा पो राम्रो होला कि’ भनेर सकारात्मक अपेक्षा गरिरहने भएकाले नै पाण्डे परिवारले यो फेरि चुनौती स्वीकार्ने निर्णय गरेको श्रीले बताए।

संस्थागत रुपमा पनि राम्रो रहेको कलेज बिग्रिँदै जानुमा श्री पुरानो व्यवस्थापनमा सधैंजसो बोर्ड सदस्यहरु बीचको मतान्तरलाई दोष दिन्छन्। ‘एकथरीले रि इन्भेष्ट गरौं अर्को उचाईमा लैजाओ भन्ने  अर्को थरी यसैमा सीमित रहौं भन्ने। सधैं विवाद हुने भएपछि बुवा बाहिरिनुभयो। तर त्यसपछिका बिभिन्न व्यवस्थापनले पनि समस्या समाधान गर्न सकेन झन् बढी समस्या उत्पन्न भयो। अन्त्यमा फेरि हामीले लियौं तर अब हामी एकल स्वामित्वमै चलाउँछौं,’ उनी भन्छन्, ‘धेरै साझेदार हुँदाको समस्या बुवाले बुझ्नुभएको छ। त्यसैले बुवाले एक्लै यो चुनौती स्वीकार्ने निर्णय गर्नुभएको हो। अनि मैले बुवालाई साथ दिने निर्णय गरें।’

जानकी मेडिकल कलेजका अध्यक्ष ओपी काठमाडौंको केएमसी मेडिकल कलेजका पनि साझेदार मध्येका हुन्। उनी २० वर्षदेखि स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा छन्। श्रीको शब्दमा भन्नुपर्दा ओपी शान्त छन्, सुल्झिएका छन्, अनि उत्तिकै अनुभवी पनि। त्यसैले उनीहरु केही समस्या आइपरे जतिसुकै बेला पनि बुवाको गाइडेन्स माग्छन्।

श्री र प्रियंकाले जानकीको दैनिक संचालन हेर्ने गर्छन्। उनीहरुले नयाँ टिमका साथ एकाडेमिकतर्फ पनि सुधारको छनक दिइसकेका छन्। पाटन एकेडेमीका पूर्व भाइस चान्सलर  डा. जयनारायण शाह हाल जानकी मेडिकल कलेजका प्रिन्सिपल छन्। यस्तै डा. धर्मदत्त सुवेदी नयाँ हस्पिटल डाइरेक्टरका रुपमा आएका छन्। साप्ताहिक रुपमा बोर्ड बैठक बस्छ, जसले आइपर्ने समस्याहरु समयमै समाधानको उपाय खोजिहाल्छ।

बिगत ८ महिनादेखि हस्पिटलले निःशुल्क ओपीडीको सुविधा दिन सुरु गरेको छ। मधेसका पिछडिएका बस्ती र गाउँहरुमा गएर हेल्थ क्याम्पहरु संचालन गर्ने र ल्याबको जाँचहरुमा पनि आधा नै सस्तो गरिदिएर सर्वसाधारणलाई अस्पतालसम्म आउने वातावरण उनीहरुले बनाइदिएका छन्। ओपिडीमा जाँच निःशुल्क गरिदिँदा बिरामी कुरुवाहरु निकै लाभान्वित भएको उनीहरुको बुझाइ छ।

श्री र प्रियंकाले कलेजका लागि अल्पकालीन र दीर्घकालीन रणनीति पनि तयार पारिसकेका छन्। उनीहरु मानव संसाधन र शैक्षिक कार्यतालिका दुवै पाटोमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्।

डा प्रियंका कलेजको रणनीतिक मुभबारे भन्छिन्-‘मेडिकल कलेज चलाउन एक त एकाडेमिक पार्ट चाहिन्छ दोस्रो हस्पिटल र बलियो व्यवस्थापन। यो तीनवटै खुट्टा दह्रोसँग टेक्न सक्यो भने कलेज राम्ररी चल्छ। व्यवस्थापन पक्षबाट हामीले नयाँ टिम ल्याएर सेम वेभलेन्थमा काम गर्ने जनशक्ति ल्याएका छौं। पुरानो जेनरेसनलाई हाम्रो कन्सेप्ट बुझाउन गारो छ। तर, हामीले उही वेभलेन्थमा बलियो टिम बनाइसकेका छौं। एकाडेमिक पाटोमा हामीले राम्रा डाक्टरहरु रिक्रुट गर्ने थालिसकेका छौं। विद्यार्थीलाई कुनै किसिमको इस्यु आउनै नदिने गरी राम्रो वातावरण बनाउँछौं। कलेज र हस्पिटल सँगै हामीले बिरामीलाई यहाँबाट अन्त रिफर गर्नै नपर्ने गरी पूर्वाधार विकास गर्दैछौं।’

सीमाक्षेत्र भएकाले हस्पिटलले भारतीय बिरामी तथा कलेजमा भारतीय विद्यार्थीलाई पनि आफ्नो ‘टार्गेट’ बनाएको छ। अस्पतालमा आधारभूत सेवा मात्र नभई आइसीयू, मृगौला रोगीका लागि डायलासिस, ल्याप्रोस्कोपिक सर्जरीदेखि लिएर न्यूरो सर्जरीसम्मको तयारी भएको उनले बताइन्। केही समयमै अस्पतालमा न्यूरो सर्जरी सुरु हुन लागेको छ। बिस्तारै न्यूरो सर्जरी तथा मुटु रोगसम्बन्धि उपचारका लागि क्याथल्याब प्रविधिसहित राखेर पूर्वाधार विकास गरिरहेको उनले जानकारी दिइन्।

जानकी मेडिकल कलेजलाई सीमा पारीका भारतीय सर्वसाधारणलाई लक्षित गरी मेडिकल टुरिजम हबका रुपमा  विकास गरिरहेको श्रीले बताए।

उनी भन्छन्-‘हामी चरणबद्ध सुधारको रणनीति अनुसार अघि बढिरहेका छौं। अबको ५ देखि ६ वर्षको अन्त्यमा यो ठाउँ मेडिकल टुरिजम् हबकै रुपमा विकास हुनेछ। किनभने एक सय किलोमिटरको रेडियसमा बोर्डर छ। त्यहाँ नजिकै हाम्रो अस्पतालको लेभलको उपचार छैन। उनीहरुलाई त्यहाँबाट दुई सय किलोमिटर पर पटना वा दरभंगा जानुभन्दा नेपाल आउन सजिलो छ। मेडिकल पढ्नका लागि त्यसक्षेत्रका विद्यार्थीहरु पनि यहाँ आउन सक्छन्। हामी उनीहरुलाई तान्ने गरी नै पूर्वाधार विकास गरिरहेका छौं।’