एकैदिन ६ नेपाली फिल्म, रोक्न खोज्दा निर्माता भन्छन् : तपाईँको पैसा जाने होइन

बिजमाण्डू
२०७९ माघ २७ गते ०८:५१ | Feb 10, 2023
एकैदिन ६ नेपाली फिल्म, रोक्न खोज्दा निर्माता भन्छन् : तपाईँको पैसा जाने होइन

काठमाडौं। आगामी वैशाख १ गतेको लागि ६ वटा फिल्महरुले प्रदर्शन मिति तय गरिसकेका छन्। सुरुमा ‘भगवत् गीता’ ले वैशाख १ को लागि प्रदर्शन मिति ‘फिक्स’ गरेको थियो। त्यसपछि सोही दिन ‘रिलिज डेट’ घोषणा गरे फिल्म ‘जारी’, ‘नाइँ नभन्नु ल-६’, ‘प्रसाद-२’, ‘बिहे पास’ र ‘बुलाकी’ले।

Tata
GBIME
Nepal Life

यी फिल्म मध्ये छायाङ्कन सुरु नै नभएको ‘भगवत् गीता’ सोही मितिमा रिलिज हुने सम्भावना कम छ। दयाहाङ् राईको मुख्य भूमिका रहेका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ भने वैशाख १ मा नै एकआपसमा भिड्दैछन।

एकैदिन आफ्नै मुख्य भूमिका रहेका दुइटा फिल्म जुध्नुलाई अस्वभाविक भएको बताउँछन् अभिनेता दयाहाङ राई। ‘जारी’ र ‘बिहे पास’ एकै मितिमा जुध्न लागेको कुरा पहिले नै आफूलाई जानकारी नभएको दाबी गर्छन् उनी।

राईले भने,‘मलाई दुबै फिल्मको एउटै डेट होला भन्नेबारे थाहा थिएन। निर्माताहरुले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ। खै उहाँहरुले के कारण जुधाउनु भयो थाहा छैन। एकै दिन पाँच/छ फिल्म त्यसमाथि आफ्नै दुइटा फिल्म रिलिज हुनु अस्वभाविक लागिरहेको छ। यसबारे निर्मातासँग छलफल गर्छौं।’

कोरोना महामारीपछि फिल्म उद्योग पुरानो लयमा फर्किन सकिरहेको छैन। यो वर्ष चर्चित सिरिज ‘कबड्डी ४’ ले बक्सअफिसमा सर्वाधिक ‘कलेक्सन’ गरेता पनि फिल्म उद्योग पूर्णरुपमा तंग्रिन सकेको छैन। पछिल्लो तीनमहिना नेपाली फिल्महरुको ‘पर्फर्मेन्स’ले यही पुष्टि गर्छ।

तीनमहिना यता हलमा बहुप्रतिक्षित मानिएका फिल्महरु समेत रिलिज भए। जसमा पर्छन् आर्यन सिग्देल र उपासना सिंह ठकुरीको ‘डिसेम्बर फल्स’ देखि प्रियंका कार्की अभिनित ‘चि मुसी चि’ र साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्काको ‘तिम्रो मेरो साथ’ सम्म। तर, कुनै पनि कलाकारको ‘स्टारडम’ ले दर्शकलाई भने तान्न सकेन। हलमा फिल्मलाई तीन/चार दिन टिक्न समेत गाह्रो भयो।

कात्तिक ११ गते रिलिज भएको प्रदीप भट्टराईको ‘महापुरुष’ पछि कुनै पनि नेपाली फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेका छैनन्। बरु त्यसबिच प्रदर्शन भएका हलिउड फिल्म ‘अवतार: वे अफ वाटर’ र बलिउड फिल्म ‘पठान’ ले दर्शकको ओइरो लगाइदियो। अहिले हलमा जितु नेपाल र साम्राज्ञी अभिनित ‘ह्यारीकी प्यारी’ प्रदर्शनरत छ। समीक्षात्मक हिसाबले कमजोर यस फिल्ममा पनि दर्शकको उपस्थिति उत्साहजनक छैन।

नेपाली फिल्मले दर्शक तान्न नसिरहेको अवस्थामा नयाँ वर्षको दिन ६-६ वटा फिल्म एकसाथ रिलिज गर्ने ध्याउन्नमा छन् निर्माताहरु। हुनत एउटै मितिमा फिल्म जुधाउनु नौलो ‘ट्रेन्ड’ भने होइन। तर, कोरोना महामारीपछि विस्तारै बामे सर्दै गरेको, तर दर्शकको अपेक्षामा खडा हुन नसकिरहेको बेला एकै दिन आधा दर्जन फिल्मले ‘डेट’ फिक्स गर्नु भने पक्कै शुभ संकेत होइन।

आगामी फागुन ५ लागि यसअघि ‘फूलबारी’, ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले ‘रिलिज डेट’ तोके। सो दिन फिल्म ‘फूलबारी’ प्रदर्शन हुने पक्का भए पनि अरु रिलिज हुने छाँटकाँट नै छैन। त्यसपछि निर्माताहरुको आँखा पर्‍यो फागुन १९ मा। शनिवार अनि फागुपुर्णिमा (होली) को तीनदिन बिदा भएपछि यो मितिमा ‘रिलिज डेट’ तोक्न लोभिए उनीहरु।

सोही दिनको लागि ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ सहित ‘परस्त्री’, ‘बुलाकी’, ‘वर एन्ड बधु’ ले प्रदर्शन मिति तोकेका छन्। तर, दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ र अनमोल केसी ‘छड्के २’ बिच टक्कर हुने पक्का भएपछि अरु फिल्म ‘पोस्टपोन्ड’ भए। एकै दिन प्रदर्शन तोक्न हतारो गर्ने, फेरि भागाभाग गर्ने शैली अहिले नेपाली फिल्म उद्योगको नयाँ ‘ट्रेन्ड’ जस्तै बनेको छ।

फिल्म जुधाउने पुरानै रोग

एकै मितिमा धेरै फिल्म जुधाउनुलाई अस्वस्थ प्रतिस्पर्धाको संज्ञा दिन्छन् चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का। फिल्म क्षेत्रमा मौलाएको यो परम्पराले आफूलाई चिन्तित बनाएको उनले बताए।

‘कुनै चाडपर्व आउँदा चार/पाँच फिल्म लाग्ने जुन अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ यसले निकै चिन्तित बनाएको छ। एउटा/दुईटा सम्म त ठिकै हो। तर, त्यो भन्दा बढी जुध्नु राम्रो होइन,’उनले भने, ‘यसै त विदेशी फिल्महरुले हामीलाई आच्छु आच्छु पारेको छ। विदेशी फिल्मको दबदबा सहनु पर्ने बाध्यतामा छौं हामी। त्यसमाथि राम्रा फिल्महरु जुध्दा नेपाली निर्माताहरुलाई नै घाटा हुन्छ।’

उनले फिल्म जुधाउने नेपाली निर्माताहरुको पुरानो रोग भएको बताउँदै फिल्म नजुधाउन आफूले पटक पटक निर्माताहरुलाई आग्रह गरेको दाबी गरे।

‘निर्माताहरुलाई एकै समयमा नजुधाउनु भनेर पटकपटक भनेका छौँ। तर उहाँहरु नै चाडपर्वमा केही हुँदैन, जसको राम्रो छ त्यसको चल्छ भन्नुहुन्छ। यस विषयलाई सामान्य रुपमा लिएपछि यो प्रवृति हाबी भएको हो। वितरकहरु पनि झन् उसको फिल्मभन्दा हाम्रो के कम छ भन्नुहुन्छ। जसले गर्दा निर्माताहरु डुब्नुहुन्छ।’

फिल्म जुधाउने प्रथा हटाउनको लागि निर्माताहरुले नै समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरे खड्काले। उनले यस्तो समस्या समाधानको खोजीमा लाग्ने पनि बताए। आफूहरु निर्माताका समस्याका बारेमा आवाज उठाइरहेको बताउँदै उनले सरकारले पनि कडा नीतिनियम बनाउनुपर्ने माग राखे।

त्यस्तै, वितरक सुनील मानन्धर पनि एकैदिन फिल्म जुधाउने पुरानो रोग भएको बताउँछन्। निर्माताहरु बिचको अस्वस्थ प्रतिस्पर्धाका कारण एकै दिन रिलिज मिति तोक्ने परम्परा बसेको उनको बुझाई छ।

‘फिल्मको डेट फिक्स गर्ने निर्माताले नै हो। हामीहरुले त्यो डेटमा अर्को फिल्म छ भन्दा उहाँहरु मतलब नै गर्नुहुन्न। ‘ह्या लगाइदिनुहोस् न! तपाईको पैसा जाने होइन’ भन्नुहुन्छ। उहाँहरुले भने अनुसार हामी पनि फिल्म एकैदिन लगाउन बाध्य हुन्छौँ,’ मानन्धरले भने।  

एकै दिन फिल्म जुधाएर बिदाको मौकामा निर्माताले दर्शक झुक्याउने काम गरेको उनको आरोप छ।

‘खासमा बिदामा बाहेक फिल्म चल्दैन भनेर उहाँहरु त्यस्तै दिन रोज्नुहुन्छ। राम्रा फिल्म बनाउनुहुन्न अनि बिदाको मौका पाएर दर्शक झुकाउने काम गर्नुहुन्छ। एकैदिन धेरै फिल्म आउनु भनेको एउटै थालमा चारजनाले भात खाएजस्तो हो। उस्तै त अहिले हलमा दर्शक छैनन त्यसमाथि चार/पाँच फिल्म जुधाउनु गलत हो। निश्चित नियम नहुँदा यो समस्या भोग्नुपरेको छ।’

यस विषयमा निर्देशक तथा निर्माता अशोक शर्माको भने फरक मत छ। सुरुमा एकैदिन धेरै फिल्मले रिलिज डेट तोके पनि पछि भने सर्ने गरेको उनी सुनाउँछन्। तर, एकै मितिमा धेरै फिल्म रिलिज हुँदा निर्मातालाई घाटा हुने स्वीकार्छन् उनी।

‘चाडपर्व र बिदामा बढी बिजनेस हुने भएकाले सबैले त्यस्तै डेटमा आउन खोज्नु अस्वभाविक हो। सुरुमा एकै मितिको लागि फिल्म घोषणा भए पनि रिलिज हुँदा सम्म सर्ने नै हुन्छ। कुनै मात्रै नमिल्दा जुधेको देखिन्छ। यद्यपि, एकैदिन धेरै फिल्म रिलिज हुनु राम्रो होइन। यसलै निर्मातालाई नै ठूलो घाटा हुन्छ,’ उनले भने।

फिल्म निर्माताले रिलिज मिति तय गर्ने हुँदा सबैले एकअर्कासँग सल्लाह गरेर अगाडि बढ्नुपर्ने उनले सुझाए।