‘रिङरोडमा फोरजी एलटीइ देखाउँछ, तर डाइभर्ट हुनेबित्तिकै ‘इ’ देखाउँछ,’ एनटीए अध्यक्ष

बिजमाण्डू
२०७९ माघ २३ गते ०७:०८ | Feb 6, 2023
‘रिङरोडमा फोरजी एलटीइ देखाउँछ, तर डाइभर्ट हुनेबित्तिकै ‘इ’ देखाउँछ,’ एनटीए अध्यक्ष

विशेषत सेवा महँगो भयो, गुणस्तरीय भएन, सेवाको उपलब्धता छैन भन्ने जस्तो गुनासो छन्। नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को हकमा सर्वसुलभरुपमा सेवा उपलब्ध गराउने कार्यको अलावा नेपाल सरकारले महत्व दिएर अघि बढाएको डिजिटल नेपाल निर्माणको अवधारणा पूरा गर्ने चुनौतीसमेत थपिएको छ।

Tata
GBIME
Nepal Life

सूचना महामार्ग विस्तार गरी डिजिटल नेपालको परिकल्पना साकार गर्न ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ) को प्रयोग गरी नेपाल सरकारले प्रदेश नं १, मधेस र बागमती प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत सूचना महामार्ग अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने जिम्मा दिएपनि परियोजना निर्माण पूरा गर्न नेपाल टेलिकम चुकेको जस्तो लागेको छ। परियोजना निर्माणमा भइरहेको ढिलाइले यो कुरालाई थप पुष्टि गर्छ।

बागमती प्रदेशअन्तर्गको काम सुरु गर्नै सकेको छैन। दुई वर्षसम्म काम सुरु हुन सक्दैन? ठेकेदारहरुलाई कारबाही गर्न सकिँदैन। प्राधिकरणले तपाईंहरुलाई लेखेर पठाएको छ, अब म्याद थपिँदैन, थप गर्नुपर्ने कारण के हो, त्यसको जवाफ तपाईंहरुले दिन उचित ठान्नु भएको छैन। जवाफ दिनुपर्दैन? कामै नगर्ने ठेकेदारहरुलाई हामीले यत्रो वर्ष त्यसै बस्न दिने हो? 

त्यसैगरी, राज्यबाट फोरजी नेटवर्क विस्तारको जुन कार्ययोजना तयार गरिएको थियो, ७३९ वटा स्थानीय तहहरुमा फोरजी सेवा पुग्यो भनेर टेलिकमले भनेको छ। त्यसमा खुसी लागेको छ। यद्यपि काठमाडौंको रिङरोड भित्र सबै ठाउँमा फोरजी सेवा छ भनेर कम्पनीले भन्न सक्छ? रिङरोड भित्र फोरजी एलटीइ देखाउँछ, हामी अलिकति डाइभर्ट हुनेबित्तिकै ‘इ’ देखाउँछ। हामी चुकिरहेका छौं। गुणस्तरीय सेवा दिएनौं भने यही सेवा लिइदिनुपर्छ भन्ने अवस्थामा छौं? कम्पनीले वैज्ञानिक रुपमा यस समस्याबारे आवश्यक अध्ययन गरेर सुधार गर्दै जानुपर्छ।

यस्तै, फाइभजी तर्फ जान चाहन्छु। मैले त आशा गरेको थिएँ। टेलिकमका प्रबन्ध निर्देशकज्यूले फाइभजी पनि आज वार्षिकोत्सवको अवसरमा उद्घाटन गर्नु हुन्छ भन्ने थियो। प्राधिकरणले यो विषयमा पटकपटक सोधेको छ। नेपाल सरकारले फ्रिक्‍वेन्सी नि:शुल्क दिएको छ। त्यसको एउटै आशा र सर्त थियो। प्रयोगकर्ताहरुले फाइभजी उपयोग गर्न पाउँछन् भनेर। कताकता यो टेक्निकल टेस्ट हो कि, के हामी दुईवटा बीटीएस टावर राखेर गर्न आटेका हौं? दूरसंचार प्राधिकरणले त्यो सोचेको छैन।

कम्तिमा रिङरोड भित्रको मान्छेले फाइभजी टेस्ट गर्न पाउँछ कि? तपाईंलाई फिडब्याक दिन पाउँछ कि? फाइभजी तपाईंको टेक्निकल टेस्ट मात्रै हो र? इन्डस्ट्री रेडि छ कि छैन फाइभजीको लागि? हामी उपभोक्ताहरुले फाइभजी एक्सपेरियन्स कसरी गर्छौं, यता तर्फ गम्भीर हुन म अनुरोध गर्छु।

पछिल्लो समय पटकपटक टेलिकमको सेवा अवरुद्ध भइरहेको छ। यसले उपभोक्ताहरुमा टेलिकमको सेवा प्रति ह्रास आएको महशुस गरेका छन्। नियामक निकायको प्रमुखको रुपमा मैले पनि यो महशुस गरेको छु। विशेषत भेन्डरसँग गरिने सम्झौताका प्रावधानहरु मैले हेरें। जब तपाईंहरुको सेवा अवरुद्ध हुन्छ तपाईंहरुको टिममै बसेर हेरें। ती सम्झौताका बुँदा तथा प्रावधानहरु तपाईंहरुले रिभ्यू गरेर हेर्नु भएको छ?

नेपाल टेलिकमले नेपालमा कति घण्टासम्म सेवा अवरुद्ध हुन पाउँछ भनेर सोचेको छ? कति दिनसम्म? त्यस्ता प्रावधानहरुलाई तत्काल सुधार गर्न म कम्पनीको ध्यानाकर्षण गराउँछु। सेवा पूर्ण क्षमतामा सुचारु (रिज्युम) हुन सक्नेलाई पनि घण्टौंसम्म समय दिइएको छ। कम्पनीलाई यसप्रति जिम्मेवार बनाउनुपर्ने होइन? जो सेवा अवरुद्धबाट प्रभावित भए उनीहरुलाई क्षतिपूर्ति र जिम्मेवारलाई जरिवाना गराउनुपर्ने होइन र? त्यता पनि कम्पनी चुकेको छ।

त्यसैगरी, टेलिकमले दूरसंचार पूर्वाधार सहप्रयोगमा त्यति ध्यान पुर्‍याएको देखिँदैन। 

कम्पनीको आम्दानी सिफ्ट भएर गइरहेको छ। तीन वर्षअघिको आम्दानी तपाईंको मात्रै होइन सबै अपरेटरहरुको घटेको छ। तर, कहाँ घटेको छ। युजर बढेको बढ्यै छ, मोबाइलको ग्राहक बढेकै छ, पहुँच बढेकै छ, डेटा प्रयोगकर्ता पनि बढेकै छन् तर आम्दानी भने घटिरहेको छ। खोजीको विषय छ। अन्य आम्दानीको स्रोतहरु के हुन सक्छन् पहिल्याउनुपर्छ। 

जस्तै ब्याकबोन नेटवर्क निर्माण गर्न नियामक र सरकारले तपाईंहरुलाई जिम्मा लगाएको छ। नेटवर्क बनाएर सेयर नगर्ने सर्तमा तपाईंहरुलाई जिम्मा लगाएको होइन। आजको दिनसम्म हामीले पटकपटक अनुरोध गरेका छौं। तपाईंहरुले कुन एरियामा पूर्वाधार सेयरिङ गर्न सक्षम छौं भनेर अफर सार्वजनिक गर्नु भएको छ। अब पनि आम्दानीका अन्य स्रोतमा डाइभर्ट नहुने? यसमा ध्यान दिनुपर्छ। तपाईंहरुको पूर्वाधार भएको क्षेत्रमा अर्को सोही प्रकृतिको नेटवर्कमा लगानी गर्ने अवस्था नदिनुस्। बनाउन नदिनुस्। बनाउने अवस्था आयो भने फेरि सेतो हात्तीको रुपमा परिणत हुन्छ।

सहरमा तार अव्यवस्थित छ। नियामक, सेवा प्रदायक, संचार मन्त्रालयदेखि कसैलाई पनि यसले सहजता दिएको छैन। दुई वर्षअघि १५ वटा सहरमा पाइलटिङको रुपमा तार व्यवस्थापन गर्न नेपाल टेलिकमलाई जिम्मा दिने भनेर मन्त्रिपरिषद्‍बाट निर्णय भयो। प्राधिकरणले आर्थिक स्रोत छुट्यायो। सेयरिङ संयन्त्र भन्ने बित्तिकै हामी डराउँदा रहेछौं। त्यही भएर हामी ‘फेल’ भयौं। सेयरिङ गर्ने संस्कृतिमा हामीमा छैन। हामीलाई पूर्वाधार कम्पनी स्थापना गरेर सेयरिङमा जान हतार भइसकेको छ। यसमा टेलिकम तयार हुनुपर्छ।

(नेपाल टेलिकमको १९औं वार्षिकोत्सवमा दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिएको मन्तव्यको सम्पादित अंश)