नेपालमा पुनः उडान सुरु गर्न एयर एसियाको कुटनीतिक पहल, एक महिनामा टुंगो लाग्ने

बिजमाण्डू
२०७९ माघ १७ गते १३:३३ | Jan 31, 2023
नेपालमा पुनः उडान सुरु गर्न एयर एसियाको कुटनीतिक पहल, एक महिनामा टुंगो लाग्ने


काठमाडौं। करिब ४ वर्ष अगाडिदेखि उडान बन्द गरेको मलेसियाको मल्टिनेशनल लो कस्ट एयरलाइन्स एयर एसियाले नेपाल तर्फ पुनः उडानका लागि कुटनीतिक प्रक्रिया सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

यो वायुसेवा कम्पनीको पुनः उडान संचालनका लागि नेपालका लागि मलेसियन राजदुत र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच फेब्रुअरीमा औपचारिक छलफल हुन लागेको नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘फेब्रुअरी पहिलो सातामा नेपालका लागि मलेसियन राजदुत, एयर एसियाका प्रतिनिधी र प्राधिकरणका महानिर्देशकसँग छलफलका लागि पत्राचार आएको छ। यो छलफल परराष्ट्र मन्त्रालयमै गरिने पत्राचार आएको छ,’ सूचना अधिकारी भुलले भने।

अबको छलफलको आधारमा कम्पनीलाई पुनः नियमित उडान गर्न दिने/नदिने निश्चित गरिने उनले जानकारी दिए।  

सात महिनाअघि एयर एसियाकै भगिनी कम्पनी थाइ एयर एसियाको नियमित उडान प्रक्रिया सुरु गरेको थियो। तर यो कम्पनी र नागरिक उड्डयन प्राधिकरणबीच सिधा सम्पर्क भएपनि प्रक्रिया अघि बढ्न सकेको थिएन।

कम्पनीले त्यतिखेर विमानस्थल सेवाशुल्क वापत तिर्न बाँकी १८ करोड रुपैयाँ किस्तामा तिर्दै जाने जनाएको थियो। तर यसका लागि नेपालका लागि नयाँ आधिकारिक टिकट बिक्रेता कम्पनी ‘जिएसए’ इच्छुक नरहेपछि प्रक्रिया लम्बिएको थियो।

करिब चार वर्ष अगाडि यो कम्पनीले साताको सात उडान गर्दै आएको थियो।

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै श्रम गन्तव्य खुला भएपछि यो कम्पनीले नेपालतर्फ नियमित उडान सेवा दिने योजना अगाडि बढाएको छ।

हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, जजिरा एयरलाइन्स, कतार एयरवेज, मलेसियन एयरलाइन्स, फ्लाइ दुबई, मालिन्दो लगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले मलेसिया नियमित उडान सेवा दिँदै आएका छन्।