ब्राण्ड सूत्र २ : ब्राण्डिङको पञ्चतत्व, उजय शाक्यको विचार

बिजमाण्डू
२०७९ माघ १७ गते १३:२२ | Jan 31, 2023
ब्राण्ड सूत्र २ : ब्राण्डिङको पञ्चतत्व, उजय शाक्यको विचार

बजार प्रवर्द्धकहरुका बीच सधैं एउटै कुरामा बहस हुने गरेको छ। उत्पादन वा सेवाहरुलाई दृश्यात्मक रुपमा मात्र प्रस्तुत गर्नु पर्याप्त हुन्छ कि हुँदैन? धेरैको विश्वास यो छ कि उनीहरुको ब्राण्डको नाम र लोगोले नै अन्यभन्दा भिन्न दर्शाउने भएकोले त्यत्ति नै पर्याप्त हुन्छ।

Tata
GBIME
Nepal Life

आजकल हामीमध्ये धेरैले ब्राण्डहरुको लागि पूर्ण अनुभूति प्रदान गर्ने पक्षमा बहस गर्दै आएका छौं। त्यसैले धेरैजसो प्रमुख मानिएका ब्राण्डहरुले विश्वभरका साथै नेपालमा समेत विभिन्न खाले प्रयोगात्मक बजार प्रवर्द्धक रणनीतिहरुमा आफूहरुलाई संलग्न गराएर उपभोक्ताहरुका लागि एक अविस्मरणीय अनुभूति सिर्जना गरिरहेका छन्।

यसैको एक उदाहरण हो ब्राण्डिङको पञ्चतत्व। ‘पञ्चतत्व’ खासमा संस्कृतबाट आएको शब्द हो, जसले पाँच त्यस्ता तत्वहरुको बारेमा वर्णन गर्दछ, जसको कारणले यो ब्रम्हाण्ड चलेको छ। यस अर्थमा, हामीले यसलाई ब्राण्डिङको पाँच इन्द्रियहरुसँग जोडेर हेरेका छौं। एउटा पूर्ण ब्राण्डिङ अपिल भनेको पाँच इन्द्रियहरु प्रयुक्त भएको एक समीश्रण हो, ती हुन् दृष्टि, ध्वनि, गन्ध, स्पर्श र स्वाद।

पाँच इन्द्रिय मानव स्पर्श विन्दु हुन्। जब तपाईले त्यसलाई ब्राण्ड स्पर्श विन्दु बनाउनु हुन्छ, तपाईंका ब्राण्ड अनुभूति अधिक सान्दर्भिक र स्मरणीय बन्न जानेछ। कसरी हामीले भिन्न इन्द्रिय अपिललाई ब्राण्डसँग जोडेर हेर्ने उदाहरणहरु उल्लेख गरेको छौं।

१.दृश्यः

दृश्य हरेक ब्राण्डिङको एक बलियो शस्त्र हो। यो विशिष्ट खालको हुनु जरुरी हुन्छ। यसले तपाईको ब्राण्डको फरक पहिचान बनाउन मदत गर्दछ। यो लोगो र संकेत चिन्हमा मात्र होइन तपाईको कार्यालय, शाखा कार्यालयमा समेत एकरुपता झल्किनु पर्दछ। बैंक र तिनका सबै शाखाहरुमा पनि आन्तरिक सजावटलाई एक समान कायम राखेका हुन्छन्। यसैगरी फ्रेन्चाइज रेष्टुरेन्टहरु जस्तै डल्ले र हिमालयन जाभाले पनि यो कुरा अभ्यास गरिरहेका छन्।

२.ध्वनिः

धेरैजसो ब्राण्डहरुले यसलाई उनीहरुको विज्ञापनमा स्मरणीय जिंगल वा सिग्नेचर टोनको रुपमा प्रयोग गर्ने गरेका छन्। सिग्नेचर टोनले सबै विज्ञापनहरुलाई सोनिक ब्राण्डिङबाट अन्त्य गरिएको हुन्छ। अर्ना बियरले निर्माण गरेको गीत ‘चिसो चिसो पानी झरनाको’ पछिल्लो समय अत्यन्त लोकप्रिय भएर टिकटक तथा अन्य सामाजिक संजालमा युवाहरुले रुचाउँदै आएका छन्।

३. गन्धः

धेरैजसो पर्फ्युम र डियोडोरेन्ट ब्राण्डहरुले तिनीहरुको ब्राण्ड अपिल निर्माण गर्न सुगन्ध प्रयोग गर्ने गर्दछन्। साबुन र स्याम्पूहरुले पनि एक प्रकारको विशिष्ट सुगन्ध प्रयोग गरेर आफ्ना ग्राहकहरुमा अलग्गै छाप छोडेका छन्। यसरीनै तपाईले कुनै व्यापारिक मेलामा आफ्नो स्टलमा प्राकृतिक अनुभूति दिलाउनको निम्ति पनि यसको प्रयोग गर्न सकिन्छ।

४. स्पर्शः

प्रायजसो उच्च मूल्यका फ्रेब्रिक्सलाई स्पर्श गरेरै नै थाहा पाउने गरी ब्राण्डिङ अपिल कायम गरेका हुन्छन्। स्लिपसपिङ म्याट्रेसका ब्राण्डहरुको सफलता तिनको स्पर्श र त्यसको अनुभवमा नै निर्भर रहेको हुन्छ। सकारात्मक अनुभूति नै ब्राण्ड प्रतिको समर्पण हो। धेरै ब्राण्डहरुले हिजोआज अनुभूति अभिवृद्धि गर्न विभिन्न ठाउँहरुमा अभ्यासयुक्त बजार प्रवर्द्धन उपायहरु अपनाइरहेका छन्।

५. स्वादः

अधिकांश खाद्य सामग्रीका ब्राण्डहरुका लागि स्वाद नै सबैभन्दा महत्वपूर्ण तत्व हो। उदाहरणका लागि वाइवाइको स्वादलाई लिन सकिन्छ, जुन अधिकांश नेपालीहरुमाझ छुट्टै छाप छोड्न सफल भएको छ। यसैगरि हिमालयन जाभाको कफीमा पाइने विशिष्ट स्वाद अन्य कफीको तुलनामा एकदमै भिन्न  । त्यस्तै डल्ले म:म:को कुनैपनि फ्रान्चाइजिको स्वादमा पनि एकरुपता छ।

तसर्थ, जब तपाईको ब्राण्डिङको कुरा आउँछ, पाँच मानव इन्द्रियहरुको मिश्रण अथवा भनौं ब्राण्डिङको पञ्चतत्वको प्रयोग गर्ने सन्दर्भमा सोच्नुहोस्। अतः मानवीय सम्बन्ध बनाउन र तपाईंको ब्राण्डको धारणामा थप बल पुर्‍याउन तपाईसँग ५ उपायहरु अर्थात् पञ्चतत्वहरु भएको विषयलाई नभुल्नुहोस्।