
काठमाडौं। ११ दिन अघि पोखरामा भएको विमान दुर्घटनापछि यती एयरलाइन्सको उडान ४८ प्रतिशतले घटेको छ। माघ १ गते यती एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटना हुँदा चालक दलसहित ७२ जनाको निधन भएको थियो।
त्यो दुर्घटनापछि यतीको उडान संख्या दैनिक १३ वटामा झरेको छ। दुर्घटना अघि यतीले दैनिक २५ वटा उडान गर्दै आएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनापछि सबै आन्तरिक उडानमा यात्रु कम छन्। यात्रु घटेपछि सबैले उडान कटौती गरेका छन्।
कार्यालयका अनुसार बुद्ध एयरले समेत उडान कटौती गरेर ६० वटामा झारेको छ। यसअघि बुद्धको दैनिक ७५ वटा उडान हुँदै आएको थियो। कम्पनीको उडान संख्या २० प्रतिशतले घटेको छ।

यतीपछि सबैभन्दा बढी श्री एयरलाइन्सको उडान कटौती भएको छ। टर्बोप्रोप र जेट जहाज चलाउँदै आएको श्रीले यात्रु कम भएपछि उडान संख्या ३५ प्रतिशतले घटेको छ। दुर्घटना अघि श्रीको दैनिक २० वटा उडान हुँदै आएकोमा अहिले घटेर १३ वटा मात्रै हुन थालेको छ।
जेट इन्जिन जहाजमार्फत उडान भर्दै आएको सौर्य एयरलाइन्सको पनि २५ प्रतिशतले उडान कटौती गरेको छ। दुर्घटना अघि दैनिक ८ वटा उडान गर्दै आएको सौर्यको अहिले दैनिक ६ वटा मात्रै उडान भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि मनोवैज्ञानिक दबाबका कारण यात्रु कम भएको हुनसक्ने बताए। ‘दुर्घटनापछि मानसिक दबाबका कारण जहाजको यात्रा गर्ने कम भएका हुनसक्छन्। त्योसँगै अफसिजन र मौसम प्रतिकूलताको पनि केही असर हुनसक्छ,’ उनले बिजमाण्डूसँग भने।
वायुसेवा कम्पनीको उडान संख्या
वायुसेवा कम्पनी | सामान्यतया उडान संख्या | हाल उडान संख्या | गिरावट दर |
बुद्ध एयर | ७५ | ६० | २०% |
यती एयरलाइन्स | २५ | १३ | ४८% |
श्री एयरलाइन्स | २० | १३ | ३५% |
सौर्य एयरलाइन्स | ८ | ६ | २५% |
गुण एयरलाइन्स | ५ | ५ | ०% |
कुल | १३३ | ९७ | २७% |
यता अन्तर्राष्ट्रियतर्फ भने दैनिक ४० वटा उडान हुँदै आएको छ। उक्त संख्यामा भने घटबढ नभएको उनले जानकारी दिए।