क्रिप्टो फर्म एफटिएक्सका मालिकले आरोप अस्वीकार गरे, दोषी देखिए १०० वर्ष जेल सजाय 

बिजमाण्डू
२०७९ पुष २१ गते १५:४४ | Jan 5, 2023
क्रिप्टो फर्म एफटिएक्सका मालिकले आरोप अस्वीकार गरे, दोषी देखिए १०० वर्ष जेल सजाय 

कुनै समय क्रिप्टो किङ भनेर चिनिएका साम ब्यांकम्यान फ्राइडले आफूमाथि लागेको सबै आरोप अस्विकार गरेका छन्। धरासायी भएको क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटिएक्सका पूर्व मालिकमाथि आफ्ना ग्राहक तथा लगानीकर्ताहरूलाई धोका दिइ उनीहरुको पैसाको दुरुपयोग गरेको आरोप छ।

Tata
GBIME
Nepal Life

साम ब्यांकम्यानले अमेरिकी अदालतमा आफ्नो अर्को फर्म, अल्मेडा रिसर्चलाई लगानी गर्न, सम्पत्ति किन्न र राजनीतिक चन्दा दिन एफटिएक्समा रहेको आफ्ना ग्राहकहरूको निक्षेप चलाएको भन्दै अदालतमा मुद्दा चलिरहेको छ। 

साम ब्यांकम्यानले ग्राहकलाई धोका दिने आफ्नो उद्देश्य कहिल्यै पनि नरहेको बताएका छन्। तर उनले आरोप अस्वीकार गरेपनि उनका दुई नजिकका सहकर्मीहरूले पहिले नै आफ्नो दोष स्वीकार गरिसकेका छन्। उनीहरुले यसबारेको अनुसन्धानमा समेत सहयोग गरिरहेका छन्, जसले सम्पूर्ण क्रिप्टोकरेन्सी उद्योगलाई हल्लाएको छ।

उनी गत महिना गिरफ्तार भएपछि २५० मिलियन डलर धरौटीमा रिहा भएका थिए। उनी दोषी ठहर भएमा सय वर्षभन्दा बढी जेल सजाय भोग्नुपर्नेछ। अदालतले आगामी अक्टोबरका लागि सुनुवाइको मिति तोकेका छन्।

आफ्नो गिरफ्तारी अघिको अन्तर्वार्तामा ३० वर्षका पूर्व अर्बपति सामले आफ्नो असफलता स्वीकार गरेका थिए। साथै समस्याको प्रमुख कारकका रुपमा आफ्नो ‘त्रुटी’लाई औल्याएका थिए।

तर कानुनी कारवाही अघि बढ्दै गर्दा जाँदा साम ब्यांकम्यानले आफ्नो बोली फेरेका छन् जुन असामान्य पनि होइन।

सन् २०१९ मा एफटिएक्स स्थापना गर्ने साम ब्यांकम्यान क्रिप्टोकरेन्सी उद्योगमा सबैभन्दा उच्च-प्रोफाइल व्यक्तित्वहरू मध्ये एक थिए। उनी आफ्नो राजनीतिक सम्बन्ध, सेलिब्रेटी समर्थन र अन्य संघर्षरत फर्महरूका सहयोगीका रुपमा परिचित थिए।

तर गत नोभेम्बरमा, खराब बित्तीय रिपोर्टले ग्राहकहरु बाहिरिन थालेपछि एफटिएक्सलाई टाट पल्टिएको घोषणा गर्न र हराएको अरबौं डलर रकम सार्वजनिक गर्न बाध्य तुल्यायो।

उनीमाथि अलमेडाको ऋण तिर्न र अन्य लगानी गर्न एफटिएक्सका ग्राहक कोषको दुरुपयोग गरेको आरोप लागेको छ।

उनीमाथि धोखाधडी, मनी लन्ड्रिंग र क्यामपियन रकम दुरुपयोगसहित आठ अन्य आपराधिक आरोप छन्। वित्तीय नियामकहरूले पनि उनीविरुद्ध अन्य आरोपहरू लगाएका छन्।

साम ब्यांकम्यान गत  डिसेम्बरमा बहामासमा पक्राउ परेका थिए, जहाँ  एफटिएक्सको कार्यालय थियो।

उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो। त्यहाँबाट उनी २५० मिलियन डलरको जमानतमा रिहा भएका थिए। उनलाई विद्युतीय माध्यमबाट निगरानी गर्ने ब्रेसलेट लगाउनुपर्ने पर्ने र आफ्ना आमाबाबुको क्यालिफोर्नियाको घरभित्रै सिमित रहनु पर्ने सर्तमा रिहा गरिएको थियो। (बीबीसीबाट साभार)