एमडीएमएस पुस १५ देखि पूर्ण कार्यान्वयन हुने एनटीएको घोषणा, ‘त्यसपछि चल्दैनन् अवैध मोबाइल’

बिजमाण्डू
२०७९ पुष ९ गते ११:४९ | Dec 24, 2022
एमडीएमएस पुस १५ देखि पूर्ण कार्यान्वयन हुने एनटीएको घोषणा, ‘त्यसपछि चल्दैनन् अवैध मोबाइल’


काठमाडौं। मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मिति घोषणा गरेको छ।

Tata
GBIME
NLIC

परीक्षंण चरण भन्दै सिस्टम पूर्णरूपमा कार्यान्वयनमा ल्याउने मिति पछि सार्दै आएको प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेको छ। आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैध भित्रिएका मोबाइल नचल्नेगरी रोकिने जनाएको हो।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न प्राधिकरणले ल्याएको प्रणालीले प्रभावकारी काम गर्न सक्छ। तर, परीक्षणका लागि भन्दै गत असारदेखि नै पूर्णरूपमा कार्यान्वयन गर्न ढिला हुँदै आएको थियो।

विदेशबाट आउनेले निजी प्रयोगका लागि ल्याएर एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल प्रयोगकर्ताका लागि प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन आह्‍वान गरेको छ।

नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नहुने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिनेतर्फ पनि सचेत गराएको छ।

बजारबाट खरिद गर्नेलाई कुनै पनि मोबाइल सेट एमडीएमएसको प्रणालीमा दर्ता भए/नभएको हेरेर मात्रै लिन प्राधिकरणले अनुरोध गरेको छ। कारोबारीलाई आयातअघि प्राधिकरणको स्वीकृति अनिवार्य लिन र दर्ता भएका मोबाइल सेटको मात्रै कारोबार गर्न सूचनामार्फत सतर्क गराइएको छ।