
काठमाडौं। विद्युत उत्पादन कम्पनी लिमिटेडले ४५४ मेगावाटको किमाथांका-अरुण जलविद्युत आयोजना निर्माण अघि बढाउने भएको छ।
कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारिरहेको छ। यसका लागि शुक्रबार सूचना जारी गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए सात दिनभित्र लिखित/राय सुझाव पेस गर्न आग्रह गरेको छ।
आयोजना निर्माणस्थल संखुवासभाको भोटखोला गाउँपालिका-२ भई बग्ने अरुण नदीमा पहिचान भएको छ। यो अर्ध-जलाशय प्रकृतिको आयोजना हो।
विद्युतको अधिकतम माग हुने बेला संचालन गर्ने गरि निर्माण गर्न लागिएको हो। छुम्सुर गाउँनजिक अरुण नदीमा जगदेखि करिब १४० मिटर अग्लो बाँध बनाउने प्रारम्भिक डिजाइन आयोजनाको छ। सो बाँधका कारण अरुण नदीमा करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घनमिटर क्षमताको जलाशय बन्नेछ।
भोटखोला गाउँपालिका-२ लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी भन्ने ठाउँमा यसको विद्युत गृह रहने छ। आयोजनाका लागि ८.० मिटर व्यास भएको लगभग ५९१८ मिटर लामो भूमिगत हेडरेस सुरुङ बनाइने छ।
पानीको डिजाइन बहाव करिब १४३ घनमिटर प्रतिसेकेण्ड र करिब ३७९.५२ मिटरको कुल हेड प्रयोग गरि वार्षिक २६५५.१२ गिगावाट घण्टा वार्षिक सरदर विद्युत शक्ति उत्पादन हुनेछ।
विद्युतगृह भूमिगत हुनेछ। जसमा हेडरेस सुरुङबाट ल्याइएको पानीलाई ४ वटा टर्बाइनमा खसाली विद्युत उत्पादन गरिनेछ। विद्युत उत्पादन गरेपछि ७५१.०५ मिटर लम्बाइको टेलरेस टनेलमार्फत पानीलाई पुन: अरुण नदीमा नै खसालिनेछ।
आयोजनाको संरचना स्थलसम्म पुग्नका लागि २६.८ किमि पहुँचमार्ग निर्माण गरिनेछ। आयोजनाका अधिकांश संरचनाहरु मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन्।
यो आयोजना निर्माणका लागि ९२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। लगानीको मोडालिटी भने टुंग्याइएको छैन। सम्भाव्यता अध्यययन भइसकेको यो आयोजनाको इआइए नेपाल विद्युत प्राधिकरण मातहतको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले तयार पारिरहेको छ।
अहिले आयोजनास्थलमा अडिट टनेल खन्ने काम भइरहेको आयोजना प्रमुख हिरामान वाइबाले बताए। उनका अनुसार एक वर्षमा पूर्व तयारीका काम सकेर निर्माणमा जाने लक्ष्य छ।