हवाई भाडाको कार्टेलिङ अध्ययन गर्न क्यानलाई निर्देशन, क्यान भने औपचारिक पत्र कुर्दै

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ पुष ७ गते १७:४१ | Dec 22, 2022
हवाई भाडाको कार्टेलिङ अध्ययन गर्न क्यानलाई निर्देशन, क्यान भने औपचारिक पत्र कुर्दै

काठमाडौं। पर्यटन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको कार्टेलिङ अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। 

Tata
GBIME

आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री, सौर्यले आपसी मिलेमतोमा हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले  अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान गर्ने कम्पनीले कार्टेलिङ गरिरहेको सुचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको बताए।

'यो विषयमा जिम्मेवारी निकाय भनेकै प्राधिकरण हो। कार्टेलिङको विषयमा उठेको कुरा सम्वन्धी अध्ययन गर्न निर्देशन दिएका छौं,' उनले बिजमाण्डूसँग भने, 'कार्टेलिङ भएको पुष्टी भएमा कारवाही हुनेछ।'

उनले खुला बजार र उदार अर्थतन्त्रमा मिलेमतोमा भाडा निर्धारण गर्न नमिल्ने बताउँदै यस्तो क्रियाकलाप नियन्त्रणमा लाग्ने समेत स्पस्ट पारे। 'हामीले पनि संचारमाध्यममा समाचार आएपछि कार्टेलिङ थाहा पायौं। यदि सत्य हो भने खुला बजारमा यो गर्न पाइँदैन,' लामिछानेले भने, 'यो अक्षम्य पनि छ।'

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने औपचारिक पत्र नआएको भन्दै कार्टेलिङ अध्ययनबाट पन्छिएका छन्। 'हामीलाई कार्टेलिङका विषयमा अध्ययन गर्न कुनै पत्र आएको छैन। मलाई त्यस बारे जानकारी भएन,' उनले बिजमाण्डूसँग भने।

तर पर्यटन सचिव सुरेश अधिकारीले भने कार्टेलिङको अध्ययन गर्न महानिर्देशक अधिकारीलाई निर्देशन दिएको जिकिर गर्छन्। 'माननीय पर्यटनमन्त्री जीवनराम श्रेष्ठले महानिर्देशक अधिकारीलाई संचारमाध्यममा कार्टेलिङका बारेमा समाचार सम्प्रेषित भइरहेको छ। यो बारेमा अध्ययन गर्नुस् भनेर निर्देशन दिनुभएको हो,' उनले भने। 

आन्तरिक हवाई कम्पनीले गर्दै आएको कार्टेलिङको राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको छ। हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा कमिटी बनेको छ। त्यो कमिटीले महानिर्देशक अधिकारीसँग पनि छलफल गर्दैछ।

आयोगका तात्कालिन उपाध्यक्ष डा. विश्व पौडेलले सार्वजनिक यातायातको क्षेत्रमा भइरहेको सिन्डिकेट र कार्टेलिङको अध्ययन अघि बढाउँदै अध्ययनको जिम्मा फुयाललाई दिएका थिए।

मिलेमतोका आधारमा टिकट बिक्री गरेर कार्टेलिङको साम्राज्य खडा गरेको बताउँदै यो विषयलाई गम्भीर रूपमा लिएर अध्ययन अघि बढाइरहेको आयोगले जनाएको छ।

सरकारले तोकेको न्युनतम र अधिकतम भाडादरलाई आधार बनाएर वायुसेवा कम्पनीले कार्टेलिङ गरिरहेका छन्। अहिले कुनै पनि सेक्टरमा उडान गर्ने सबै कम्पनीको हवाई भाडा एउटै छ। विराटनगरमा उडान गर्ने बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सको भाडा ५ हजार रुपैयाँ रहेको छ।