शपथ खान चिटिक्क परेर संसद भवनमा नवनिर्वाचित सांसदहरु, यस्तो छ बानेश्वरको माहोल

बिजमाण्डू
२०७९ पुष ७ गते १३:०१ | Dec 22, 2022
शपथ खान चिटिक्क परेर संसद भवनमा नवनिर्वाचित सांसदहरु, यस्तो छ बानेश्वरको माहोल


काठमाडौं। प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ। दिउँसो १ बजेका लागि तोकिएको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरु चिटिक्क परेर संघीय संसद भवनमा आइपुगेका छन्।

Tata
GBIME

नवनिर्वाचित सांसदहरु कोही नेपाली पोशाकमा सजिएका छन् भने कोही जातीय पोशाकमा। सांसदहरु संघीय संसद भवनको प्रांगणमा बधाई साटासाट गर्दैछन् भने कोही फोटो सुटमा व्यस्त देखिन्छन्।

प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० सांसद छन्। त्यसैगरी जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक-एक सांसद छन्। यसै गरी, प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद हुनेछन्।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

शपथग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित उपस्थित हुन संघीय संसद् सचिवालयले आग्रह गरेको छ। राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भइदिनसमेत सचिवालयले आग्रह गरेको छ।

प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित संघीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।