नेप्सेले पुँजीकरण अनुसार कम्पनीको वर्गीकरण गर्दै, तीन श्रेणीका कम्पनीको इन्डेक्स हुने

विक्रम भट्टराई/बिजमाण्डू
२०७९ पुष ६ गते २०:३९ | Dec 21, 2022
नेप्सेले पुँजीकरण अनुसार कम्पनीको वर्गीकरण गर्दै, तीन श्रेणीका कम्पनीको इन्डेक्स हुने


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बेन्चमार्क इन्डेक्स नेप्से-५० सँगै पुँजीकरणको आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्ने तयारी थालेको छ। 

Tata
GBIME

नेप्सेले अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै सूचीकृत कम्पनीहरुलाई मार्केट क्याप अनुसार विभाजन गर्ने जनाएको हो। अहिले कम्पनीहरु एउटै डालोमा राखेर सूचीकरण हुने गरेका छन्।

सूचीकृत कम्पनीहरुको पुँजीकरण अनुसार तीनवटा प्रमुख शीर्षकमा छुट्याइदै छ। ‘लार्ज क्याप’, ‘मिड क्याप’ र ‘स्मल क्याप’ गरेर तीन श्रेणीमा कम्पनीहरुलाई वर्गीकरण गर्दा प्रभावशाली र बढी उतारचढाव प्रवृत्तिका सेयरहरु सहजै लगानीकर्ताले पहिचान गर्न सक्ने नेप्सेका सीइओ कृष्णबहादुर कार्कीले बताए।

उनका अनुसार लगानीकर्ताले स्वस्थ व्यवसायिक पक्ष एवं निरन्तर वृद्धि भइरहेका कम्पनीहरुको संकेत पाउन सजिलो हुनेछ। उच्च सेयर मूल्यले मात्र सधैं उत्कृष्ट कम्पनी हो भनेर चिन्न सकिँदैन। व्यवसायिक हिसाबले परिपक्क र क्रमशः बढ्दै गएका सेयरहरु चिनिनेछन्।

‘कार्यविधि अनुसार मापदण्ड तोक्ने योजना छ,’ उनले भने, ‘निर्माणाधीन कार्यविधि बोर्डमा पनि छलफल हुँदैछ। चाँडो निष्कर्षमा पुग्नेछ।’ सूचकांक सञ्चालन तथा व्यवस्थापन कार्यविधिमार्फत कम्पनीहरु वर्गीकरण गरिनेछन्। यसै कार्यविधिको अधीनमा रहेर नेप्सेले बेन्चमार्क इन्डेक्स ‘नेप्से-५०’ पनि लन्च गर्ने तयारी गरेको छ।

कार्यविधिमा उल्लेख गरिएको व्यवस्था अनुसार २५ अर्बभन्दा बढी बजार पुँजीकरण भएका कम्पनीहरुलाई ‘लार्ज क्याप’ स्टक इन्डेक्समा समावेश गरिनेछ। सूचीकृत मध्येका सर्वाधिक प्रभावशाली सेयर यसमा हुनेछन्। वाणिज्य बैंकहरु यो शीर्षकमा पर्ने देखिन्छन्। विशेषगरी सूचीकृत सेयर संख्या धेरै हुने कम्पनीहरुको बजार पुँजीकरण उच्च हुने गर्छ।

१० अर्बदेखि २५ अर्बसम्म पुँजीकरण भएका कम्पनी ‘मिड क्याप’ इन्डेक्समा हुनेछन्। २ अर्बदेखि १० अर्बसम्मलाई ‘स्मल क्याप’मा राखिँदैछ। २ अर्बभन्दा कम र २५ करोडभन्दा बढी पुँजीकरण भएका कम्पनी माइक्रो स्मल इन्डेक्समा समावेश गरिनेछन्।

नेप्सेले एमएसएमइको लागि छुट्टै इन्डेक्स नै निर्माण नगरे पनि आफूले स्वयं पहिचान गर्नका लागि माइक्रो स्मल कम्पनीहरुलाई छुट्याउने बताएको छ। भविष्यमा एसएमई इन्डेक्स सञ्चालन गर्न एमएसएमइजको वर्गीकरणले मद्दत गर्ने नेप्सेका अधिकारीहरु बताउँछन्।

१० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी र २५ करोड रुपैयाँभन्दा कम बजार पुँजीकरण भएका कम्पनी उल्लेखित कुनै पनि वर्गमा समावेश हुने छैनन्। तर चुक्ता पुँजी १० करोड रुपैयाँ नाघेका तर पुँजीकरण भने २५ करोडभन्दा कम भएका कम्पनीलाई भने स्मल क्यापमा राख्ने नेप्सेको तयारी छ। यसका लागि पुँजीकरणभन्दा चुक्ता पुँजी मुख्य मापदण्ड बनाइएको हो।