अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्न कालीकोट र अछामका जनप्रतिनिधिबीच समझदारी

बिजमाण्डू
२०७९ पुष २ गते १२:०५ | Dec 17, 2022
अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्न कालीकोट र अछामका जनप्रतिनिधिबीच समझदारी

मान्म। कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्।

Tata
GBIME

अन्तर-प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मत बहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगर प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तर-प्रदेश सडक निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी भएको हो।

दुवै प्रदेशका जनप्रतिनिधिबीच सडक निर्माण गर्ने विषयमा काठमाडौंमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिए।

‘कालीकोट र अछामलाई अन्तर प्रदेश सडक निर्माणका विषयमा पहल थाल्ने आपसी समझदारी बनेको छ,’ उनले भने, ‘दुई जिल्ला जोड्ने सडक निर्माणका लागि दुवै प्रदेश तथा संघीय सरकारमा पहल थालिने भएको छ।’

अछाम पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालु सडक, पञ्चदेवल नगरकै कोसेडी, कालाभिड हुँदै कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालु जोड्ने अन्तर प्रदेश सडक निर्माणका छलफल भएको र यी दुई ठाउँबाट सडक निर्माणका लागि पहल थालिने अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताइन।

‘अन्तर प्रदेश सडक मात्र नभएर यी दुई जिल्ला आवातजावत गर्न सहज बनाउन सडक निर्माण आवश्यक रहेको छ,’ उनले भनिन्, ‘अहिले सडक सञ्जाल नहुँदा आवतजावतदेखि व्यापारिक हिसाबले समस्या हुने गरेको छ।’

कालीकोट र अछाम अन्तर प्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्प शर्माले बताए। अन्तर प्रदेश सडक निर्माणका लागि दुवै प्रदेशका जनप्रनिधि एक ठाउँमा भएको र सडक निर्माणका लागि दुवै प्रदेशका संघ, प्रदेश र स्थानीय सरकारले पहल थाल्ने सहमति भएको कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए। रासस