विराटनगरको परिचय झल्काउने प्रतीक भएको संरचना निर्माण गर्न राष्ट्रपतिको सुझाव



२०७९ मंसिर २९ गते १८:०५
विराटनगरको परिचय झल्काउने प्रतीक भएको संरचना निर्माण गर्न राष्ट्रपतिको सुझाव


विराटनगर। राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको परिचय झल्काउने प्रतीक भएको संरचनाको निर्माण गर्न आफूले भूमिका खेल्ने बताएकी छन्।

Tata
GBIME

उद्योग संगठन मोरङका आयोजनमा बिहीबारदेखि सुरु भएको विराट एक्स्पो २०७९ को उदघाटन समारोहमा राष्ट्रपति भण्डारीले विराटनगरको परिचयसहितको संरचनाको निर्माण गर्न आवश्यक भएको बताएकी हुन्। भण्डारीले औद्योगिक समस्याको पहिचान गरेर समाधान गर्न आफूले सरकारको ध्यानाकर्षण गर्ने आश्वासन दिइन्।

‘प्रदेशको राजधानी रहेको विराटनगरले आर्थिक र औद्योगिक विकासमा ठुलो सम्भावना बोकेको छ’, उनले भनिन्, ‘किसान र उद्यमीका बिच सहकार्य आवश्यक भएको हामीले अनुभव गरेका छौँ। यसका लागि ठोस सरकारी नीतिको खाँचो छ।’ स्नातकोत्तर क्याम्पस विराटनगरको प्रांगणमा आयोजना गरिएको एक्स्पोमा ३६१ स्टल छन्।

उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले मुलुकलाई तात्कालिक रूपमा निर्यातवृद्धि गर्ने र आयातको प्रतिस्थापन गर्ने प्रकारका उद्योग चाहिएको धारणा प्रकट गरे। प्याकुरेलका अनुसार पूर्वाधार अभावले उत्पादन–लागत महँगो हुँदा प्रतिस्पर्धी हुन सकिएको छैन। उनले ऐनले द्विपक्षीय सम्झौताअनुसार भारत सरकारले बथनाहादेखि विराटनगरको आइसिपीसम्म रेलमार्गको निर्माण गरिसकेको ६ महिना नाघिसकेको जानकारी दिए।

अध्यक्ष प्याकुरेलले नेपालमा औद्योगिक विकासको मुख्य वाधकका रूपमा रहँदै आएको अर्को मुख्य विषय अनुमानयोग्य वित्तीय नीति पनि हो भन्ने तर्क गरे।