उम्मेदवारी निश्चित भएपछि विश्व पौडेलले २० गते नै दिएका थिए राजीनामा, स्वर्णिम पछि परे

बिजमाण्डू
२०७९ असोज २३ गते ११:४० | Oct 9, 2022
उम्मेदवारी निश्चित भएपछि विश्व पौडेलले २० गते नै दिएका थिए राजीनामा, स्वर्णिम पछि परे

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसले उम्मेदवार बनाउने पक्कापक्की भएपछि डा. विश्व पौडेलले राष्ट्रिय योजना आयोग छाडेका छन्। आयोग उपाध्यक्षबाट पौडेलले असोज २० गते नै राजीनामा दिएका थिए। 

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको कार्यकालसँगै आयोग उपध्यक्षको पदावधि सकिने भए पनि पौडेलले अगाडि नै राजीनामा दिएका हुन्। 

टिकटको दौडमा अर्का अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि थिए। तर कांग्रेसका पार्टी सभापति देउवा नजिक रहेका पौडेलले टिकट हात पारेका हुन्। पौडलले अब मंसिर ४ गते हुने निर्वाचनमा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन्। 

पौडेल र वाग्ले पुराना साथी हुन्। तर पछिल्लो डेढ बर्षदेखि उनीहरुक सम्बन्ध सुमधुर छैन। वाग्ले योजना आयोगमा हुँदा पौडेलले बाहिर बसेर उनलाई सहयोग गरेको जानकारहरु बताउँछन्। सुरुमा वाग्ले कांग्रेस सभापति शेरबहादुर देउवाको प्यानलमा थिए। देउवाले नै महासमिति सदस्यमा वाग्लेलाई मनोनयन गरेका थिए।

महाधिवेशनभन्दा केहीअघि वाग्ले देउवा समूह छाडेर डा. शेखर कोइराला र गगन थापा समूहमा सरेका थिए। त्यहीबीचमा पौडेल प्रधानमन्त्री पत्नि आरजु राणाको माध्यमबाट देउवा समूहमा पुगेका थिए। यता: स्वर्णिमले भने कतैबाट पनि टिकट पाएनन्।

प्रधानमन्त्रीमा देउवा आएपछि पौडेलले आयोगको उपाध्यक्ष भूमिका पाएका थिए। योजना आयोगका उपाध्यक्षको हैसियताम पौडेलल करिब १४ महिना कार्यरत रहे। उनी उपाध्यक्ष बन्दादेखि नै राजनीतिक वातावरण बनाउन कस्सिएर लागि परेका थिए। उनी सुदूरपश्चिमको भ्रमणमा पनि गएका थिए।

उनले आयोग उपाध्यक्ष बनेपछि मन्त्री या सांसदकै शैलीमा आफ्नो राजनीतिक माहोल बनाएका थिए। चालु वर्षको बजेटका लागि उनले जुन जुन योजनामा जोड दिएका थिए, ती सबै चुनावी तयारी थियो/थिएन भन्नेमा अहिले विश्लेषण भइरहेको छ। उनले चालु वर्षको बजेटमा चितवनलाई काठमाडौंसँग १ घण्टा र पोखरासँग काठमाडौंलाई २ घण्टामै जोड्ने योजना अघि सारेका थिए।

आफूले आयोग उपाध्यक्षको पद सम्हालेपछि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको उनले बताउने गरेका छन्।

‘म उपाध्यक्ष भएपछि विशेषगरी सडक पूर्वाधार र ग्रामीण विद्युतीकरणमा जोड दिएँ,' पौडेलले बिजमाण्डूसँग भने, 'चितवनको विकास गर्न फास्ट ट्रयाक र सुरुङमार्ग निर्माणका लागि बजेटमा समावेश गर्न मन्त्रीहरुलाई समेत कन्भिन्स गरेँ।’

पौडेलले बजेटमा सुरुङमार्ग राख्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई कुरिनटारमा बैठक राखी आफ्ना दृष्टिकोण राखेका थिए। आफू १४ महिना उपाध्यक्ष हुँदा खानेपानी सडक पूर्वाधार, ग्रामीण विद्युतीकरण महिला सशक्तिकरणको विषयलाई समेटेको उनले बताए।

‘महिलासँगको राज्य भन्ने कार्यक्रम सुरु गरियो। काठमाडौं-तराई द्रुतमार्गले ५० अर्ब माग गरेको थियो। ५० अर्ब नै त दिन सकिएन। तर ३० अर्ब  दिलाउन पनि मेरो मुख्य भूमिका थियो,' उनले भने। 

यो आयोजनालाई तीन वर्षभित्रै पुरा गर्न आफूले जोड दिएको उनले बताए।

सुरुङमार्ग, नारायणी र त्रिशूलीको वैकल्पिक सडक निर्माण गर्नका लागि पौडेलेले मन्त्रीसहित टोलीको कुरिनटारमा बैंठक राखेका थिए। काठमाडौं-पोखरा सडक विस्तारका लागि जोड दिएको उनले बताउने गरेका छन्। 

'भारतलाई विद्युत बिक्री गर्नका लागि मैले महत्त्वपूर्ण भूमिका खेलेको छु। यो एउटा महत्त्वपूर्ण उपलब्धि हो,' उनले भने, 'योजना आयोगको पद लाभको पद हो किन होइन भन्ने विषयमा क्लियर छैन।' प्रधानमन्त्रीसँगै आउने र जाने भए पनि उनले राजीनामा बुझाएका हुन्। 

पौडेल यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थामा काम गरेको अनुभव छ। पौडेलले राजीनामा दिएसँगै आयोग उपाध्यक्षको जिम्मेवारी आयोग सदस्य डा. दिलबहादुर गुरुङले पाउने भएका छन्। सिनियर सदस्य र कार्यानुभवको आधारमा गुरुङले जिम्मेवारी पाउने भएका हुन्।   

पौडेल सन् २०२० नोभेम्बरदेखि जुलाई २०२१ सम्म इन्नोभेटिभ इन्भेष्टमेन्ट कन्सल्टिङ ग्रुपको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। काठमाडौं युनिभर्सीटीमा भिजिटिङ प्रोफेसरको रुपमा साढे ३ वर्ष र ५ वर्ष ५ महिना असिस्ट्यान्ट प्रोफेसरका रुपमा काम गरेका छन्। यस्तै सन् २०१८ देखि २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठनमा इकोनोमी एडभाइजरका रूपमा काम गरेका छन् । यसैगरी सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताको काम पनि गरेका छन्।