ट्राफिक जाम हटाउने त्यो आइडिया, जसले अर्थतन्त्रमै पार्छ सकारात्मक असर




काठमाडौं। सडकमा ट्राफिक जामले कसलाई के हुन्छ? जाम भएन र हिडेकाहरु सबै सधैं सजिलै गन्तव्यमा पुग्ने अवस्था भए के होला? यो हटाउन सकिन्छ? जाम भइरहे वा यसको समाधान खोजेर काम गरे मुलुकको अर्थतन्त्रमा असर गर्छ? 



अमेरिकामा ५ वर्ष बिताएका २४ वर्षीय कपिल अधिकारीले नेपाल फर्किसकेपछि काठमाडौंको जाममा धेरै नै समय खेर गएको महसुस गरे। समयको महत्त्व बुझेका उनलाई यसको असर के कस्तो होला भन्ने लाग्यो। उत्तर खोज्दै जाँदा उनले शेरजंगबहादुर चन्दको अध्ययन फेला पारे। 

अर्थशास्त्री चन्दले  २०७७ चैतमा गरेको अध्ययनले काठमाडौं उपत्यकाभित्रको सवारी जामले मात्र वार्षिक १ खर्ब १६ अर्ब ४० करोडको घाटा हुने देखाएको थियो। जसको आर्थिक भार भने ३३ अर्ब १८ करोड थियो।

ट्राफिक जाममा सामान्य भन्दा कार्बन उत्सर्जन २८ प्रतिशतले बढी रहेको पनि उल्लेख थियो। उक्त शोधपत्रमा जाममा पर्ने मानिसहरूले सो समयमा गर्न सक्ने आर्थिक भारको गणना गरिएको थियो। यसपछि कपिलले खोजे यस्तो उपाय, जो स्टार्टअपको नयाँ आइडियाका रुपमा पुरस्कृत भएको छ। 

करिब तीन महिनाको अध्ययनबाट उनले ट्राफिक ट्रयाकिङको अवधारणा ल्याए। यो आइडियाले भएको बढी सवारी चाप हुने सडकको अवस्थाअनुसार निकास उपलब्ध गराउने काम गर्छ। कुन सडकमा कुन रुट कति समय खुला र बन्द गर्दा सवारीले धेरैबेर रोकिनुपर्दैन भन्ने आइडिया उनको ट्रयाकिङ टेक्निकले दिन्छ। 

‘हामीले ट्राफिक जामको ठूलो मूल्य तिरिरहेका छौं। त्यसमा पनि आफ्नो साथीभाईहरू मुखबाट दिनकै जसो सडक दुर्घटनाको समाचारहरू सुनिरहँदा यो समस्याको हल के हुन सक्छ भनेर अध्ययनतिर लागेँ,’ उनले भने। 

यद्यपि उनको यो आइडियामा काम भने सुरु भइसकेको छैन। डिजाइन तयार छ, अब काम गर्न चाहेमा गर्न सकिने उनले बताए। 

ट्राफिक व्यवस्थापनमा 'मेसिन जजमेन्ट' 

कपिल बुझाउँछन्, ‘यो आइडिया कार्यन्वयनमा भने गइसकेको छैन। हामी अझै यसको विकासमा नै जुटिरहेको छौं। अहिलेका लागि हामीले सोचेको काठमाडौंको ट्राफिकलाई ट्रयाक गर्ने सबैभन्दा सजिलो र सस्तो उपाय भनेको सीसीटीभी क्यामराको प्रयोगबाट नै हो।’ 

हाल ट्राफिकलाई व्यवस्थित गर्न ह्युमन जजमेन्ट (मनिसकै निर्णय) प्रयोग हुन्छ। अहिले पनि ट्राफिक त ट्रयाक भइरहेको नै हुन्छ। तर यो काम मानव संसाधनले गरिरहेका कपिल बताउँछन्।

कुनै ठाउँहरूमा क्यामराले अथवा कुनै उपकरण ले सवारीसाधन कति छन् भनेर गणना गर्न उपकरण प्रयोग भए पनि ट्राफिक व्यवस्थापन गर्नको लागि हाल मानिसकै जजमेन्ट प्रयोग भइरहेको छ। जसका लागि मनिस नै विश्लेषक भएर धेरै ठाउँको ट्राफिकको विश्लेषण गर्नुपर्ने हुन्छ। 

उनी बुझाउँछन्, ‘मानिसको जजमेन्ट कस्तो हुन्छ भन्दा कहाँ-कहाँ जाम छ भन्ने हेर्छन् र यहाँ धेरै छ खुलाइदिनुस् भनेर मानिसको कमाण्ड पछि खुल्छ। तर एकै पटक ७०-८० वटा चोक ट्रयाक गर्न पर्दा कति जना मान्छेको आवश्यक पर्ला त ? त्यति जनशक्ति हुनु हुन्छ त हाम्रो ट्राफिकमा सबै तिरको ट्राफिकको जजमेन्ट गर्न सक्ने ?’

अहिलेको अवस्थामा धेरै ट्राफिक चाप भएको ठाउँमा बढी र कम चाप भएको ठाउँमा कम ध्यान केन्द्रित गर्ने प्रवृत्ति छ। कपिल थप्छन्, ‘त्यसैले ठूलो स्केलमा ट्राफिक व्यवस्थापनको निर्णय कसरी गर्न  सकिन्छ भनेर सोच्दा मनिसको निर्णयभन्दा मेसिनलाई निर्णय गर्न सिकाउने कि भन्ने नै हाम्रो मुख्य अवधारणा हो।’

विकसित मुलुकहरूमा हेर्ने हो भने जताततै ह्युमन जजमेन्टलाई मेसिनले प्रतिस्थापन गर्दै छ। किनभने मान्छेले कुनै विश्लेषण गरेर निर्णय लिनलाई धेरै समय खर्चेर सीमित कुरामा मात्र काम गर्न सक्छ।

ट्राफिक दिनानुदिन बढ्दै छ। सवारीसाधनको चाप र मान्छेहरूको भीड, बढ्दो ट्राफिक अनुसार सडक विस्तार गर्नु कुनै दीर्घकालिक समाधान होइन। यो समस्या समाधान गर्नलाई कहाँ-कहाँ कस्तो किसिमको ट्राफिक कसरी चलिरहेको छ, ट्रयाक गरेर स्थापित पूर्वाधारलाई पूर्ण क्षमतामा प्रयोग गर्नुको विकल्प नभएको कपिलको बुझाइ छ। 

'तर यहाँ पैसाको कमिले होस् या प्राथमिकतामा नपरेर होस् त्यस्तो संरचना विकास गर्न पछाडि परिरहेका छौं। जसले गर्दा उक्त सिस्टम बाहिरबाट किनेर ल्याउनैपर्ने हुन्छ जुन निकै महँगो हुन्छ,' उनी भन्छन्। 

कपिलका अनुसार कम लगानीमा नै यसको समाधान भनेको सफ्टवेयर हो। उनी बुझाउँछन्, ‘सफ्टवेयरमा सानोबाट सुरु गरेर जति लगानी चाहिन्छ आउँदै गयो त्यही अनुसार नै क्षमता बढाउन मिल्छ। सफ्टवेयरको यो विशेषता प्रयोग गरेर ट्राफिक व्यवस्थापनमा भइरहेको समस्यालाई एड्रेस गर्ने नै हाम्रो आइडिया हो।’

यो अवधारणामा डेटा साइन्स अध्ययनरत कपिल लगायत तीनजना परामर्शदाता आबद्ध छन्। जसमध्ये एकजना गणितमा स्नातकोत्तर गर्दै छन्, एक जना कम्प्युटर इन्जिनियरिङमा पीएचडी गर्दै छन् र अर्का एक मेसिन लर्निङ पढ्दै छन्।

 ट्राफिक ट्रयाक गर्न छैन पर्याप्त डिजिटल पूर्वाधार

अमेरिकाको बसाईमा कपिलले त्यहाँको ट्राफिक व्यवस्थापनको राम्ररी अध्ययन गर्न पाए। उनी सुनाउँछन्, ‘हाम्रोमा नभएको ट्राफिक ट्रयाक गर्ने पूर्वाधारहरू त्यहाँ धेरै नै विकास भइसकेको छ। जस्तै चोकहरू आउनुभन्दा अगाडि नै क्यामराले ट्रयाक गर्ने, कहाँ सडक दुर्घटना भएको छ भन्ने कुरा गुगल म्यापमा नै देखाउँछ, कुन सडकमा कति मिनेट ढिलो हुन्छ भनेर सबै देखाउँछ।’

कपिल अहिले ट्राफिक पुलिसहरूसँग समन्वय गरेर कुनै दुईवटा सिग्नलको डेटा संकलन गरेर डेटामा काम अघि बढाउने सोचमा छन्। कम खर्चमा सिस्टम बनाएर दुईवटा सिग्नलमा टेस्ट गर्ने उनले लक्ष्य लिएका छन्।

यसको लागि मुख्यत: समयको लगानी लाग्ने र यसलाई ठूलो स्केलमा लाग्नको लागि पब्लिक फण्डिङ नै चाहिने कपिल बताउँछन्।

उनको अनुसार यदि यो अवधारण कार्यन्वयन भयो भने कुनै पनि चोकमा अटोमेटिकली कता पट्टिको ट्राफिक धेरै छ भन्ने निर्णय भएर त्यता पट्टिको सिग्नललाई धेरै समय दिइन्छ। 

जस्तै तपाई बानेश्वरबाट माइतीघर हुँदै कुपन्डोल जाँदै हुनु हुन्छ भने ठ्याक्कै माइतीघरमा अड्किन पर्‍यो। सिंहदरबारबाट आउने ट्राफिकभन्दा बानेश्वरबाट आउने ट्राफिक निकै धेरै छ, बानेश्वोरबाट आउने ट्राफिकले अटोमेटिकली धेरै हरियो सिग्नल पाउने भयो। 

उनी बुझाउँछन्, ‘उदाहरणका लागि बानेश्वरबाट आउने सवारीसाधनहरू ५० वटा छन् र सिंहदरबारबाट आउने सवारीसाधन ३० वटा छन् भने बानेश्वरले एक मिनेट पाउने भयो र सिंहदरबारबाट आउनेले ३० सेकेण्ड। यो निर्णय मानिसले गरिराख्नु परेन, मेसिनले आफैं हुने भयो। अहिले चाहिं ३० वटा सवारीसाधनहरू आइरहेकाले पनि १ मिनेट पाइरहेको छ र १०० ओटाले पनि त्यति नै समय पाइरहेको छ।’

यो प्रोडक्ट बन्न केही समय लाग्ने उनि बताउँछन्। यसको लागि आवश्यक पर्ने डेटाको मुख्य स्रोत भनेको सीसीटीभी क्यामरा हो। ती क्यामराहरूको स्थिति कस्तो छ, ट्राफिक निकायसँगको समन्वय जस्ता कुरामा भर पर्ने उनी बताउँछन्।

कपिल बुझाउँछन्, ‘हामीले डेटा प्रयोग गर्ने अनुमति पायौं भने बग्गीखानामा जाने सीसीटीभी क्यामराको सिग्नलबाट पाएको फीडलाई हाम्रो अल्गोरिथ्ममा राखेर त्यो फिडबाट मोटरसाइकल, गाडी, ट्रक  यति वटा जाँदैछन् भनेर ट्रयाक हुन्छ।’

ट्राफिक व्यवस्थापनमा काम गर्न यो बाहेक म्याग्नेटिक लुप, तथा सवारीसाधनमा जीपीएस सिस्टम जडान गर्ने अवधारणाहरूमा पनि विभिन्न क्षेत्रबाट काम भइरहेको छ। 

म्याग्नेटिक लुपले लुपबाट जति सवारीसाधन पास हुने जति गणना गर्छ। अर्को बसहरूमा जीपीएस सिस्टम जडान गरेर रियल टाइम लोकेसन ट्रयाक गर्छ।

सरकारको डेटा नदिने मोडालिटीले समस्या

यो सबै विभिन्न डेटाको स्रोतलाई एक ठाउँमा एकत्रित गर्दा ट्राफिक व्यवस्थापन सहज हुने कपिल बताउँछन्। सरकारको डेटा शेयर नगर्ने मोडालिटी नहुँदा अहिलेसम्म काम हुन नपाएको उनको बुझाइ छ।

उनी भन्छन् ‘सरकारले डिजिटल पूर्वाधारमा काम गरेर राष्ट्रिय डेटा संकलन र शेयर गरेर लाइसेन्स गर्ने पोलिसी बनायो भने हाम्रो काम सजिलो हुन्छ। यसको बारेमा आवाज उठाउने जिम्मेवारी पनि हामीले लिएका छौं।’

केही हप्ता अगाडि मात्र सम्पन्न भएको  नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ चौथो संस्करण अन्तर्गतको मार्केटप्लेसमा आएका ४९ आइडियाहरूबाट कपिलको यो 'ट्राफिक ट्रयाकिङ आइडिया' प्रथम भएर नगद १ लाख ५० हजार पुरस्कार पाएका थिए।

कपिलले उक्त रकम कम्प्युटरको प्रोसेसिङ लागत, डेटा संकलनमा, सर्भरमा राख्न पर्ने लागतमा खर्च गर्ने बताए। यसका लागि १२-१३ महिना अझै समय लाग्ने छ। यो सिस्टम बनाएपछि चाहिँ यसलाई मोनिटर र मेन्टेन पनि गर्नुपर्छ। त्यो नै आम्दानीको मुख्य स्रोत हुने उनी सुनाउँछन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell