राजस्व सचिव दंगालको चेतावनी, ‘भन्सारका कर्मचारीलाई चुनावपछि जागिर खान पनि कठिन हुन्छ’

बिजमाण्डू
२०७९ असोज १४ गते १७:४५ | Sep 30, 2022

काठमाडौं। राजस्व सचिव रामेश्वर दंगालले राजस्वमा गम्भीर समस्या देखिन थालेको बताएका छन्। भन्सार गोष्ठीमा बोल्दै सचिव दंगालले भन्सारका हाकिम संवेदनशील नभए समस्या अझै बढेर जाने बताएका हुन्।

Tata
GBIME
Nepal Life

चालु वर्षको दुई महिना सकिँदा भन्सार महसुल संकलन गत वर्ष भन्दा १६ अर्बले कम असुली भएको छ। आन्तरिक राजस्व र भन्सार राजस्व संकलन दुबैमा गिरावट देखिन थालेपछि सचिव दंगालले गम्भीर बन्न आग्रह गरेका हुन्।

अर्थसचिव कृष्णहरि पुष्कर विदेश भ्रमणमा निस्केपछि असोज ११ र १२ गते भएको भन्सार गोष्ठीमा सचिव दंगाल पुगेका थिए। दंगालले भन्सार कर्मचारीहरुलाई आन्तरिक नैतिकता र सदाचारिता देखाउन आग्रह गरे।

उनले भने ‘अहिलेको राजस्व संकलन सन्तोषजनक छैन। यसमा सबै प्रमुखहरु सिरियस बन्नुहोला, अहिलेकै अवस्था रहने हो भने भन्सारका कर्मचारीलाई चुनावपछि जागिर खान पनि कठिन हुन सक्छ।’

यहि गतिमा राजस्व संकलनको रफ्तार घटे राज्यलाई आन्तरिक खर्च धान्न मुस्किल हुने देखिएको उनले बताए। सचिव दंगालले भन्सारमा कार्यरत कर्मचारीलाई दैनिक मूल्यांकन गर्ने गरी कार्य सम्पादन गर्न भनेका छैन। यस्तै भन्सार सम्बन्धि गस्तिलाई तीब्रता दिन समेत निर्देशन दिएका छन्।

सरुवामा उपसचिव आमने-सामने

भन्सार कार्यालय प्रमुख बन्न कर्मचारीहरुबीच चर्को प्रतिस्पर्धा (पावर एक्सरसाइज) देखिन थालेको छ। भन्सार विभागका उपसचिवद्वय मणिराम पौडेल र ज्ञानेन्द्र ढकालबीच चर्को प्रतिस्पर्धा देखिएको हो।

एक वर्षअघि मणिरामलाई सरुवा गर्दै ज्ञानेन्द्र ढकाल भैरहवा भन्सार कार्यालय बन्न पुगेका थिए। ढकालको एक वर्ष नपुग्दै मणिरामले पावर एक्सरसाइज गरेपछि पुन: ढकालको सरुवा भएको हो। सरुवापछि उनी भन्सार महानिर्देशक कमल प्रसाद भट्टराईसँग रिसाएका छन्।

उपसचिवको सरुवा मन्त्रालयले सरुवा गर्ने गर्छ। महानिर्देशक भट्टराई आफ्नै जागिर धरापमा पर्न सक्ने भन्दै कार्यालय प्रमुखहरुको डिफेन्स गर्न सकेका छैनन। ढकाल २० वर्षभन्दा बढी भन्सार प्रशासनमा काम गरिसकेका छन्। 

यसैगरी भन्सार तातोपानी भन्सार कार्यालयमा अर्थ सचिवको पावर लगाउँदै दयानन्द केसी कार्यालय प्रमुख बनेका छन्। रसुवागढी भन्सार प्रमुखमा रामप्रसाद मैनालीको सरुवा नारायण भण्डारी गएका छन्।

तातोपानी कार्यालयका नारद गौतम र रसुवा कार्यालयका मैनालीको पनि समय नपुगी सरुवा भएका हुन्। मेची भन्सार कार्यालयमा केशव ओलीको स्थानमा रामप्रसाद पाठक गएका छन्। सरुवाका विषयमा ओली पनि रुष्ट बनेका छन्।

विराटनगर कर कार्यालयमा अर्थमन्त्रालयका डीबी क्षेत्री गएका छन्। सो कार्यालयमा २ वर्ष कार्यकाल पुर्‍याएर सुर्य पोखरेल सरुवा भएका छन्। 

सरुवामा असन्तुष्टी जनाउँदै गोष्ठी नै बहिस्कार

सरुवामा मनपरी गरेको भन्दै भैरहवा भन्सार प्रमुख रहेका ज्ञानेन्द्र ढकालले गोष्ठी नै बहिस्कार गरेका छन्। उपसचिव ढकाल भन्सार गोष्ठीका लागि काठमाडौं आएका थिए।

गोष्ठी चल्दाचल्दै सरुवा भएको सुइको पाएपछी ढकालले रमाना लिएर सिधैं घर गएका छन्। उनी रमाना लिएर गोष्ठी नै छाडेर दसैं मनाउन भन्दै गृह जिल्ला स्याङजा लागेका हुन्।

गोष्ठीमा सहभागी एक सदस्यका अनुसार कार्यालय प्रमुखको हैसियत नै नभएपछि गोष्ठीमा बस्नु उचित नहुने भन्दै ढकाल घर हिडेका हुन्। सरुवामा चित्त नबुझाउने ढकाल मात्रै होइनन। मेची भन्सार प्रमुख गुमाएपछि केशव ओलीले सचिव दंगालकै सामु असन्तुष्टी पोखेका हुन्। उनले फोरमा नै आफ्नो सरुवाको कारण देखाउन चुनौती समेत दिए। 

उपसचिव तहका कर्मचारीको प्रत्येक २/२ वर्षमा सरुवा हुने गर्छ। तर पहुँचवाला कर्मचारीले भने समय नै नपुगी जुनसुकै कर्मचारीको सरुवा गर्ने गरेका छन्। 

नयाँ सन्दर्भ सूची जारी गरियो

गोष्ठीसँगै विभागले भन्सार सन्दर्भ सुची जारी गरेको छ। यो सूचीमा कुन वस्तुलाई कति दर लगाउने भन्ने कुरा स्पष्ट गरिएको हुन्छ। यो पटक पनि केही वस्तुहरुको सन्दर्भ सूची परिवर्तन गरिएको बताइएको छ।