काठमाडौं। संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ बेवारिसे पारिएको प्रकरणले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित हुन पुगेको छ।
सत्तारुढ नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।
समितिका सभापति खतिवडाले मंगलबारका लागि तय बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुलाई बोलाएका थिए।
तर, एमाले र प्रतिपक्षी दलका सांसदहरुले समितिले सर्वसम्मतरुपमा पारित गरेको ‘कुलिङ पिरियड’ गायब प्रकरणमा छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै छानबिन नसकिएसम्म समितिको बैठक राख्नुको औचित्य नभएपछि सभापति खतिवडा बैठक स्थगित गर्न बाध्य भएका हुन्।
एमाले र माओवादी केन्द्रका सांसदहरुले आफ्नो राजीनामा मागेपछि खतिवडा अप्ठेरोमा परेका छन्।