काठमाडौं। चरम तरलता संकट भएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ दिन्छु भन्दा ४६ अर्ब ९९ करोड ५० लाख रुपैयाँ माग भएको छ।
तर बैंकहरुले राष्ट्र बैंकले दिन्छु भने बराबरको पैसा पनि पाएनन्। उनीहरुले जम्मा २८ अर्ब ८५ करोड रुपैयाँ मात्र पाएका छन्।
राष्ट्र बैंकलाई आफूसँग भएको ट्रेजरी बिल बुझाएर बैंकहरुले पैसा माग गरेका थिए। बैंकहरुले बढी ब्याज मागेपछि सबै पैसा उपलब्ध नगराएको हो।
राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत बजारलाई दिन्छु भनेको पैसाका लागि १७ वटा संस्थाले आवेदन दिएका थिए।
यसको औसत ब्याज दर ८.४७ प्रतिशत कायम भएको छ। अधिकतम ब्याज दर १०.७४ कायम भएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरिद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक वित्तीय संस्थाले २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल खरिद गर्ने जनाएको थियो।
केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा थप पैसा पठाउन खोजेको थियो। चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गरेको हो। यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो।