सुनको माग एकाएक बढ्यो, बैंकले ल्याएको सुन आयात गर्ने वित्तिकै बिक्री हुन्छ

सरला सुवेदी
२०७९ असोज २ गते १६:५४ | Sep 18, 2022
सुनको माग एकाएक बढ्यो, बैंकले ल्याएको सुन आयात गर्ने वित्तिकै बिक्री हुन्छ

काठमाडौं। दसैं नजिकिएसँगै सुनको माग एकाएक बढेको छ। नेपाल बैंकर्स संघका अनुसार केही दिनदेखि सुन स्टकमा छैन। साउन र भदौंमा सुन स्टकमा रहने गर्थ्यो।

Tata
GBIME
Nepal Life

'गत महिनासम्म सुन स्टकमा रहने गर्थ्यो। तर अहिले आयात गर्ने वित्तिकै व्यवसायीले उठाउने गरेका छन्,' संघका एक कर्मचारीले भने, 'बजारमा सुनको माग एकाएक बढेको देखिन्छ।'

विभिन्न वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न पाउनेछन्। आयात भएको सुनमध्ये पाँच किलो उपत्यकामा र ५ किलो उपत्यका वाहिर बिक्री गरिन्छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत महिना सामान्य रहेको सुनको माग फेरि बढ्न थालेको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यले चाडपर्वले केही दिनदेखि देशभरनै सुनको माग अत्यधिक बढेको बताए।

'अहिले उपत्यकाभित्र र वाहिर दुबै ठाउँबाट सुनको माग धेरै आएको छ। दैनिक १० किलोले नभ्याउने अवस्था सिर्जना भएको छ,' उनले बिजमाण्डूसँग भने।

बज्राचार्यका अनुसार मूल्य घटेकाले समेत सुनको माग बढेको हो। सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। सुनको भाउ जेठमा सुनको भाउ तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।

पछिल्लो समयमा सुनको भाउ लगातार घटिरहेको छ। व्यवसायीका अनुसार विवाहका लागि समेत भाउ सस्तिएको भन्दै किन्न आउने बढेका छन्।

'अहिले मूल्य घटेकै कारण व्यवसायीले पनि सुन किनेर स्टक गरिरहेका छन्। विवाहका लागि पनि अहिलेनै किनेर राख्ने गरेका छन्। त्यसैले पनि माग अत्यधिक भएको हो,' ती व्यवसायीले भने, 'पैसा भएकाले चाडपर्वका लागि नयाँ डिजाइनका गरगहना पनि अर्डर गरेका छन्।'

बज्राचार्यले अहिलेको माग हेर्दा दैनिक ४० किलोले पनि नधान्ने अवस्था छ।  'अहिलेको माग हेर्दा ४० किलोले पनि धान्दैन। तर हामीले दैनिक १० किलोले चलाउँदै आएका छौं,' उनले भने।

उनका अनुसार अहिलेको माग हेर्दा तिहारमा धेरै सुन चाहिने देखिन्छ। 'दसैं त जसोतसो चलाउला। तर तिहारमा यो कोटाले धान्दैन। तिहारमा कम्तीमा पनि दैनिक ३५ किलो सुन चाहिन्छ,' बज्राचार्यले भने, 'कोटा नबढाए तिहारमा सुन अभाव हुने निश्चित छ।'

कोभिड र तरलता अभावले सुनको कारोबारमा मन्दी छाएको थियो। सेयर र घरजग्गा कारोबारमा आएको मन्दीले सुनको कारोबार प्रभावित भएको थियो। यो वर्षको तीजमा सुनको कारोबार दैनिक २० किलो मात्रै भएको थियो।

कोभिड अघिको तीजमा सुनको कारोबार दैनिक ४० किलो भन्दा बढी हुन्थ्यो। तीजका लागि ग्राहकले फिर्ता आएको र रेडिमेड सुन बिक्री बढी भएको थियो। कच्चा सुन नपाएपछि धेरै ग्राहकले पुरानो एक्सचेन्ज गरेर गहना बनाएर राखेको सुन लगेका थिए।