
काठमाडौं। सरकारले बजेटबाट कर बढाएका वस्तुहरुको कर घटाएको छ।
बिहीबार राजपत्रमा सूचना जारी गर्दै अर्थमन्त्रालयले पाँच वस्तुको करको दर संशोधन गरेका छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले करको दर संशोधन गरेको थियो।
बार, रड, हट रोल्ड सर्कुलर क्रस सेक्सन (भन्सार उपशीर्षक ७२१३.९१.१०) को भन्सार महशुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ।
अन्तशुल्क दरबन्दीअन्तर्गत शीर्षक ७२.०७ को मालवस्तु पैठारी गर्दा लाग्ने अन्त:शुल्क ३५ सय रुपेयाँलाई घटाएर २५ सय रुपैयाँ कायम गरिएको छ। यो शीर्षकमा फलाम वा ब्लेड पर्छ। यही वस्तुमा व्यवसायीहरुको गम्भीर विरोध थियो।
अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटपछि करको दर बढाइएको भन्दै जीआइ वायर र स्यानेटरी प्याड उत्पादक आन्दोलित भएका थिए। विराटनगरका उद्योगीहरुले श्रमिकलाई उतारेर अर्थमन्त्री शर्माको राजीनामा माग गरेका थिए। त्यसपछि अर्थमन्त्री शर्माले उद्योगीलाई बोलाएर करको दर संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए।
सरकारले एमएस वायरमा भन्सार र अन्त:शुल्क दुवै बढाइएको थियो भने स्यानेटरी प्याड आयातमा भन्सार ९० प्रतिशतसम्म घटाएको थियो। चालु आर्थिक वर्षको बजेटमार्फत एमएस वायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महशुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रति टनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पुर्याइएको थियो।
अर्थमन्त्री शर्माले एक महिना अघि राजस्व सचिव रामेश्वर दंगालको संयोजकत्वमा कर प्रशासनको विवादका लागि अध्ययन समिति गठन गरेका थिए। समितिमा राजस्व महाशाखा प्रमुख भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभागका महानिर्देशक कमल भट्टराई सदस्य रहेको समितिमार्फत यी वस्तुहरुको करको दर हेरफेरका लागि सुझाव दिइएको थियो। त्यही सुझावका आधारमा ती वस्तुको करको दर मन्त्रिपरिषदबाट हेरफेर भएको हो।
हेर्नुस् विस्तृतमा: